
एक कार्यकालमा करिब १ करोड २६ लाख येनको सामाजिक परिचालन, दर्जनौँ अभियानमार्फत प्रवासी नेपाली समुदायमा छुट्टै पहिचान
जापान। जापानमा क्रियाशील सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखा ले आफ्नो कार्यकालमा खेलकुद, शिक्षा, सामाजिक सेवा, मानवीय सहायता तथा संस्थागत विकासका क्षेत्रमा सञ्चालन गरेका बहुआयामिक अभियानले प्रवासी नेपाली समुदायमा संस्थाको छुट्टै पहिचान स्थापित गरेको छ।
संस्थाका निवर्तमान अध्यक्ष नारायण थापा का अनुसार कार्यकालभर संस्थाले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै खेलकुदको विकास, विपद् तथा दुःखमा परेका नेपालीहरूको सहयोग, शैक्षिक उन्नयन, अन्तरसंस्थागत सहकार्य तथा पारदर्शी संस्थागत व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको हो।

उनका अनुसार, “घुम्टे युवा परिवार जापान केवल एउटा सामाजिक संस्था होइन, संकटमा साथ दिने, युवालाई खेलकुदमा प्रेरित गर्ने, शिक्षालाई सहयोग गर्ने र नेपाली समुदायलाई एकताबद्ध बनाउने साझा अभियान बनेको छ।”
आर्थिक प्रतिवेदनअनुसार कार्यकालमा संस्थाले १२,६४६,५६९ येन बराबरको आर्थिक परिचालन गर्दै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद तथा मानवीय कार्यक्रम सञ्चालन गरेको छ।

खेलकुद : जापानमा नेपाली भलिबलको सशक्त पहिचान
जापानमा आयोजित विभिन्न भलिबल प्रतियोगिताहरूमा घुम्टे युवा परिवार जापानले उच्च सक्रियता र उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ:
जापानमा हुने अन्य भलिबल प्रतियोगिताभन्दा निकै पृथक र व्यवस्थित तबरबाट संस्थाले प्रतिष्ठित तेस्रो र चौथो सिल्भर रनिङ कप खुला पुरुष भलिबल प्रतियोगिता को भव्य आयोजना सम्पन्न गरेको छ।
गल्कोट स्पोटर्स क्लब, पर्वत समाज, बोहोराफाट समाज, ताराखोला समाज, बागलुङ समाज तथा टाइगर कप लगायत विभिन्न संघसंस्थाद्वारा आयोजित प्रतियोगिताहरूमा सक्रिय सहभागिता जनाई धेरै प्रतिस्पर्धामा विजेता तथा उपविजेताको उपाधि हात पार्न सफल भएको छ।
प्रवासमा रहेका खेलाडीहरूको हौसला वृद्धि गर्न र खेलकुदको माध्यमबाट युवाहरूमा अनुशासन कायम राख्न विभिन्न चरणमा खेलाडी तथा विजेताहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल र सम्मान प्रदान गरिएको छ।

त्यसैगरी संस्थाले गल्कोट कप, फुकुओका भलिबल प्रतियोगिता, पर्वत समाज जापान कप, ताराखोला समाज जापान प्रतियोगिता, बागलुङ समाज जापान कप, बोहरेफाँट समाज जापान प्रतियोगिता, गल्कोट स्पोर्ट्स क्लब प्रतियोगिता, टाइगर कप, पिरो स्पोर्ट्स क्लब प्रतियोगिता तथा ३ ए साइड (3 A Side) भलिबल प्रतियोगिता लगायतका विभिन्न प्रतियोगितामा सक्रिय सहभागिता जनाउँदै उपाधि र उपविजेता स्थान हासिल गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले जापानमा नेपाली समुदायबीच खेलकुद संस्कृतिको विकास, युवामा अनुशासन र नेतृत्व विकास तथा राष्ट्रिय खेल भलिबलको प्रवर्द्धनमा संस्थाले महत्वपूर्ण योगदान दिएको उल्लेख गरेको छ।

सामाजिक सेवामा सहकार्यको संस्कृति
संस्थाले सामाजिक सेवामा पनि उल्लेखनीय सक्रियता देखाएको छ। होली पूर्णिमा विशेष कार्यक्रम, विभिन्न सामाजिक तथा सांस्कृतिक समारोह तथा जापानमा रहेका नेपाली संघ–संस्थासँगको सहकार्यलाई संस्थाले प्राथमिकतामा राखेको थियो।
प्रतिवेदनअनुसार संस्थाले नेपाल कल्याण समाज जापान, पर्वत समाज जापान, बोहरेफाँट समाज जापान, बागलुङ समाज जापान, ताराखोला समाज जापान, गल्कोट समाज जापान, गल्कोट स्पोर्ट्स क्लब, FNJ Japan लगायतका विभिन्न संस्थासँग सहकार्य र सहभागिता जनाएको छ।

निवर्तमान अध्यक्ष थापाका अनुसार, “सहकार्यको संस्कृति नै संस्थाको सबैभन्दा ठूलो शक्ति हो। एउटा संस्थाले मात्र होइन, सबै संस्था मिलेर समुदायको विकास सम्भव हुन्छ।”
मानवीय सेवामा राहत अभियानहरूको निरन्तरता
घुम्टे युवा परिवार जापानले आफ्नो कार्यकालमा विभिन्न मानवीय अभियान सञ्चालन गरेको जनाएको छ। प्रतिवेदनअनुसार संस्थाले सञ्चालन गरेका प्रमुख मानवीय अभियानहरूमा लाल बहादुर सहयोग अभियान (रु. ९४,१००), कमला खत्री सहयोग अभियान (रु. २००,५५१), आत्माराम मरासिनी सहयोग अभियान (रु. १९८,५६०), श्याम खत्री सहयोग अभियान (रु. ७२३,९००) र जंग बहादुर चोखाल सहयोग अभियान (रु. १९३,०००) जस्ता विभिन्न मानवीय राहत अभियानहरूको नेतृत्व गर्दै रकम संकलन गरी पीडित परिवारहरूलाई हस्तान्तरण गरिएको छ।
यी अभियानमार्फत रोग, दुर्घटना, प्राकृतिक विपद् तथा अन्य समस्यामा परेका नेपाली परिवारका लागि आर्थिक सहयोग सङ्कलन गरी हस्तान्तरण गरिएको उल्लेख छ। यसका साथै जापान तथा नेपालमा निधन भएका नेपालीप्रति संस्थागत समवेदना व्यक्त गर्ने, परिवारलाई प्रत्यक्ष भेटेर सहयोग गर्ने तथा आवश्यक परामर्श प्रदान गर्ने कार्यलाई पनि निरन्तरता दिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
शिक्षामा ‘अक्षयकोष अभियान’
शिक्षा क्षेत्रलाई पनि संस्थाले प्राथमिकतामा राखेको छ।प्रतिवेदनअनुसार बागलुङ जिल्ला, गल्कोट नगरपालिका–७ मा रहेका केहि विद्यालय मा अक्षयकोष निर्माण अभियान सञ्चालन गर्दै २ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ। उक्त अभियानमार्फत विद्यालयको शैक्षिक वातावरण सुधार, विद्यार्थीको प्रतिभा विकास तथा गुणस्तरीय शिक्षामा योगदान पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ। थापाले शिक्षा क्षेत्रमा गरिने लगानी नै दीर्घकालीन सामाजिक परिवर्तनको आधार हुने विश्वास व्यक्त गरे।

डिजिटल सेवा : निःशुल्क प्रविधि सहयोग
संस्थाले सूचना प्रवाहलाई आधुनिक र प्रभावकारी बनाउन डिजिटल माध्यमलाई पनि प्राथमिकता दिएको थियो। प्रतिवेदनअनुसार विभिन्न कार्यक्रमका पोस्टर, बधाई, शुभकामना, समवेदना, सूचना तथा प्रचार–प्रसार सामग्री, साथै सम्पूर्ण डिजाइन तथा डिजिटल कार्यसम्पादन निःशुल्क रूपमा सम्पन्न गरिएको थियो। यसले संस्थाको आर्थिक भार घटाउनुका साथै सूचना प्रवाहलाई थप प्रभावकारी बनाएको प्रतिवेदनमा उल्लेख छ।
पारदर्शी आर्थिक व्यवस्थापन
संस्थाले आफ्नो कार्यकालमा आर्थिक अनुशासन र पारदर्शितालाई उच्च प्राथमिकता दिएको जनाएको छ। सदस्य शुल्क, सहयोग रकम, खेलकुद प्रतियोगिताबाट प्राप्त पुरस्कार तथा विभिन्न सामाजिक कार्यक्रमबाट प्राप्त आयलाई संस्थागत उद्देश्यअनुसार परिचालन गरिएको प्रतिवेदनमा उल्लेख छ। कुल १२.६४ मिलियन येनभन्दा बढीको आर्थिक कारोबार संस्थागत निर्णय र विधिअनुसार सञ्चालन गरिएको प्रतिवेदनले देखाउँछ।
“समाजका लागि संस्था” भन्ने अभियानलाई निरन्तरता
निवर्तमान अध्यक्ष नारायण थापाले आफ्नो कार्यकाललाई उपलब्धिमूलक बनाउनुमा सम्पूर्ण कार्यसमिति, सल्लाहकार, सदस्य, शुभेच्छुक तथा जापानस्थित नेपाली समुदायको साथ र विश्वास मुख्य आधार रहेको बताए।
उनले आगामी नेतृत्वलाई पनि सामाजिक उत्तरदायित्व, खेलकुद विकास, शिक्षा सहयोग, मानवीय सेवा र संस्थागत पारदर्शितालाई निरन्तरता दिन आग्रह गर्दै घुम्टे युवा परिवार जापान आगामी दिनमा पनि समुदायको साझा संस्थाका रूपमा अझ प्रभावकारी ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे।
निवर्तमान अध्यक्ष थापा र सचिव प्रकाश केसीले संस्थाको कार्यकाललाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक, नैतिक र भौतिक सहयोग पुर्याउने सम्पूर्ण सल्लाहकारज्यूहरू, कार्यसमितिका पदाधिकारीहरू, सदस्यहरू, दानी महानुभावहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। पारदर्शी र उत्तरदायी व्यवस्थापनमार्फत आगामी दिनमा पनि परनिर्भरतामुखी समाजसेवाको शैलीलाई परिवर्तन गर्दै दिगो सामाजिक सेवातर्फ अघि बढ्ने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ।



