
जापानमा क्रियाशील चारवटा संगठनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली जनताले बलिदानी पूर्ण संघर्षबाट प्राप्त गरेको गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाको निम्ति पाँच दलीय गठबन्धनका साझा उमेदवारहरूलाई निर्वाचित गराउनका लागि आह्वान गरेका छन ।
आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपाली राजनीतिक इतिहासमा बलिदानी र गौरवपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रूपमा रहेको लोकतन्त्र र गणतन्त्रको मुख्य आधारस्तम्भको रूपमा स्थापित स्थानीय तहको निर्वाचनमा लोकतन्त्र र गणतन्त्रका हिमायती दलहरूको गठबन्धन रहेको उम्मेदवारहरूलाई आफ़नो मत प्रदान गरि रूपमा प्रगतिशील र सारमा प्रतिगमनको मुख्य नाइकेका मतियारहरूलाई पराजित गराउनु पर्नेमा जोड दिएका छन ।
नेपाली जनसम्पर्क समिति जापानका सभापति रोशन केसी,नेपाली जनप्रगतीशिल मन्च जापानका अध्यक्ष भवानी पन्त, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष जापान सागर रिजाल र जापान नेपाली एकता समाज अध्यक्ष शालिकराम सापकोटाद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ- नेपाली जनताको संघर्षपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूको घाँटी निमोठ्दै देशलाई प्रतिगमनतर्फ धकेल्न र नेपालको संविधान २०७२ लाई कुल्चेर आफ़नो अभिष्ट पुरा गर्न उद्दत शक्तिलाई वैशाख ३० गते हुने स्थानीय तहको चुनावमार्फत परास्त गरि नेपाली जनताले बलिदानी पूर्ण संघर्षबाट प्राप्त गरेको गणतन्त्र र लोकतन्त्रको रक्षाको निम्ति पाँच दलीय गठबन्धनका साझा उमेदवारहरूलाई आफ़नो अमूल्य मत प्रदान गरि विजयी बनाउनका लागि न्यायप्रेमी आम नेपाली जनतासँग विशेष अपिल समेत गर्दछौ ।
जारी गरिएको विज्ञप्ति मार्फत प्रवासमा रहेका लाखौं नेपाली नागरिकहरूले प्रवासबाटै आफ्नो मताधिकार प्रयोग गरि चुन्न र चुनिन पाउने अधिकारको सुनिश्चितता लागि नेपाल सरकार सँग माग समेत गरिएको छ ।




