जापानमा नेपाली उत्पादन विस्तार गर्दै ‘आन्भी मार्केटप्लेस’ 

-


     जनहित न्युज    
     फागुन ५ गते २०७८


इन्टरनेटको व्यापकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारीकरण खोजिरहेका छन्।अस्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान जस्ता देशहरुमा अहिले प्रशस्तै नेपाली उत्पादनहरु विस्तार गर्ने उद्यमीहरु भेट्न सकिन्छ। 

यसै क्रममा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका आईटी तथा साइबर सेक्युरिटी क्षेत्रमा क्रियाशील युवा पवन थापा र सामाजिक अभियानमा सक्रिय रहेका कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाको एउटा प्रयासले सयौ नेपाली कृषि उद्यमीहरुलाई जोड्नेछ। नेपाली समुदायको लागि केही नयाँ गर्ने हुटहुटीले जन्माएको इ–कमर्स प्लाटफर्म हो,आन्भी मार्केटप्लेस।

आन्भी मार्केटप्लेस यहि १७ फेब्रअरीमा सार्वजनिक भएको छ । जापानमा बस्ने नेपालीहरुलाई लक्षित गर्दै विश्वबजारमा स्वदेशी उत्पादनहरु प्रवद्धन तथा बिक्री गर्ने उदेश्य सहित आन्भी मार्केटप्लेसको सुरुवात भइरहेको प्रमुख कार्यकारी अधिकृत पवन थापाले बताए । 

आइटीको काम बाटै राम्रो आम्दानी गरिरहेको भएपनि थापाको स्टार्टअपप्रतिको मोहले तानेको यो प्लाटफर्ममा जापानिज प्रतिष्ठित कम्पनीहरुसँग सहकार्य साथै टिपिकल नेपाली तथा इन्डियन रेस्टुरेन्ट व्यवसायमा संलग्न हरि सापकोटाले साथ दिएका छन् । 

यसमा मल्टिभेण्डर इकमर्श प्लाटफर्म भएकोले जो कोहिले सहजै आफ्ना प्रडक्टहरु बिक्री गर्न सक्नेछन्। यसको लागि भेण्डरले कर्पोरेट डकुमेन्ट समावेश गरी रजिस्ट्रर गर्नुपर्ने हुन्छ ।
यस प्लाटफर्ममा जापानमा सञ्चालनमा आएका विशेषतः खाद्य पसल र रेस्टुरेन्टहरुलाई आवश्यक सम्पूर्ण गुणस्तरीय प्रडक्टहरु सस्तो र सुलभ रुपमा उपलब्ध गराउने लक्ष्य लिएर अगाडी बडिरहेको थापाले जानकारी दिएका छन्। 

कम्पनीले आन्भी मार्केटप्लेस सार्वजनिक गर्ने अवसरमा पहिलो अर्डरमा २० प्रतिशत र जापानको डिजिटल पेमेन्ट सेवा ‘ पेपे’ मार्फत भुक्तानी गरेको खण्डमा १० प्रतिशत क्यासब्याक उपलब्ध गराउने जनाएको छ। 

ग्राहकले सामान खरिद र रिफरल प्रोग्रामको आधारमा रिवार्ड पोइन्ट प्राप्त गर्नेछन्। उक्त पोइन्टलाई ग्राहकले रिडीम गरी नेपालमा रहेका आफन्तहरुलाई गिफ्ट पठाउन, मोवाइलमा टपअप गर्न तथा स्टोरमै सामान खरिद गर्दा प्रयोग गर्न सकिने सुविधा दिएको छ। 

सुरुवाती चरणमा जापानको योकोहामा सहरमा होलसेल र रिटेल सुरु गरिएको निर्देशक हरि सापकोटाले बताए । अनलाइन इकमर्शसँगै गुणस्तरिय र समयमा नै सेवा विस्तार गर्न वेयरहाउस सञ्चालनको लागि पनि काम भइरहेको उनले जानकारी दिए ।

जापानमा करीब एक लाख नेपालीहरु बसोबास गर्दै आइरहेका छन भने नेपाली उत्पादनहरु मन पराउनेको संख्या पनि उल्लेखनीय छ। यो अवसरलाइ उद्यमशीलतामा जोड्दै नेपालीहरुकै लागि पनि रोजगारी सिर्जना गर्नेगरि यो समुहले काम गरिरहेको छ । 

नेपाली ग्रोसरीसँगै कम्पनीले नेपाली लत्ताकपडा र पुस्तकहरु पनि मार्केटप्लेसमा समावेश गर्ने छ। अर्डर गरेको सोहि दिन योकोहामा एरियामा डेलिभरी सुविधा दिने गरी कम्पनीले काम गरिरहेको छ। अहिले योकोहामा सहरभित्र अनलाइन अर्डर गर्दा डेलिभरी शुल्क पनि लाग्दैन। वेबसाइट दुई महिनासम्म बेटा भर्सनमा सार्वजनिक हुनेछ र आवश्यक्ता अनुसार परिमाजर्नन र परिस्कृत गर्दै लैजाने कम्पनीले सार्वजनिक गरेको डकुमेन्टमा उल्लेख गरिएको छ। 

झण्डै ५ करोड लगानीमा सुरु भएको आन्भी मार्केटप्लेस केहि नया स्वाद पस्किनेगरी आफ्नो सेवा विस्तारमा लागिपरेको छ । नेपालका स्वदेशी उत्पादन, ग्रोसरी तथा लुगाहरुलाई विदेशी बजारमा विस्तार गर्न लागिरहेको कम्पनीले भेण्डरको लागि आकर्षक सुविधा र अफरहरु पनि दिने जनाएको छ । 

नेपाली उद्यमीलाइ जापानको बजारमा आफ्ना प्रडक्ट विस्तार गर्न यो एक महत्वपुर्ण अवसर पनि हुनसक्छ । नेपालमा उत्पादित उत्कृष्ट खाद्य, पेय र अन्य सामाग्रीहरु जापान पुर्याउन पनि आफुहरुको मुख्य उद्देश्य रहेको निर्देशक सापकोटाको भनाई छ । 

नेपालबाट दर्जनौ उद्यमीहरुले आफ्नो उत्पादन बिक्रीको लागि यस प्लाटफर्ममा जोडिने क्रम बढिरहेको उनले बताए । जापानमा पेपे लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेको प्रयोग गरी सामान खरिद गर्न सकिनेछ।नेपालखबरको सहयोगमा यो समाचार तयार पारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?