
पश्चिमी जापानको ओकायामा सहरमा आयोजित प्रसिद्ध ‘नाङ्गो उत्सव’ (नेकेड फेस्टिभल) का क्रममा तीन जना व्यक्ति बेहोस भएका छन्। स्थानीय सैदाइजी मन्दिरमा शनिबार राति आयोजना गरिएको यस वार्षिक कार्यक्रममा सहभागी अन्य तीन जनालाई पनि चोटपटक लागेका कारण उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। अस्पताल लगिएकाहरूको अवस्था खतरामुक्त रहेको बताइए पनि उनीहरू कसरी घाइते भए भन्नेबारे विस्तृत विवरण खुल्न सकेको छैन।
जापानको ‘इयो’ महोत्सवका रूपमा चिनिने यो परम्परा मुरोमाची काल (सन् १३३६–१५७३) देखि चल्दै आएको ऐतिहासिक उत्सव हो। यस अनौठो प्रतिस्पर्धामा करिब १० हजार पुरुषहरू सहभागी हुने अनुमान गरिएको छ। सहभागी पुरुषहरू परम्परागत सेतो लंगौटी (लोइनक्लोथ) लगाएर चिसो पानीले शरीर शुद्ध गरी मन्दिरको मुख्य हलमा भेला हुन्छन् र माथिबाट खसालिने पवित्र काठका टुक्राहरू (तालिस्म्यान) समात्न एक-अर्कामाथि लुछाचुडी गर्छन्।
जापान सरकारले सन् २०१६ मा यस उत्सवलाई अमूर्त सांस्कृतिक सम्पदाका रूपमा मान्यता दिएको थियो। यद्यपि, अत्यधिक भिडभाड र प्रतिस्पर्धाका कारण यस कार्यक्रममा प्रायः बर्सेनि मानिसहरू घाइते हुने गरेका छन्। यसअघि सन् २००७ मा यस्तै भिडमा च्यापिएर एक जना सहभागीको ज्यान समेत गएको थियो। मन्दिर प्रशासनका अनुसार ४ बाइ २० सेन्टिमिटरका दुईवटा पवित्र काठका टुक्रा प्राप्त गर्न हजारौँको भिडमा हुने यो प्रतिस्पर्धा जापानका तीन ठूला र अनौठा उत्सवहरूमध्ये एक मानिन्छ।



