विश्व खेलकुदको महाकुम्भ रूपमा रहेको ओलम्पिकको ३२ औं संस्करणको उद्घाटन गरिएको छ। टोकियो ओलिम्पिक रङ्गशालामा आयोजित समारोहमा जापानका सम्राट नारोहितोले ओलिम्पिक्सका खेलहरू सुरु भएको घोषणा गरेका हुन्।
जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहबीच ओलम्पिकको ३२ औं संस्करणको उद्घाटन गरिएको हो। जापानको राष्ट्रिय गानसँगै जापानी सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ।
समारोहमा जापानका सम्राट नारुहितो, प्रधानमन्त्री योसिहिदे सुगा, अमेरिकी प्रथम महिला जिल बाइडेन, अन्तराष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाच तथा विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थिति छ।
अगस्ट ८ सम्म सञ्चालन हुने ओलम्पिकमा ३३ खेल समावेश गरिएको छ। जसमा २ सय ६ देशका ११ हजार ३ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। नेपालबाट भने ४ खेलका ५ खेलाडीले प्रतिष्पर्धा गर्ने छन्। गत वर्ष तय भएको ओलम्पिक कोरोना भाइरसको महामारीको कारण एक वर्ष ढिला आयोजना गरिएको हो।
उद्घाटन समारोहमा नेपालका तर्फबाट गौरिका सिंहले मार्च पासको नेतृत्व गरेकी छन् । उद्घाटन समारोहका क्रममा भएको मार्चपासमा गौरिका र एलेक्सले अग्रपंतिमा रहेर नेपालको झण्डा बोकेका थिए ।
ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीको सहभागिता
ओलम्पिकमा नेपालको तर्फबाट पौडीमा गौरिका सिंह र अक्जेन्डर शाह, शुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन्।
शनिवार शुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेल्नेछिन्। भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन्। उनले ४८ केजी तौल समूहमा इरिनाको सामना गर्नेछिन् । साेनिया विश्व वरीयतामा १२७औँ स्थानमा छिन् भने इरिना विश्व वरीयतामा नवौँ स्थानमा छिन् । उनले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक हात पारेकी थिइन् । उनले महिला ४८ केजीमुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाइकी थिइन् ।
एथलेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार अनि पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । एथलेटिक्सतर्फ नेपालकी सरस्वतीले प्रतिस्पर्धा गर्दै छिन् । उनले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।
छोटो दूरीकी धाविका सरस्वती युनिभर्सालिटी कोटामा ओलम्पिक खेल्न पुगेकी छन् । उनी १५ साउनमा मैदान उत्रनेछिन् । सुटिङमा कल्पना परियार छिन् । उनले महिला १० मिटर एयर राइफलमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनको खेल पनि शनिवार हुनेछ ।
पौडीमा नेपालबाट अलेक्जेन्डर शाहले र गौरिका सिंहले सहभागिता जनाउँदै छन् । दुवै खेलाडी युनिभर्सालिटी कोटा (विश्वव्यापी सहभागिता) बाट ओलम्पिक पुगेका हुन् ।
नेपालबाट सुरुमै जापान पुगेका पौडीका अलेक्जेन्डर शाह र ब्रिटेनबाट सिधै जापान पुगेकी कीर्तिमानी खेलाडी गौरिका सिंहले टोकुसिमामा अभ्यास गरेका थिए। त्यस्तै सुटिङकी कल्पना परियारले र जुडोकी सोनिया भट्टले पनि त्यहाँ पुगेर अभ्यास गरिसकेका छिन्। दुबै जनाले शनिवार प्रतिस्पर्धा गर्दैछन्।
ओलम्पिकमा नेपालबाट हालसम्म आठ खेलमा प्रतिनिधित्व भएको छ । यसपटकको ओलम्पिकमा पनि नेपाली टोलीको लक्ष्य भनेको पदकभन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्नु नै हुनेछ ।
त्यस्तै २४ अगस्टबाट अपाङ्गता भएका खेलाडीहरूको पाराओलिम्पिक्स सोही रङ्गशालामा सुरु हुनेछ।