जापानमा ‘पाँचौँ सिल्भर रनिङ कप’ अक्टोबर ८ मा, घुम्टे युवा परिवारले नेपाली भलिबल प्रतियोगितालाई निरन्तरता दिँदै

-


     दिनेश थापा    
     भाद्र १० गते २०८३


टोकियो, जापान। जापानमा नेपाली भलिबलको निरन्तरता, संरक्षण र प्रवर्द्धनमा सक्रिय घुम्टे युवा परिवार जापानले आगामी अक्टोबर ८ तारिख बिहीबारपाँचौँ सिल्भर रनिङ कप खुला पुरुष भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ।

प्रतियोगिता इबाराकी प्रान्तको उशिकुस्थित USHIKU SPORTS PARK GYMNASIUM मा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान” भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापित घुम्टे युवा परिवार जापानले प्रवासमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबललाई जीवित राख्ने, नेपाली खेलाडीलाई नियमित प्रतिस्पर्धामा सक्रिय बनाउने र खेलकुदमार्फत युवालाई सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने उद्देश्यले प्रतियोगिताको पाँचौँ संस्करण आयोजना गर्न लागेको हो।

संस्थाकी अध्यक्ष कल्पना खड्काले सिल्भर रनिङ कपलाई संस्थाको नियमित खेलकुद अभियानका रूपमा स्थापित गर्ने प्रयास भइरहेको बताइन्। “भलिबल केवल प्रतियोगिता होइन, युवालाई जोड्ने माध्यम पनि हो,” अध्यक्ष खड्काले भनिन्।

उनका अनुसार संस्थाले खेलकुदमार्फत युवामा अनुशासन, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न चाहेको छ।

पाँचौँ संस्करणसम्मको निरन्तर यात्रा

घुम्टे युवा परिवार जापानले यसअघि सिल्भर रनिङ कपका विभिन्न संस्करण सफलतापूर्वक आयोजना गरिसकेको छ। यससँगै जापानमा नेपाली संघसंस्था तथा खेलकुद क्लबहरूले आयोजना गर्ने विभिन्न भलिबल प्रतियोगितामा संस्थाले सक्रिय सहभागिता जनाउँदै उपाधिसमेत हासिल गरेको छ।

यस निरन्तरताले घुम्टे युवा परिवार जापानलाई सामाजिक संस्थासँगै नेपाली भलिबलको प्रवर्द्धनमा सक्रिय खेलकुद संस्थाका रूपमा समेत स्थापित गरेको छ।

अघिल्ला प्रतियोगिताबाट प्राप्त अनुभवलाई पाँचौँ संस्करणमा थप व्यवस्थित रूपमा उपयोग गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।

संस्थाका सचिव प्रकाश थापाले प्रतियोगितामा जापानभर क्रियाशील नेपाली संघसंस्था तथा खेलकुद क्लबहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको बताए। “यसपटक प्रतियोगितालाई अझ व्यवस्थित र नमुनायोग्य बनाउने तयारीमा छौँ,” उनले भने।

उनले जापानमा नेपाली भलिबलको विकास र निरन्तरताका लागि सम्पूर्ण खेलाडी, क्लब तथा सामाजिक संघसंस्थालाई सहभागिताका लागि आग्रह गरेका छन्।

खेलकुदसँगै सामाजिक एकताको अभियान

घुम्टे युवा परिवार जापानले खेलकुदलाई केवल प्रतिस्पर्धासँग सीमित नराखी प्रवासी नेपाली समुदायबीच एकता, भाइचारा र सामाजिक सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा लिएको छ।

संस्थाले अघिल्ला वर्षहरूमा जापानमा आयोजना हुने विभिन्न नेपाली भलिबल प्रतियोगितामा सक्रिय सहभागिता जनाउँदै खेलाडीलाई अवसर उपलब्ध गराउनुका साथै खेलकुद संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

प्रतियोगिताका कार्यक्रम संयोजक मनोज केसीका अनुसार पाँचौँ संस्करणलाई खेलाडीमैत्री, अनुशासित र प्राविधिक रूपमा व्यवस्थित बनाउन आवश्यक तयारी अघि बढाइएको छ। “हाम्रो लक्ष्य एउटा राम्रो प्रतियोगिता मात्र होइन, सबैले उदाहरण दिन सक्ने प्रतियोगिता बनाउनु हो,” केसीले भने।

पुरस्कार र टाइसिट पछि सार्वजनिक हुने

आयोजकका अनुसार प्रतियोगिताको पुरस्कार राशि, विधागत पुरस्कार, टाइसिट तथा अन्य प्राविधिक विवरण भने केही समयपछि सार्वजनिक गरिनेछ।

घुम्टे युवा परिवार जापानले प्रतियोगितालाई सफल बनाउन जापानस्थित सम्पूर्ण नेपाली समुदाय, सामाजिक संघसंस्था, खेलकुद क्लब, खेलाडी तथा खेलप्रेमीहरूलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

पाँचौँ संस्करणसम्म आइपुगेको सिल्भर रनिङ कपलाई संस्थाले जापानमा नेपाली भलिबलको निरन्तरता, युवा सहभागिता र सामाजिक एकतालाई जोड्ने एउटा स्थायी खेलकुद अभियानका रूपमा अघि बढाउने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?