सहरमा बस्ने मोह 

-


     नगेन्द्र सापकोटा    
     माघ २२ गते २०७८


राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अहिले नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । दस वर्षअघि गरिएको जनगणनामा कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । दस वर्षको अवधिमा नेपालमा २६ लाख ९७ हजार ९७६ जनसङ्ख्या बढेको छ । उक्त सङ्ख्यालाई प्रतिशतमा नाप्दा १०.१८ हुन्छ । यस अवधिमा नेपालको जनसङ्ख्याको वार्षिक वृद्धिदर ०.९३ प्रतिशत भएको छ । जुन दस वर्षअघि १.३५ प्रतिशत थियो । कुल जनसङ्ख्यामा पुरुष ४८.९६ प्रतिशत र महिला ५१.०४ प्रतिशत रहेको छ । हालको प्रारम्भिक नतिजाअनुसार लैङ्गिक अनुपात प्रति १०० महिलामा पुरुषको सङ्ख्या ९५.९१ रहेको छ जुन गत दस वर्षअघिको जनगणनामा ९४.१६ रहेको थियो ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेका जनगणना २०७८ को यो प्रारम्भिक नतिजा मात्र हो । गणकले आमनागरिक समक्ष पुगेर सोधिएको विस्तृत प्रश्नावलीको प्रशोधनपछि प्राप्त नतिजालाई अन्तिम मानिनेछ । उक्त नतिजामा हरेक व्यक्तिको व्यक्तिगत विवरण र प्रत्येक वडाको वडागत प्रोफाइल निर्माण गर्ने गरी तथ्याङ्क आउनेछ । जुन तथ्याङ्क आउन करिब एक वर्ष लाग्ने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ ।

नेपालमा घरपरिवारको सङ्ख्या 
अहिले नेपालमा बसोवास गर्ने परिवारको सङ्ख्या ६७ लाख ६१ हजार ०५९ रहेको छ र ती परिवारहरू जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसोवास गरेको जनगणनाको तथ्याङ्कले देखाएको छ । दसवटा घरमा औषत रूपमा १२ वटा परिवार बसोवास गरेको देखिन्छ । हालको परिवार सङ्ख्या दस वर्षअघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको छ । प्रति परिवार ४.३२ जना सदस्य रहेको देखिन्छ जुन २०६८ मा ४.८८ जना थियो । सहरी क्षेत्रको परिवारमा औषत ४.२५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको देखिन्छ । भौगोलिक क्षेत्रअनुसार हिमाली क्षेत्रमा ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेका छन् ।

भौगोलिक क्षेत्रगत लैङ्गिक अनुपात 
भौगोलिक क्षेत्रअनुसार कुल जनसङ्ख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । २०७८ मा ५३.६६ प्रतिशत पुगेको छ । जुन २०६८ सालको जनगणनामा तराईमा कुल जनसङ्ख्याको ५०.२७ प्रतिशत थियो । हिमाली क्षेत्रमा कुल जनसङ्ख्याको ६.७३ प्रतिशत रहेकोमा २०७८ मा केही कम भई ६.०९ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत रहेकोमा हाल ४०.२५ प्रतिशतमा झरेको विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । दस वर्षको अवधिमा लैङ्गिक अनुपात तराईमा एक प्रतिशत बिन्दुले घटेको छ भने हिमाल तथा पहाडमा क्रमशः तीन प्रतिशत र चार प्रतिशत बिन्दुले बढेको देखिन्छ । वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक (–०.०२ प्रतिशत), पहाडी क्षेत्रमा न्यून मात्रामा घनात्मक (०.२९ प्रतिशत ) र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च घनात्मक (१.५६ प्रतिशत) वृद्धि भएको देखिन्छ ।

प्रदेशअनुसारको जनसङ्ख्या
प्रदेशगत रूपमा जनसङ्ख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसङ्ख्या मधेस प्रदेशमा ६१ लाख, २६ हजार, २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेका छन् । जुन क्रमशः २०.९९ प्रतिशत र ५.८१ प्रतिशत हो । लैङ्गिक रूपले विश्लेषण गर्दा लैङ्गिक अनुपात सबैभन्दा धेरै मधेस प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा क्रमशः १०१ र ९० रहेको छ ।

प्रदेशगत रूपमा वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा सातवटा प्रदेशहरूमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसङ्ख्या वृद्धि भएको देखिन्छ । दोस्रो धेरै वार्षिक जनसङ्ख्या वृद्धिदर हुने प्रदेशमा मधेस प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ । अन्य प्रदेशको वार्षिक जनसङ्ख्या वृद्धिदर १.० प्रतिशतभन्दा कम नै रहेको देखिन्छ । २०७८ सालको कुल जनसङ्ख्यामा सहरी जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसङ्ख्या ३३.९२ प्रतिशत पुगेको छ ।

जनघनत्व 
नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग कि.मि. पुगेको छ जुन २०६८ सालमा १८० जना मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा २०६८ सालमा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेकोमा हाल पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।

त्यस्तै काठमाडौँमा सबैभन्दा धेरै पाँच हजार १०८ जना प्रतिवर्ग किलोमिटर र मनाङमा सबैभन्दा कम तीन जना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ । जनघनत्वको आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौँ जिल्लाहरू हुन् । त्यसैगरी मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा जनघनत्व १० जना प्रतिवर्ग कि.मि.भन्दा कम रहेको छ । तराईमा सबैभन्दा कम जनघनन्व भएको जिल्लामा उदयपुर (१६६ जना) र पहाडमा रुकुम पूर्व (३५ जना) रहेका छन् । यसले शहरमा बस्न मानिसको चाप बढेको देखाउँछ ।

विदेशिने महिलाको सङ्ख्या बढ्यो 
जनगणना २०७८ को प्रारम्भिक नतिजाका आधारमा हेर्दा २१ लाख ६९ हजार ४७८ जना विदेशमा रहेको तथ्याङ्क देखिएको छ । उक्त सङ्ख्यामध्ये १७ लाख ६३ हजार ३१५ जना पुरुष छन् । यो कुल सङ्ख्याको ८१.२८ प्रतिशत हो । महिला ४ लाख ६१ हजार तीन जना छन् । यो कुल सङ्ख्याको १८.७२ प्रतिशत हो । २०६८ सालमा भने विदेशमा बसोवास गर्ने नेपालीको सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो । उक्त सङ्ख्यामा पुरुष १६ लाख ८४ हजार २९ (८७.६४ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० (१२.३६ प्रतिशत) थिए ।
समग्रमा हेर्दा २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाको सङ्ख्या ७१.०९ प्रतिशतले बढेको देखिन्छ । जिल्लागत आधारमा ७७ वटै जिल्लाबाट विदेश गएको देखिएको छ । सबैभन्दा बढी विदेश गएको जिल्लाहरूमा काठमाडौँ, कैलाली, झापा, रूपन्देही र मोरङ छन् भने सबैभन्दा कम विदेश जाने जिल्लामा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका विभागले जनाएको छ ।

भौगोलिक क्षेत्रअनुसारको जनसङ्ख्याको वितरण तराई क्षेत्रको अंश २०६८ सालको जनगणनाको तुलनामा २०७८ सालमा आइपुग्दा वृद्धि भएको छ । २०६८ सालको जनगणनामा कुल जनसङ्ख्याको ५०.२७ प्रतिशत रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । हिमाली क्षेत्रको कुल जनसङ्ख्याको ६.७३ प्रतिशत अंश रहेकोमा यो सङ्ख्या २०७८ मा केही कम भई ६.०९ प्रतिशत रहेको देखिन्छ । पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत रहेकोमा हाल २०७८ मा ४०.२५ प्रतिशतमा झरेको पाइएको छ ।


वितरणअनुसार आर्थिक स्रोत

डा. रामकुमार फुयाल 
सदस्य, राष्ट्रिय योजना आयोग


पहिले पहिले एउटै परिवारमा आठदेखि दसजनासम्म सन्तान जन्माउने चलन थियो । अहिले दुई सन्तान जन्माउने चलन बढ्दै छ । नेपालमा १९६८ सालदेखि सुरु भएको जनगणना विभिन्न समयमा घट्ने र बढ्ने क्रम छ । अहिलेको जनसङ्ख्या २०६८ सालको भन्दा २६ लाख ९७ हजार ९७६ बढी हो । यो सङ्ख्यालाई प्रतिशतमा नाप्दा १०.१८ हुन्छ तर प्रक्षेपण गरिएभन्दा अलि कम नै हो ।

संविधानको मर्मअनुसार समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न समावेशी, आर्थिक रूपान्तरणसहितको समतामूलक, लोककल्याणकारी र न्यायपूर्ण समाज निर्माण गर्न मानव संशाधनलाई नै बलियो बनाउनुपर्छ । मानवलाई पुँजीको रूपमा लिएर त्यसलाई आर्थिक क्रियाकलापमा सहभागी गराउनुपर्छ । जनसङ्ख्यालाई व्यवस्थित गरी रोग, भोक र शोकरहित समाज निर्माण गर्ने र सबैमा शिक्षा, स्वास्थ्य पर्याप्त रूपमा प्रदान गर्ने, बच्चाको मृत्युदर घटाउनु पर्छ । जनसङ्ख्या घट्दै गयो भने ज्येष्ठ नागरिक धेरै हुन्छन् । त्यसले राज्यलाई भार पर्छ । 
केही व्यक्ति सम्भ्रान्त र अधिकांश व्यक्ति आधारभूत आवश्यकता पूरा गर्न नसक्ने भए भने पनि समस्या हुन्छ । संविधानमा उल्लिखित मौलिक हकलाई पूर्ण रूपमा प्रत्याभूत गर्ने गरी सबैलाई सामाजिक रूपमा न्याय दिनुपर्छ । त्यसका लागि सोहीअनुसार पुँजी निर्माण गर्नुपर्छ । अनि जनसङ्ख्याको वितरणअनुसार भएका आर्थिक स्रोतलाई परिचालन गर्नुपर्छ ।

पहाड र हिमालमा स्रोत छ तर अहिले तराईमा जनसङ्ख्या बढेको छ । पहाडमा धेरै भूगोल छ तर त्यहाँ जनसङ्ख्या कम छ । अहिलेको गणनाले तराईमा जनसङ्ख्याको वितरण असमान देखिएको छ । पहाड र हिमालमा पनि भौतिक पूर्वाधार निर्माण गरेर जानुपर्छ । पहाडको उपयोगिता सरकारले लिन सक्नुपर्छ । गाउँलाई सहरीकरण गर्दै जानुपर्छ । जनसङ्ख्या कम भएको ठाउँमा बसाइँसराइ गर्नुपर्ने र त्यहीँ बस्ने वातावरण बनाउनुपर्छ । पहाडका नागरिकलाई श्रममा लगाएर उद्यमशील बनाउने काम पनि गर्नुपर्छ । राष्ट्रिय योजना अयोागले हरेक स्थानीय तहको तथ्याङ्क निर्माण गरिरहेको छ । आवधिक योजना र अन्य नीति निर्माणमा यो तथ्याङ्क महìवपूर्ण हुनेछ ।


समाज एकल परिवारतर्फ

पद्मप्रसाद खतिवडा
सहप्राध्यापक, त्रिवि, 
जनसङ्ख्या अध्ययन केन्द्र विभाग


हाम्रो जनसाङ्ख्यिक समाज अहिले एकल परिवारतर्फ केन्द्रित छ । पहिला प्रतिपरिवार ४.८८ जना थियो । जनगणना २०७८ को नतिजाले प्रतिपरिवार सङ्ख्या घटेर ४.३२ मा आएको छ । यसले हाम्रो समाज एकल परिवारतर्पm जाँदै छ भन्ने प्रष्ट पारेको छ । अहिले नेपालको जनसाङ्ख्यिक अवस्थालाई मूल्याङ्कन गर्दा जन्मने सङ्ख्या कम र जन्माउनेहरूको बाहुल्यता छ । २०४८ सालमा ० देखि ४ वर्ष उमेरसम्मको बालबालिकाको सङ्ख्या धेरै थियो । २०५८ सालमा ५ देखि ९ वर्ष उमेर समूहको जनसङ्ख्या धेरै हुन थाल्यो । २०६८ मा १० देखि १४ वर्ष उमेर समूहका धेरै र अहिले २०७८ मा १५ देखि १९, २० देखि २४ र २५ देखि २९ समूहका जनसङ्सख्या सबैभन्दा धेरै देखिन्छ । यद्यपि जनगणनाको विस्तृत विवरणमा आउन भने बाँकी नै छ । उक्त उमेर समूहका व्यक्तिहरूले अहिले बिहे गरी बच्चा जन्माउँदै छन् तर उक्त उमेर समूहका जनसङ्ख्याले जन्माएका बच्चा एक दम्पतीबाट एक वा दुई जना मात्र छन् । यसले पनि अहिले जन्मदरमा कमी आएको हो । सधैँ यो चक्र यही रहँदैन । अबको २० देखि २५ वर्षपछि अहिलेका युवा क्रमिक रूपमा ज्येष्ठ नागरिक हुँदै जान्छन् ।

यही अवस्था सन् १९७० र ८० को दशकमा एसियाको हङकङ, मलेसिया, सिङ्गापुरमा थियो । नेपालमा अहिले सन्तान जन्माउने बाहुल्यता भएका कतिपय व्यक्ति विदेशमा छन् । त्यसो हुँदा पनि दर घट्यो । यस्तै यो समूहका धेरै व्यक्ति बेरोजगार छन्, तिनले धेरै बच्चा जन्माउँदा लालनपालन गर्न नसक्ने अवस्था हुन सक्ने चिन्ताले धेरै बच्चा जन्माएका छैनन् ।

जनसङ्ख्या वृद्धिदर कम हुनुमा तत्कालका लागि सकारात्मक असर होला तर दीर्घकालीन रूपमा भने नेपाललाई ठूलो घाटा हुन्छ । भविष्यमा जनसङ्ख्या कम हुँदा देशलाई चाहिने दक्ष जनशक्तिको अभाव हुन्छ । नेपालमा २०४८ सालदेखि हालसम्म पनि उच्च जनसङ्ख्या भएको देश भनियो । सरकारले पनि यही नीति लियो । अहिले त्यसैको असर जसङ्ख्या वृद्धि दरमा परेको हो ।

सन् २०१३ सम्ममा चीनमा एक दम्पतीले एकभन्दा बढी बच्चा जन्मायो भने कारबाही हुन्थ्यो । सन् २०१३ पछि एक जोडीले दुई जनासम्म बच्चा जन्माउन सक्ने नीति लिइयो । सन् २०१५ मा दुई वा दुईभन्दा बढी पनि सन्तान जन्माउन सक्ने नीति बन्यो । अहिले आएर चीनले जति पनि बच्चा जन्माउन सक्ने नीति लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?