गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद जापानले नेपाल एअरलाइन्सले नेपाल- जापानका लागि हवाईटिकटमा चर्को मुल्य असुलेको भन्दै तत्काल साहुलियत दरको हवाईभाड़ा समायोजन गर्नका लागि पररास्ट्र मन्त्रीमार्फत ध्यानाकर्षण गराएको छ ।
जापानमा रहेका नेपाली र तिनीहरुसँग सम्बन्धित सवालको बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउनका लागि एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको नेतृत्वमा परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई विभिन्न सात बुदे जनसरोकारका सवालसँग सम्बन्धित मागलाई तत्काल कार्यान्वयनको लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाईएको हो ।
नेपाल जापानको नेपाल एअरलाइन्सको हवाई भाड़ादर चर्को भएकोले समायोजन गर्नुपर्ने, जापान आउनका लागि प्रदान गरिएको प्रवेश अनुमति प्रमाणपत्र (सिइओ) प्राप्त गरेकालाई जापान प्रवेशको लागि प्रावेशाज्ञा दिन पहल गर्न कूटनीतिक पहल गर्नुपर्ने नेपाली श्रमिकको सीप अभिवृद्धि गर्न र निवृत्तिभरणको व्यवस्थाका लागि कूटनीतिक पहल गरिनुपर्ने, जापानको आम्दानीलाई दोहोरो कर छुटको व्यवस्था गर्न सरकारी स्तरबाट आवश्यक कार्य गरिदिनु पहल गर्न आग्रहसहित परराष्ट्रमन्त्री डा खड्कालाई ज्ञापनपत्र बुझाईएको अध्यक्ष पौडेलले बताए ।
सोहि ज्ञापनपत्रमार्फत जापान सरकारले विकासोन्मुख मूलकहरुलाई प्रदान गर्ने सेवा सुविधाको अधिकतम लाभ लिने वातावरण सृजना गराउनका लागि एनआरएनए जापानसँग नेपाल सरकारले समन्वयकारीभूमिका निर्वाह गरिनुपर्ने, कुक भिषामा जापान जाने नेपालीले चर्को मुल्य तिर्नुपरेको गुनासा सुनिने गरेकोले र सम्झौता बमोजिमका सेवा सुविधा नपाई रहेकोले त्यसको समाधान गर्न श्रम मामिला हेर्ने निकायमार्फत सुलझाउनुपर्ने, माग पनि गरिएको छ ।
एसएसडब्ल्यूको समझौता कार्यान्वयनमा नेपाल सरकारले तदारूपता देखाउनुपर्ने र त्यसबाट नेपालले फाइदा लिनसक्नुपर्ने, जापानमा अन्य केही देशका विद्यार्थीले आम्दानी कर तिर्नु निपटने व्यवस्था रहेपनि नेपाली विद्यार्थी सो सेवाबाट बंचित रहेकोले उक्त सेवा प्राप्तिको लागि नेपाल सरकारले कूटनीतिक पहल गरिदिनुपर्ने र नेपालीको अविभावक राजदूतको नियुक्ति गरेर कूटनीतिक दक्षता बढाउने र दुई देशबिचको सम्बन्ध थप सुमधुर बनाउनु पर्ने लगायतका माग प्रत्यक्ष परराष्ट्रमन्त्रीलाई भेटेर लिखित रूपमै बुझाईएको अध्यक्ष पौडेलले बताए ।
एनआरएनए जापानले राखेका जनसरोकारका र प्रत्यक्ष नेपाली र नेपाल राष्ट्रलाई समेत फाइदा र योगदान दिने माग रहेकोले सम्भव रहने र गर्न सकिने मागलाई योजनाबद्द रूपमा कार्यान्वयन गर्दै जाने विश्वास मन्त्री डा खड़काले बताएको पनि पौडेलले जानकारी दिए ।