बाढीपीडित सहयोगार्थ ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ २०२६’ टोकियो र ओसाकामा हुँदै

- रेखा जोशी र चक्र बमसहित कलाकारहरूको प्रस्तुति, मौलिक संस्कृति प्रवर्द्धनसँगै राहत अभियानलाई जोड

-


     जनहित न्युज    
     असाेज ११ गते २०८३


सुदूरपश्चिमेली नेपाली समाज जापानले बाढीपीडितहरूको सहयोगार्थ जापानका विभिन्न शहरमा ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ २०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रमअन्तर्गत टोकियो र ओसाकामा मुख्य सांस्कृतिक कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढाइएको समाजले जनाएको छ।

“हाम्रो संस्कृति, हाम्रो पहिचान — बाढीपीडितका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा सुदूरपश्चिमको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा र सांगीतिक पहिचानलाई प्रवर्द्धन गर्दै प्राकृतिक विपद्बाट प्रभावित परिवारका लागि सहयोग जुटाउने उद्देश्य राखिएको छ।

टोकियोमा कार्यक्रम अक्टोबर ११, २०२६ आइतबार साँझ ५ बजेदेखि मेगुरोस्थित Meguro Persimmon Hall मा आयोजना हुनेछ। कार्यक्रमस्थलको ठेगाना टोकियो तो, मेगुरो-कु, याकुमो १–१–१ रहेको आयोजकले जनाएको छ।

त्यसैगरी सुदूरपश्चिमेली समाज जापान कान्साईको आयोजनामा ओसाकामा अक्टोबर १२, २०२६ सोमबार साँझ ५ बजेदेखि कोकोप्लाजा यूथ सेन्टरमा कार्यक्रम आयोजना गरिनेछ।

रेखा जोशी र चक्र बमको विशेष प्रस्तुति

सांस्कृतिक साँझमा सुदूरपश्चिमका चर्चित कलाकार रेखा जोशी र चक्र बम सहित अन्य स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने समाजले जनाएको छ।

कार्यक्रमका लागि कलाकारहरूको भिसासहित आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भइसकेको सुदूरपश्चिमेली नेपाली समाज जापानका अध्यक्ष विकास रोकायाले जानकारी दिएका छन्।

रोकायाका अनुसार कार्यक्रम केवल मनोरञ्जनमा सीमित नभई सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई प्रवासमा जीवित राख्ने र विपद्पीडित परिवारको सहयोगमा समुदायलाई एकताबद्ध गर्ने साझा अभियान हो।

संस्कृति र मानवीय सेवाको संगम

समाजका महासचिव सुमित रोकायाले कार्यक्रमले सुदूरपश्चिमको मौलिक कला–संस्कृतिको जापानमा प्रचारप्रसार गर्नुका साथै जापानमा रहेका सुदूरपश्चिमेली समुदायबीचको आपसी सहयोग, भाइचारा र एकतालाई थप मजबुत बनाउने बताए।

उनका अनुसार प्रवासमा रहेका नयाँ पुस्तालाई आफ्नो भाषा, संगीत, संस्कृति र पहिचानसँग जोड्ने काम पनि यस्ता कार्यक्रमको महत्वपूर्ण उद्देश्य हो।

सुदूरपश्चिमेली नेपाली समाज जापानले आफ्नो मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वलाई जोड दिँदै यसपटकको सांस्कृतिक कार्यक्रमलाई बाढीपीडित सहयोग अभियानसँग प्रत्यक्ष रूपमा जोडेको छ।

जापानवासी नेपालीलाई सहभागिताका लागि आग्रह

आयोजकले टोकियो, ओसाका तथा जापानका अन्य क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भएर सांस्कृतिक अभियान र मानवीय सेवामा साथ दिन आग्रह गरेको छ।

समाजले विशेषगरी जापानमा रहेका सुदूरपश्चिमेली समुदायको उल्लेख्य तथा उत्साहजनक सहभागिता रहने अपेक्षा गरेको छ।

आयोजकका अनुसार ‘प्रथम सुदूरपश्चिम सांस्कृतिक साँझ २०२६’ ले मनोरञ्जन, सांस्कृतिक पहिचान र सामाजिक सेवाको त्रिवेणीका रूपमा प्रवासमा सुदूरपश्चिमको मौलिकता चिनाउने मात्र होइन, विपद्पीडित परिवारको सहयोगमा समुदायको सामूहिक जिम्मेवारीलाई समेत उजागर गर्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?