
टोकियो — जापानमा ‘Business Manager’ (व्यवसाय सञ्चालन/व्यवस्थापन) भिसा लिएर बसिरहेका विदेशीमध्ये पुनःप्रवेश अनुमति नलिई जापान छाड्नेहरूको संख्या सन् २०२६ को पहिलो छ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै चार गुणाले बढेको सरकारी तथ्याङ्कले देखाएको छ।
यो तीव्र वृद्धि जापानले ‘Business Manager’ भिसाका सर्तहरू कडा बनाएको एक वर्ष पूरा हुनुअघि सार्वजनिक भएको हो। नयाँ सर्तअन्तर्गत व्यवसाय सुरु गर्न आवश्यक न्यूनतम पूँजी ५० लाख येनबाट बढाएर ३ करोड येन पुर्याइएको छ।
जापानको अध्यागमन सेवा निकायको तथ्याङ्कअनुसार सन् २०२५ को पहिलो छ महिनामा पुनःप्रवेश अनुमति नलिई जापान छाड्ने ‘Business Manager’ भिसाधारीको संख्या २४६ जना थियो। सन् २०२६ को सोही अवधिमा यो संख्या बढेर ९५३ जना पुगेको छ।
जापानको अध्यागमन व्यवस्थाअनुसार, विदेशी बासिन्दाले पुनःप्रवेश अनुमति नलिई जापान छाडेमा उनीहरूको विद्यमान बसोबास हैसियत (Status of Residence) समाप्त हुन्छ।
‘Business Manager’ भिसाले विदेशी नागरिकलाई जापानमा व्यवसाय स्थापना गर्न, सञ्चालन गर्न वा व्यवस्थापन गर्न अनुमति दिन्छ। सन् २०२५ को अन्त्यसम्म यस भिसामा बस्ने विदेशीको संख्या ४६,७८१ जना पुगेको थियो। यो सन् २०२० को अन्त्यको तुलनामा करिब १.७ गुणा हो।
तर केही व्यक्तिले वास्तविक व्यावसायिक गतिविधि नगरी केवल भिसा प्राप्त गर्ने उद्देश्यले कम्पनी स्थापना गरेको खुलासा भएपछि यो भिसा प्रणालीमाथि थप कडाइका साथ निगरानी सुरु गरिएको थियो।
कडा बनाइएका नयाँ सर्तअनुसार आवेदकले कम्तीमा एक जना पूर्णकालीन कर्मचारी नियुक्त गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
अध्यागमन सेवा निकायको तथ्याङ्कअनुसार पुनःप्रवेश अनुमति नलिई जापान छाड्नेको मासिक संख्या सन् २०२५ नोभेम्बरसम्म दुई अङ्कमै सीमित थियो। तर डिसेम्बरदेखि यो संख्या तीन अङ्कमा पुग्यो र सन् २०२६ जुनमा मात्रै २२६ जना पुगे।
यी परिवर्तनहरू जापानमा विदेशी बासिन्दासम्बन्धी नियमहरू थप कडा बनाउने व्यापक नीतिको हिस्सा हुन्। यसअन्तर्गत बसोबास हैसियतसम्बन्धी आवेदन शुल्क बढाउने जस्ता कदम पनि समावेश छन्।
स्रोत: KYODO



