
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको ऐतिहासिक अवसर पारेर जापानको राजधानी टोकियोमा २५ जुलाई २०२६ मा सम्पन्न ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन जापान–२०२६’ ९ बुँदे ‘टोकियो घोषणा पत्र–२०२६’ जारी गर्दै सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वय तथा नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा सम्पन्न यस महाअभियानले प्रवासी नेपाली पत्रकारिताको भविष्य, व्यावसायिक सुरक्षा र संस्थागत सुदृढीकरणका लागि दूरगामी निर्णयहरू गरेको छ।
प्रवासमा नेपाली पत्रकारिताको वृहत् समीक्षा र सहभागिता
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न यस सम्मेलनमा महासंघका उपाध्यक्षहरू, पदाधिकारीहरू, केन्द्रीय कार्यसमिति सदस्यहरू, प्रदेशका अध्यक्षहरू, तीन जिल्ला शाखाका अध्यक्षहरू, विभिन्न वैदेशिक शाखाहरूका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सम्मेलनमा नेपाल पत्रकार महासंघका सबै वैदेशिक शाखाहरू (युरोप, यूके, बेल्जियम, कुवेत, कतार, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स र भारत शाखा) को सहआयोजना तथा महासंघसँग आबद्ध नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाल अष्ट्रेलिया पत्रकार संघको सहकार्य रहेको थियो। प्रवासमा रहेर पनि मातृभूमिको भाषा, संस्कृति, कला र राष्ट्रिय हितको प्रवर्द्धनमा क्रियाशील पत्रकारहरूको भूमिकालाई यस सम्मेलनले उच्च सम्मान प्रकट गरेको छ।
जारी गरिएको ९ बुँदे घोषणा पत्रले नेपालको प्रेस स्वतन्त्रतादेखि लिएर वैदेशिक शाखाहरूको संस्थागत अधिकारसम्मका विषयलाई जोडदार रूपमा उठायो:
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गम्भीरता:
संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अंकुश लगाउने गरी सरकारले गरेका वा गर्न खोजिएका गतिविधिप्रति सम्मेलनले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ। लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भ स्वतन्त्र प्रेस भएकाले नेपालको संविधान र अन्तर्राष्ट्रिय मान्यताअनुरूप प्रेसैमैत्री वातावरण बनाउन तथा कानुन निर्माण गर्दा व्यापक परामर्श गर्न सरकारसँग माग गरिएको छ।
श्रमजीवी पत्रकारको अधिकार र सुरक्षा:
श्रमजीवी पत्रकार ऐन तथा प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक, सेवा सुविधा, सामाजिक सुरक्षा, नियुक्ति पत्र र बीमाको पूर्ण कार्यान्वयन गर्न सञ्चार संस्थाको ध्यानाकर्षण गराइएको छ। सरकारलाई यसको प्रभावकारी अनुगमन तथा कार्यान्वयन सुनिश्चित गर्न जोडदार माग गरिएको छ।
आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) को व्यवस्थापन:
सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास र एआई (AI) को प्रयोगबाट उत्पन्न चुनौतीहरूको सामना गर्न आधुनिक नीति तथा नियामकीय व्यवस्था निर्माण गर्न सरकार र सञ्चार संस्थाहरूलाई आग्रह गरिएको छ।
विधान संशोधन तथा वैदेशिक शाखाको अधिकार:
प्रवासमा सक्रिय पत्रकारहरूको महासंघसँगको संस्थागत आबद्धता सुदृढ गर्न विधान संशोधन गरी वैदेशिक शाखाका सबै सदस्यलाई ‘चुन्ने र चुनिने अधिकार’ सुनिश्चित गर्न पहल गर्ने निर्णय गरिएको छ। साथै, महासंघको संगठनात्मक संरचनामा पुनर्संरचना गर्दै महादेशीय वा वैदेशिक प्रदेश संरचना निर्माण गर्न र केन्द्रीय समितिमा वैदेशिक शाखाहरूको प्रत्यक्ष प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ।
ज्ञान हस्तान्तरण र गैरआवासीय नेपाली अधिकार:
प्रवासमा आर्जित आधुनिक प्रविधि, ज्ञान, सीप र अनुसन्धान अनुभवलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्न वैदेशिक शाखाहरूलाई ‘ज्ञान हस्तान्तरण’ को माध्यम बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, गैरआवासीय नेपाली नागरिकलाई राजनीतिक अधिकार बाहेकका अन्य संवैधानिक अधिकार सहज रूपमा उपभोग गर्न पाउने वातावरण बनाउन सरकारसँग माग गरिएको छ।
डिजिटल सदस्यता र ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’:
शाखा स्थापना नभएका देशहरूमा डिजिटल माध्यमबाट सदस्यता नवीकरण र व्यवस्थापन गर्ने प्रणाली विकास गर्न माग गरिएको छ। साथै, विदेशमा कार्यरत पत्रकारहरूको योगदानको कदरस्वरूप संयुक्त प्रयासमा ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गरिएको छ।
समापन तथा धन्यवाद ज्ञापन
सम्मेलनका सचिव अर्जुन लामिछानेद्वारा जारी र अध्यक्ष रविन्द्र श्रेष्ठ (गोर्खाली) को नेतृत्वमा सम्पन्न यस ऐतिहासिक सम्मेलनले जापानस्थित नेपाली दूतावास, एनआरएनए, विभिन्न संघसंस्था, प्रायोजक तथा सम्पूर्ण सहभागी र स्वयंसेवकहरूप्रति उच्च आभार व्यक्त गरेको छ।
‘एफएनजे ग्लोबल मिडिया सम्मेलन जापान–२०२६’ ले प्रवासी नेपाली पत्रकारहरूलाई एउटै वैचारिक मञ्चमा मात्रै जोडेन, यसले नेपाल र विश्वभर छरिएका सञ्चारकर्मीहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै नेपालको पत्रकारिता जगतमा एक नयाँ इँटा थप्ने काम गरेको छ।



