गल्कोट समाज टोकियोको ‘तिज धमाका २०२६’ आगामी सेप्टेम्बर १० मा, राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहने

-


     दिनेश थापा     
     असार २५ गते २०८३


टोकियो, जापान

गल्कोट समाज जापान क्षेत्रीय समिति टोकियोले हरितालिका तिजको अवसरमा आगामी सेप्टेम्बर १० तारिख टोकियोमा भव्य सांस्कृतिक कार्यक्रम ‘तिज धमाका २०२६’ आयोजना गर्ने भएको छ।

संस्थाका अध्यक्ष ईश्वर बस्नेतका अनुसार नेपाली कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने मुख्य ध्येयका साथ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपालबाट आमन्त्रित लोकदोहोरी तथा तिज गीतका चर्चित राष्ट्रिय कलाकारका साथै जापानमै रहेका स्थानीय कलाकारहरूको विशेष साङ्गीतिक प्रस्तुति रहनेछ। संस्थाले विदेशमा आयोजना गरिने यस्ता कार्यक्रमले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी सद्भाव र एकतालाई मजबुत बनाउनुका साथै मौलिक परम्परा नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

सचिव चतुर्भुज सापकोटाका अनुसार आमन्त्रित राष्ट्रिय कलाकारहरूको भिसा तथा डकुमेन्टेसन प्रक्रिया हाल सम्बन्धित निकायमा अगाडि बढिरहेको छ। कार्यक्रम २०२६ सेप्टेम्बर १० तारिख बिहीबारका दिन टोकियोको कामातास्थित ‘कम कम शिन्कामाता’ (COME COME SHINKAMATA, Ota City) हलमा सञ्चालन हुनेछ। नेपाली समुदायको बाक्लो बसोबास रहेको क्षेत्र भएकाले सहभागीहरूलाई सहज पहुँच हुने उद्देश्यले उक्त स्थान छनोट गरिएको हो।

उपाध्यक्ष गोम बुढाथोकीका अनुसार हरितालिका तिज हिन्दू नेपाली महिलाहरूको आस्था र श्रद्धासँग जोडिएको महान पर्व हो। विदेशमा रहेका दिदीबहिनीहरूले नेपालमा माइत गएको अनुभूति गर्दै वर्षभरिका दुःख, पीडा र व्यस्ततालाई बिर्सन सकुन् भन्ने उद्देश्यले कार्यक्रमलाई नेपालकै परिवेश झल्किने गरी उल्लासपूर्ण बनाउने तयारी गरिएको छ।

समाजले टोकियोसहित जापानभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त दिन बिदा मिलाएर कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ। आफन्त र साथीभाइसँगको पुनर्मिलन तथा मौलिक सांस्कृतिक उत्सवमा सरिक भई कार्यक्रमलाई सफल बनाउन सचिव सापकोटाले सम्पूर्ण जापानवासी नेपाली समुदायमा विशेष आग्रह गरेका छन्। यसअघि नै समाजले विभिन्न आन्तरिक बैठक र तयारीका साथ कार्यक्रमलाई भव्य बनाउन सक्रियता बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?