प्रधानमन्त्रीले मिचे निर्वाचन आचारसंहिता

-


     जनहित न्युज    
     जेठ ६ गते २०७८


प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेद्‌वारलाई मत मागेका छन् ।

निर्वाचन आयोगका अनुसार जेठ ६ गते बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि शुरु भएको छ । ओलीले बुधबार विज्ञप्ति निकालेर एमालेका उम्मेद्‌वार रामबहादुर थापालाई मत मागेका थिए ।

प्रधानमन्त्रीले आचारसंहिता मिचेपछि निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ।

‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचारसंहिता विपरीत व्यक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चारमाध्यमहरुले उम्मेद्‌वारको जित(हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तर्वार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकाले यसतर्फ गम्भीर रुपमा ध्यानाकर्षण भएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ।

बिहीबार हुने निर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा र स्वतन्त्र उम्मेदवार डा खिमलाल देवकोटा भिड्दै छन् । देवकोटालाई एमालेकै माधव समूह, माओवादी केन्द्र र नेपाली कांग्रेसको साथ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?