
जापानमा विगत ५ वर्षदेखि निरन्तर सेवा दिँदै आएको ‘रेड बड ट्राभल्स’ ले अब नेपालमा पनि आफ्नो शाखा (ब्रान्च) विस्तार गरेको छ। काठमाडौँको कान्तिपथबाट औपचारिक रूपमा सेवा सुरु गरिएको यस ट्राभल्समार्फत अब स्वदेशी तथा विदेशी नागरिकहरूलाई सहज रूपमा ट्राभल्स तथा पर्यटनसम्बन्धी सेवा उपलब्ध हुनेछ।
रेड बड ट्राभल्सका सिइओ नारायण रिमालका अनुसार कान्तिपथस्थित नयाँ शाखाबाट जापान, इन्डोनेसिया, माल्दिभ्स, युएई, भियतनाम, थाइल्याण्ड, युरोप लगायतका विभिन्न देशहरू घुम्नका लागि टुर प्याकेजिङको व्यवस्था मिलाइएको छ भने संसारभरका लागि एयर टिकेटिङ (हवाई टिकट बुकिङ) सेवा पनि उपलब्ध गराइएको छ। कम्पनीले मुख्यतया एयर टिकट र ट्राभल्स प्याकेजसँग सम्बन्धित सेवाहरू प्रदान गर्दै आएको छ।
अन्तर्राष्ट्रिय बजारमा विस्तार र आगामी योजना
जापान र नेपालबाहेक अस्ट्रेलियामा समेत आफ्नो सेवा सुरु गरिसकेको यस कम्पनीले यसै वर्षभित्र युएई र स्पेनमा पनि शाखा विस्तार गर्ने महत्त्वाकाङ्क्षी योजना बनाएको छ। सिइओ रिमालका अनुसार हाल जापानबाट युरोप, मलेसिया, सिंगापुर, इन्डोनेसिया र भियतनाम लगायतका देशका लागि नियमित रूपमा टुर प्याकेजहरू सञ्चालन भइरहेका छन्।
साथै, जापानमा रहेका जापानी पर्यटकहरूलाई नेपाल भित्र्याउने उद्देश्यले आवश्यक पर्ने आधिकारिक लाइसेन्सको प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो। नेपालीहरूको बाक्लो बसोबास रहेका विश्वका विभिन्न प्रमुख देशहरूमा लगातार शाखा विस्तार गर्दै लैजाने कम्पनीको मुख्य रणनीति रहेको छ।



