गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको २०२१-२०२३ कार्यकालको निर्वाचनमा देखिएको विवादका सन्दर्भमा असन्तुष्ट पक्षले अन्तराष्ट्रिय समन्वय परिषदमा गरेको आवेदनमा उल्लेखित भाषाप्रति नेपाल पत्रकार महासंघ जापानले ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका अध्यक्ष मोहन घलेद्वारा शुक्रवार एक विज्ञप्ति प्रकाशित गर्दै संचार माध्यममा प्रकाशित समाचारको विषयलाई लिएर संचार माध्यम र पत्रकारका विषयमा उल्लेखित शब्दप्रति जापान शाखाको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा संचारमाध्यममा प्रकाशन भएका समाचारका विषयमा असहमति वा आपत्ति भएमा कानुनी बाटो मार्फ़त त्यसको समाधान खोज्न सकिने हुदाहुदै त्यसो नगरी एनआरएनए जापानको निर्वाचनमा निर्वाचित हुन नसकेको पक्षले आपत्तिजनक शब्द प्रयोग गरिनु उचित नभएको उल्लेख गरिएको छ ।
आपत्तिजनक शब्द प्रयोग गरिनु निन्दनीय र प्रेस विरोधी कार्य भएकोले यस्ता गतिविधि नदोहोरयाउन र क्षमायाचना गर्नको लागि सम्बन्धित पक्षलाई आग्रह समेत गरिएको छ ।
एनआरएनए जापानको जुलाई ३० मा सम्पन्न निर्वाचनमा असन्तुष्ट पक्षले केही संचार माध्यममा प्रकाशित समाचारको विषय र एनआरएनएको रकम सुरक्षित रहेको जानकारी दिन र निर्वाचन धाँधलीपूर्ण भएको भन्दै आईसीसीलाई आवश्यक निर्णय लिन अनुरोध गर्दै लेखेको पत्रमा ‘समाजको कलंक’ शब्द प्रयोग गरिएकोमा महासंघले आपत्ति जनाएको हो ।