गैर आवासीय नेपाली संघप्रति नेपाली समुदायलाई चासो र चिन्तन जागरूप गराउदै जापानबासी नेपालीहरुमा सचेतनामूलक कार्यक्रम गर्नका लागि एनआरएनए क्षेत्रीय समिति कान्साईले विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ ।
आफ्नो २०११-२०२३ को कार्यकाललाई उपलब्धीमूलक बनाउदै जापानस्थित नेपाली समुदायमा सचेतनामूलक कार्यक्रमका लागि बिमा सम्बन्धी अनलाइन सेमिनार,तोकुतेइ गिनोउ सम्बन्धी अनलाइन सेमिनारको आयोजना गर्न लागिएको संयोजक दिलिप शर्माले जानकारी दिए ।
जापानबासी नेपालीहरुलाई आफ़्नो परम्परा एक संस्कृतिप्रति भावनात्मक सम्बन्ध क़ायम राखिराख्न र घरदेशको नियास्रो न्यूनिकरण गराउनका लागि नेपालीहरुको महानपर्व विजय दशमीमा विभिन्न संघ संस्थासँग मिलेर शुभकामना आदानप्रदान गरिने योजना रहेको संयोजक शर्माले जानकारी दिए ।
उनका अनुसार नेपाली भाषा संस्कृति र साहित्यलाई परदेशको भूमिमा पनि जगेर्ना गर्दै स्रष्टाहरुको सम्मानमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रमको आयोजना समेत गरिने बताए ।
जापानमा रहेका धेरै नेपालीहरु व्यावसायप्रति आकर्षित भैरहेका र ब्यावसाय समेत संचालन गरिरहेकाहरुलाई लक्षित गर्दै यहाँको विषय विज्ञको सहभागितामा नियम क़ानून कर प्रणालीको जानकारी दिने र सफल व्यावसाय संचालन गर्नका लागि उत्प्रेरणामूलक अनलाइन गोष्ठी समेत गरिने समितिका सचिव तेजप्रकाश गुरुङले बताए ।
जापानमा रहेका कतिपय नेपालीहरुमा देखिएको नैराश्यतालाई कमी गर्न र बढ्दो आत्महत्याको रोकथाम र न्यूनिकारणका लागि मनोविद्हरुको सहभागितामा मनोवैज्ञानिक परामर्शको कार्यक्रम पनि आयोजना गर्ने हाम्रो योजना रहेको छ सचिव गुरुङले भने ।
कान्साईबासी नेपालीको तथ्यांक संकलन गरि व्याबसायीका लागि जापान सरकारले दिने १० प्रतिशत छुटका विषयमा समेत कार्यक्रम गरिने समितिले जनाएको छ । साथै जब हण्टिंङको बारेमा समेत कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष शर्माले जानकारी दिए ।
यस अघि नै समितिले तिजको अवसर पारेर जापानमा रहेका महिलाका समस्याको उजागर गर्दै समाधानको उपाय पहिल्याउन सहयोग पुग्ने गरि जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र अगुवा महिलाको सहभागितामा कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यस्तै अनलाइन सपीङको बारेमा सचेतना गराउन ‘’जापानमा सम्भावित अनलाइन ठगीबाट कसरी जोगिने ?” भन्ने बारेमा आइटी स्पेशलिष्ट बिष्णुप्रसाद सुबेदीको सहजीकरणमा कार्यक्रम सम्पन्न गरि सकेको छ ।