ब्राजिलमा जारी कोपा अमेरिकामा तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले जित हात पारेको छ ।
शनिबार बिहान भएको खेलमा पेरूलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो भएको हो।कोलम्बियालाई जिताउन लुइस डियाजले खेलको अन्तिममा गोल गरे।खेलमा अग्रता भने पेरूले लिएको थियो। खेलको ४५औँ मिनेटमा योशिमर योतुनले गोल गरी पेरुलाई सुरूआती अग्रता दिलाएका थिए।
दोस्रो हाफ सुरू हुनेवित्तिकै ४९औँ मिनेटमा कोलम्बियाका जुवान काउड्राडोले बराबरी गोल फर्काए।खेलको ६६ औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा अग्रता दिलाए ।
तर खेलको ८२ औँ मिनेटमा पेरूका जियानलुका लापाडुलाले गोल गर्दै फेरि खेल बराबरीमा ल्याए।९० मिनेटपछि ६ मिनेट थप गरिएको थियो। थपिएको चौथो अर्थात ९४औँ मिनेटमा लुइस डियाजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरी कोलम्बियालाई जित दिलाए।