नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने बताएका छन् ।
मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई कूटनीतिक नोट पठाएको र त्यसको सकारात्मक जवाफ नआए पारित नहुने दाबी गरेका हुन् ।
‘अमेरिकालाई कूटनीतिक नोट पठाएको र यसको सकारात्मक जवाफ नआए एमसीसी पास हुँदैन’, उनले भने ।
गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष आह्वानगरेसँगै एमसीसी संसदबाट पारित गर्ने सम्भावना बढेको भन्दै चौतर्फी विरोध भएको छ । उनले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहेर बस्न आग्रह समेत गरे ।
मन्त्रिपरिषदको निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिका लागि संसद बैठक आह्वान गरेकी छिन् ।