
जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले आगामी जुन १६ मा हाकोनेमा भव्य मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
नेपाल कल्याण समाज जापानको आयोजनामा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय क्षेत्र हाकोनेमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सो प्रतियोगिता हुन लागेको हो। आयोजक समितिका अध्यक्ष विष्णु शर्माका अनुसार खेलमार्फत नेपाली युवाहरूलाई एकताबद्ध गर्नु, पर्यटन प्रवर्द्धन गर्नु र समुदायबीचको आपसी सम्बन्ध सुदृढ बनाउनु यसको मुख्य उद्देश्य हो। कार्यक्रम संयोजक मनोज केसीले तयारी तीव्र गतिमा भइरहेको जानकारी दिँदै जापानभरका नेपालीलाई उपस्थितिका लागि आग्रह गर्नुभएको छ। प्रतियोगितालाई सामाजिक सद्भाव र भाइचारा बढाउने साझा अभियानका रूपमा लिइएको छ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ११ हजार १ सय ११ येन र उपविजेताले २ लाख ११ हजार १ सय ११ येन सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै विभिन्न विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पनि नगद र ट्रफी प्रदान गरिनेछ। संस्थाका संस्थापक अध्यक्ष केशव सुबेदी, संस्थापक संरक्षक जोयबहादुर खड्का र निवर्तमान अध्यक्ष सुवर्ण भट्ट लगायतका अग्रजहरूले कार्यक्रमको सफलताको शुभकामना दिनुभएको छ।
प्रतियोगिता सफल पार्न वरिष्ठ उपाध्यक्ष कासीराम भण्डारी, उपाध्यक्षहरू कृष्णप्रसाद खरेल र मेघराज सापकोटा, महासचिव खेमलाल सापकोटा (राजु), कोषाध्यक्ष भीमलाल ढकाल तथा सदस्यहरू विनोद बि.सी., प्रभु अधिकारीसहितको टोली सक्रियतापूर्वक जुटेको छ। एनआरएनए जापान र विभिन्न नेपाली सामाजिक संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहने यस कार्यक्रमलाई एकता, उत्साह र नेपालीपनको महाउत्सवका रूपमा हेरिएको छ।



