नेपालले हरायो अमेरिकालाई, कुशल र रोहितको अर्धशतक!

-


     जनहित न्युज    
     भाद्र २९ गते २०७८


परिपक्‍व ब्याटिङ गर्दै नेपालले बलियो प्रतिस्पर्धी अमेरिकालाई हराएको छ । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो । 

ओमानमा सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित  गरेको हो। अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको लागि रोहित पौडेल (नटआउट ६२ रन) र विनोद भण्डारीले (३७ रन) ८३ रनको साझेदारी गरे । यसअघि १४५ रन बनाउँदा नेपालले चार विकेट गुमाएपनि पौडेल र भण्डारीले शानदार ब्याटिङ गरेसँगै नेपालले खेलमा पकड कायम राख्न सक्यो । खेल जित्न दुई रन बाँकी हुँदा भण्डारी आउट भएपनि रोहितले विजयी रन प्रहार गरे ।  रोहितले नटआउट ६२ रन बनाउने क्रममा ८७ बलमा ३ छक्का र दुई चौका प्रहार गरे ।

पहिलो एकदिवसीय अर्धशतक प्रहार गरेका ओपनर कुशलले ८४ रनको योगदान दिए। अर्का ओपनर आसिफ शेखले २३ रन जोडे। आसिफ र कुशलबीच पहिलो विकेटका लागि ६६ रनको साझेदारी भएको थियो। एकदिवसीय खेलमा यो नेपालको कीर्तिमानी साझेदारी हो।

कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाएर आउट हुँदा कुशल मल्लले १ रनमै पेभिलियन फर्के।

बलिङतर्फ अमेरिकाका निसर्ग पटेल र नसथश केन्जिजले समान दुई विकेट लिए भने सौरभ नेत्रवाल्करले एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर २३० रन बनायो ।

ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा मोनांकले ११४ बल खेल्दै १०० रन बनाएका हुन् । यस्तै निसर्ग पटेलले २१ रन बनाए भने सुशान्त मोदानी र करिमा गोरेले समान १६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि बिक्रम सोब, सन्दीप लामिछाने र सुशान भारीले समान दुई/दुई विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट लिए । दुई अमेरिकी खेलाडी रनआउट भए ।

यही प्रतियोगिता अन्तर्गतको नेपालले मंगलबार आयोजक ओमानसँग खेल्ने तय छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?