नेपाली दर्शकले कतार विश्वकप हेर्ने बाटो खुल्यो,विश्वकप फुटबल हेर्न शुल्क तिर्नुपर्ने

-


     जनहित न्युज    
     कार्तिक ३० गते २०७९


नेपाली दर्शकहरुले फिफा विश्वकप २०२२ को प्रत्यक्ष प्रशारण हेर्ने बाटो खुलेको छ।

सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि ‘अतिरिक्त शुल्क’ लिने व्यवस्थालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विश्वकप प्रशारणमा अन्योलमा परेको थियो। आज  प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने फैसला गरेको छ। यससँगै अब नेपाली दर्शकहरुले विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न पाउने भएका छन्।   

फिफा विश्वकप २०२२ सुरु हुन ४ मात्रै बाँकी छ। कतारमा आयोजना हुने फुटबलको महाकुम्भको प्रत्यक्ष प्रशारणलाई विश्वभर प्राथमिकता दिइन्छ। तर, नेपाली दर्शकले नेपालमा विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न पाउने/नपाउने निश्चित भएको थिएन। सर्वोच्च अदालतको अल्पकालिन आदेश विरुद्ध नेपालमा प्रशारण अधिकार लिएको मिडिया हबले सर्वोच्च अदालतमा भ्याकेट निवेदन दिएको थियो। विश्वकप नजिकिँदै जाँदा अदालतको आदेशका कारण विश्वकप प्रशारणको सबै तयारी अहिले यथास्थितिमै रोकिएको मिडिया हबले जनाएको  थियो। साथै विश्वकपको प्रशारण लगभग नहुने अवस्था सिर्जना भएको समेत जनाइएको थियो।

सर्वोच्चको निर्णयसँगै अब मिडिया हबले शुल्क लिएर विश्वकप प्रशारण गर्न पाउने भएका छन्। विश्वकप प्रशारणका लागि मिडिया हबले हिमालय टेलिभिजनसँग सहमति गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?