
प्रवासमा रहेका निउरे समुदायबीच आपसी एकता, भाइचारा, सहयोग र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले स्थापित निउरे समाज जापानको प्रथम अधिवेशन टोकियोको सिन–ओकुबोस्थित सोलमारी मुरा हलमा भव्य समारोहबीच सम्पन्न भएको छ।
समाजका अध्यक्ष रुद्रमणि निउरेको सभापतित्वमा सम्पन्न अधिवेशनमा जापानका विभिन्न क्षेत्रबाट आएका निउरे समुदायका सदस्यहरूको उल्लेख्य तथा उत्साहजनक सहभागिता रहेको थियो। अधिवेशनले संस्थाको प्रारम्भिक कार्यकालको समीक्षा गर्नुका साथै आगामी सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गरेको छ।
कार्यक्रमको प्रारम्भमा बाबुराम निउरेले स्वागत मन्तव्य राखेका थिए भने सचिव मनप्रसाद निउरेले संस्थाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष दयाराम निउरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमार्फत संस्था स्थापना भएदेखि सञ्चालन गरिएका सामाजिक, मानवीय तथा सांस्कृतिक गतिविधि, आर्थिक अवस्था र आगामी कार्ययोजनाबारे जानकारी गराइएको थियो। कार्यक्रमको सहजीकरण तथा सञ्चालन खिम निउरेले गरेका थिए।
विशिष्ट व्यक्तित्वहरूको सहभागिता
अधिवेशनमा गैरआवासीय नेपाली संघ आइसिसिका युवा संयोजक निवर्तमान अध्यक्ष तथा निउरे समाज जापानको विधान तयारी समितिका सदस्य नवीन निउरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
नेपालबाट जापान भ्रमणमा रहेका टिकाराम निउरे र सीतादेवी निउरे विशेष अतिथि तथा नवलपुर समाज जापानका सल्लाहकार मेघराज सापकोटा विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा समाजका प्रमुख सल्लाहकार तथा परिकल्पनाकार खिमानन्द निउरे, निर्वाचन समिति संयोजक तथा परिकल्पनाकार डिलाराम निउरे, सल्लाहकारहरू चित्रप्रसाद निउरे र खिमबहादुर निउरे (ठाना), नेपाल कल्याण समाज जापानका अध्यक्ष विष्णु शर्मा निउरे, समाजसेवी प्रकाश निउरे, संस्थापक सदस्य डण्डपानी निउरे तथा वरिष्ठ उपाध्यक्ष देवेन्द्र निउरेलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
समारोहका क्रममा संस्थाको स्थापना, विधान निर्माण, संगठन विस्तार तथा सामाजिक गतिविधिमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। नेपालबाट जापान भ्रमणमा रहेका टिकाराम निउरे र सीतादेवी निउरेलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो।

खिमानन्द निउरेको नेतृत्वमा नयाँ कार्यसमिति
अधिवेशनको बन्द सत्रले आगामी सन् २०२६–२०२८ कार्यकालका लागि खिमानन्द निउरेको अध्यक्षतामा ३० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
समितिको वरिष्ठ उपाध्यक्षमा मनप्रसाद निउरे चयन भएका छन्। उपाध्यक्षहरूमा प्रकाश निउरे, विष्णु शर्मा निउरे र अगन्धर निउरे चयन भएका छन्।
त्यसैगरी, सचिवमा खिमबहादुर निउरे, सहसचिवमा देवीप्रसाद निउरे र विनोद निउरे, कोषाध्यक्षमा दयाराम निउरे तथा सहकोषाध्यक्षमा बाबुराम निउरे र राजु निउरे चयन भएका छन्।
महिला संयोजकमा योगमाया निउरे, युवा संयोजकमा प्रेम निउरे, लेखा समिति संयोजकमा मिलन निउरे (मन) र सहसंयोजकमा खिम निउरे (दपसा) सर्वसम्मत चयन भएका छन्। अन्य विभिन्न जिम्मेवारीसहित कार्यसमितिले पूर्णता पाएको समाजले जनाएको छ।
संरक्षक तथा सल्लाहकार समिति गठन
अधिवेशनले निवर्तमान अध्यक्ष रुद्रमणि निउरे र डिलाराम निउरेलाई संस्थाको संरक्षक चयन गरेको छ।

त्यसैगरी, देवेन्द्र निउरेको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ। समितिमा नवीन निउरे, खिमबहादुर निउरे (ठाना), चित्रप्रसाद निउरे, नरबहादुर निउरे र उमेश निउरे चयन भएका छन्।
नयाँ कार्यसमिति तथा सल्लाहकार समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिइएको थियो।
नवनिर्वाचित अध्यक्षको प्रतिबद्धता
नवनिर्वाचित अध्यक्ष खिमानन्द निउरेले आफूमाथि विश्वास गरेर जिम्मेवारी प्रदान गरेकोमा सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गरे।
उनले समाजलाई जापानमा रहेका निउरे समुदायका सबै सदस्यको साझा चौतारीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउँदै संगठन सञ्चालनमा इमानदारी, पारदर्शिता, समन्वय र उत्तरदायित्वलाई प्राथमिकता दिइने बताए।
उनका अनुसार आगामी कार्यकालमा सामाजिक एकता, पारस्परिक सहयोग, सांस्कृतिक पहिचानको संरक्षण, युवा सहभागिता, महिला सशक्तीकरण तथा मानवीय सेवासम्बन्धी कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाइनेछ।
निउरे समुदायका नयाँ पुस्तालाई संस्थासँग जोड्ने, आपत्कालीन अवस्थामा सदस्यहरूलाई सहयोग गर्ने तथा नेपाल र जापानमा रहेका समुदायबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने पनि नयाँ नेतृत्वको प्राथमिकता रहने उनले बताए।
प्रवासमा साझा पहिचान निर्माणको प्रयास
निउरे समाज जापानले प्रवासमा रहेका एउटै वंश, समुदाय र पारिवारिक सम्बन्धका सदस्यलाई संगठित गर्दै आपसी सहयोगको संरचना निर्माण गर्ने लक्ष्य राखेको छ। अधिवेशनमा बोल्ने वक्ताहरूले संस्था थर वा वंशमा मात्र सीमित नभई व्यापक सामाजिक उत्तरदायित्वसहित अघि बढ्नुपर्ने धारणा राखेका थिए।
उनीहरूले जापानी समाजसँगको सहकार्य, नेपाली समुदायका साझा समस्यामा सहभागिता, दुःख–सुखमा पारस्परिक सहयोग तथा नेपाली भाषा, संस्कृति र परम्परा नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यमा संस्थाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको समापनमा आयोजकले व्यस्त समयका बाबजुद उपस्थित भई अधिवेशन सफल बनाउन योगदान दिने प्रमुख अतिथि, विशेष अतिथि, संरक्षक, सल्लाहकार, निर्वाचन समिति, संस्थापक सदस्य, निउरे समुदायका दाजुभाइ तथा दिदीबहिनी र सम्पूर्ण शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेको छ।
समाजले प्रथम अधिवेशनलाई संस्थागत विकासको महत्वपूर्ण आधारका रूपमा लिँदै नयाँ नेतृत्वमार्फत निउरे समुदायलाई अझ संगठित, सक्रिय र एकताबद्ध बनाउने विश्वास व्यक्त गरेको छ।



