मेलम्ची बजार बन्यो बगर, घरका छतबाट गुहार माग्दै स्थानीय फोटो फिचरसहित

-


     जनहित न्युज    
     असार २ गते २०७८


बाढी-पहिरोले हेलम्बु र मेलम्चीमा ठूलो क्षति पुर्‍याएको छ ।  मेलम्ची बसपार्कमा रहेका दर्जनौ होटल  बगाएकाे र केही घर डुबानमा परेकाले ठूलो मानविय क्षति भएको अनुमान गर्न सकिन्छ । यद्यपी, बाढी-पहिरोमा परेर मृत्यु भएका र बेपत्ता हुनेको यकिन संख्या अझै पत्ता लागेको छैन ।

मेलम्चीघ्याङ माथिको नामसाङसाङ डाँडो पहिरो बनेर आएपछि मेलम्ची खोला केहीबेर थुनिएको थियो । यही मेलम्ची खोलाले यहाँ विध्वंस गरेको हो । अबिरल वर्षाले गएको पहिरोसँगै आएको भीषण बाढीले सुरुमा नाकोतेको नवनिर्मित पुल बगायो ।

पुलसहित आएको बाढीले हेलम्बुदेखि मेलम्ची बजारसम्म मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिएसपी प्रकाश सापकोटाले दिएको जानकारीअनुसार हेलम्बु वडा नं. १ का तीन पुरुष र एक महिला बेपत्ता भएका छन् । 

मौसम अनुकुल नभएकाले उद्धार कार्य प्रभावित भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार हालसम्म चार स्थानीय हराइरहेका छन् । बाढीले गरेको मानवीय क्षति हालसम्म यकिन हुन सकेको छैन । उद्धारको लागि नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी मेलम्चीदेखि हेलम्बुसम्म तैनाथ छन् । 

बाढीले नाकोते, चनौटे, र मेलम्चीको पक्की पुल बगाएको छ । मेलम्चीबाट नवलपुर हुँदै सदरमुकाम चौतारा आउने पक्की पुल बगाएकोले शिखरपुर मेलम्ची सम्पर्कविच्छेद भएको छ । 

ठाउँ-ठाउँमा बिजुलीका पोल ढलेकाले विद्युत अवरुद्ध भएको छ । बाढीले मेलम्चीको बसपार्कमा रहेका ६० होटेल बगाएको छ । मेलम्ची बजारका दर्जनौं घर डुबानमा परेका छन् । 

बहुउद्देश्यीय कभर्ड हल र फनपार्क पनि बगाएको छ । हेलम्बु क्षेत्रमा रहेका सबै ट्राउट माछा फर्म बगाएको छ । माछा पालनसहित रहेको किउलस्थित भण्डारी ट्राउट माछा रिसोर्ट बगाउँदा होटेलमा काम गर्ने कुक हालसम्म वेपत्ता छन् । खोला किनारछेउमा रहेको चनौटे बजार समेत डुवानमा परेको छ । 

मेलम्चीको होटलमा फसेका २ जनालाई सेनाको हेलिकोप्टरबाट उद्दार

मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका दुई व्यक्तिलाई नेपाली सेनाले उद्दार गरेको छ ।

मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए ।होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

बाढीले होटलको तल्लो तल्लाहरु डुबाएको थियो । त्यसपछि बाहिर निस्कन नसकेका उनीहरु जोखिममा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?