जापानमा मन्दिर बनाउने अभियान सुरु, दीपक सुवेदीबाट १ करोड सहयोग घोषणा

-


     जनहित न्युज    
     वैशाख १० गते २०८१


पछिल्लो समयमा जापान आउने नेपालीहरुको संख्या बढिरहेको छ । १ लाख ७५ हजार भन्दा बढीको संख्यामा नेपालीहरु जापानमा रहेपनी हिन्दूहरुको निमित्त पूजापाठ तथा दर्शनको निमित्त मन्दिर नहुँदा धर्मप्रति आस्थावान धेरैले आवश्यकताको महसुस गरेका थिए। मन्दिर निर्माणको निमित्त बेलाबेलामा चर्चा भइरहे पनि त्यसले पूर्णता पाएको थिएन।

जापानमा रहेका नेपालीहरुले हालसम्म सामूहिक रुपमा विभिन्न चाडपर्व मनाउनु परे वा पुजाआजा गर्नु परेको खण्डमा स्थानीय रेष्टुरेन्टको हललाई भाडामा लिई प्रयोग गर्दै आइरहेका छन्। यसै समस्यालाई मध्यनजर गर्दै मन्दिर निर्माण अभियान सुरु गरिएको व्यवसायी दीपक सुवेदीले बताए। उक्त अभियानको सुरुवात गर्दै आफ्नो तर्फबाट १ करोड जापानी येन सहयोग गर्ने प्रतिबध्दता समेत व्यक्त गरे । मन्दिर निर्माणपछि नेपालबाट संस्कृतमा उच्च ज्ञान प्राप्त गर्नु भएका धार्मिक गुरुहरु र पुरोहितलाई बोलाई दैनिक पुजा-पाठ, भजन-किर्तन र विभिन्न चाडपर्वको समयमा यज्ञ आयोजना गरिने र दानपेटिका मार्फत प्राप्त सहयोगलाई नेपालमा रहेका दु:खि तथा गरिब लाई सहयोग गर्न सकिने सुवेदीको भनाई छ ।

को हुन् दीपक सुवेदी ?

बाग्लुङ जिल्ला विहुँकोटका दीपक सुवेदी हाल जापानलाई कर्मभूमि बनाएर व्यवसाय गरिरहेका छन । रेष्टुरेन्ट व्यवसाय तथा रेस्टुरेन्टमा आवश्यक खाद्य सामाग्रीको विक्री वितरणमा सक्रिय सुवेदी सफल व्यवसायीको रुपमा नेपालीमाझ परिचित छन । कर्मशील तथा सहयोगी मनका धनी उनको सपरिवार जापानमा रहेको छ भने बुवा बाग्लुङ्गमा परिचित पण्डित हुनुहुन्छ। २५ वर्ष अघि जापान प्रवेश गरेर रेष्टुरेन्ट व्यवसाय सुरु गरेका सुवेदीले खाद्यान्नको थोक बिक्रेता एवम् हालसम्म २१ वटा रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन ।
सफल व्यवसायीको पहिचान निर्माण गर्दै सयौँलाई रोजगारी सिर्जना गर्न सफल व्यवसायी तथा सामाजिक व्यक्ति दिपवे जापानका प्रमुख एवं दिपवे फाउन्डेसनका संस्थापक दिपक सुवेदीलाई जापानमा भएको चैत्राष्टमी मेलामा पहिलो बाग्लुङ रत्नको रुपमा सम्मान गरिएको थियो।

बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानद्वारा आयोजित कार्यक्रममा मन्दिर निर्माण अभियान घोषणा गर्नुभएको हो।
मन्दिर निर्माण अभियानमा जापानमा रहेका अधिकांश नेपालीहरु सकारात्मक रहेका छन् भने धेरैको मौखिक रुपमा सहयोगको लागि प्रतिबध्दता आउने काम भइरहेको छ। छिट्टै समिति गठन गरी निर्माण कार्य थालनी गर्ने दीपक सुवेदीले बताउनुभयो।

सुवेदीले नेपाली नयाँ वर्षको अवसरमा जापानमा भएको चैत्राष्टमी मेलामा गर्नुभएको संकल्प जस्ताको तस्तै तल प्रस्तुत गरिएको छ…

जापानमा गरिएको चैत्राष्टमी मेला २०२४ को पवित्र दिन पारेर जापान को भूमि मा पहिलो मन्दिर बनाउने संकल्प गर्दछु।

यस भुमीमा पाईला राख्न सफल भएको म जस्तो भुई मान्छेलाई मेहनत,भाग्यका साथै कर्मभुमी जापानले मलाई, परिवार,आफन्त, साथिभाई एवम् गाऊँ, जिल्ला, देशवासि सबैलाई धेरै कुरा दिएको छ। त्यसैले साच्चिकै म जापान प्रति धेरै ऋणी छु। आजसम्म मेरो जीवनमा जे छ जति मिलेको छ, खुशी छु। मलाई जन्मदिने बुबा आमा, साथ दिने परिवार, आफन्तजन, कृपा एवम् रक्षा गर्ने भगवान, साथिभाई एवम् शुभचिन्तक हरु प्रति कृतज्ञ छु।भोली कस्ले के देखेको हुन्छ र कुन अवस्थामा भइन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । त्यसैले आज म आफैबाट जापानी येन १ एक करोड़ दान संकल्प गरेर ऐतिहासिक पवित्र कामको शुरुआत गर्न चाहन्छु। जापानको पवित्र भुमिमा पहिलो हिन्दू धर्मावलम्बीहरुको ऐतिहासिक सनातन मन्दिरको निर्माण गर्न समर्पित हुने कुरा हजुरहरु सबैलाई जानकारी गराऊन चाहन्छु। हजुरहरु सबैलाई यस ऐतिहासिक पवित्र अभियानमा जोडिन अनुरोध, आग्रह, आह्वान गर्न चाहन्छु । जापानमा हामीहरुको ऐतिहासिक, गौरवशाली एवम् धार्मिक योजना हो, हाम्रो धर्म,हाम्रो संस्कार, हाम्रो संस्कृति हामीले नै बचाऊनुपर्छ ।

जापानमा भएका सबै संघ -संस्था, बुद्धिजीवी, व्यवसायी, विधार्थी सबै लाई समेटेर टिम तयार गरी मन्दिर को ट्रस्ट स्थापना गर्ने र बिभीन्न माध्यम प्रयोग गरी देश विदेश बाट रकम जुटाएर जग्गा खरीद गर्नतर्फ लाग्ने कुराको जानकारी गराऊन चाहन्छु। यसको निमित्त कम्तिमा २० हजार मान (२० करोड येन) देखि माथी लगानी हुन सक्ने अनुमान रहेको छ। जापानमा अहिले सम्मकै ठुलो लगानीको धार्मिक, ऐतिहासिक, गौरवशाली योजना भएको हुनाले सम्पन्न हुन केही वर्ष लाग्न सक्छ तर हाम्रो धर्म,हाम्रो संस्कार,हाम्रो संस्कृति हामीले नै बचाऊनु पर्छ हाम्रो मन्दिर हामी आफै बनाऊनु पर्छ । संसार भरबाट लाखौको संख्यामा हिन्दु धर्मावलम्बी बसेको देश अझै दिन प्रतिदिन संख्या बढिरहेको भएपनि जापानमा अहिले सम्म आफ्नै मन्दिर थिएन।ऐतिहासिक पवित्र अभियान सफलतापूर्वक सम्पन्न गर्नको लागि जापानमा भएका बिभीन्न संघ संस्थाका पदाधिकारी हरु,समाजसेवीहरु , बुद्धिजीवी बर्गहरु, व्यवसायी हरु, बिधार्थी भाई बहिनी हरु , रोज़गारी को शिलशिलामा आऊनु भएका हजुरहरु सबैलाई यस अभियानमा तन,मन,बचन का साथ जोडिन अनुरोध, आग्रह, आह्वान पनि गर्नु भएको छ। आऊनु होस, सबै मिलेर सफल पारौ 🙏

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?