
शिजुओका, जापान ।
जापानको शिजुओकामा गल्कोट समाज जापान, क्षेत्रीय समिति शिजुओका र स्याङ्जा समाज जापान, क्षेत्रीय समिति शिजुओकाको संयुक्त आयोजनामा भव्य रूपमा ‘तीज फेस्टिभल शिजुओका २०२६’ सम्पन्न भएको छ। नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजित यस कार्यक्रमलाई यसपटक सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिका साथै नेपालमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकहरूको सहयोग गर्ने मानवीय अभियानसँग जोडिएको थियो।
कार्यक्रमको औपचारिक सुरुवातअघि नेपालमा हालै आएको विनाशकारी बाढी तथा विपद्का कारण ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो। शोककन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाएपछि मात्र कार्यक्रमका औपचारिक चरणहरू अगाडि बढाइएको थियो।
गल्कोट समाज जापानका उपाध्यक्ष कृष्ण केसीको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा अर्जुनजंग बस्नेतले संयोजकको भूमिका निभाउनुभएको थियो। शिजुओका तथा आसपासका क्षेत्रहरूबाट कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय र उत्साहजनक सहभागिता रहेको थियो।
बाढीपीडितका लागि २ लाख २ हजार २२२ येन सहयोगको घोषणा
कार्यक्रमका अवसरमा बोल्दै गल्कोट समाज जापान, क्षेत्रीय समिति शिजुओकाका अध्यक्ष दिपक खत्रीले नेपालमा बाढी तथा विपद्बाट प्रभावित नागरिकहरूको राहतका लागि २ लाख २ हजार २२२ जापानी येन (¥202,222) सङ्कलन भएको जानकारी दिनुभयो। उक्त रकम नेपालस्थित ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा पठाइने उहाँले प्रष्ट पार्नुभयो।
अध्यक्ष खत्रीले प्रवासमा रहेर पनि मातृभूमिमा आइपरेको विपद्का बेला सहायता गर्नु आफ्नो सामाजिक दायित्व र मानवीय कर्तव्य भएको उल्लेख गर्दै भन्नुभयो, “तीज हाम्रो संस्कृति र पहिचानसँग जोडिएको पर्व हो। यसपटक यही अवसरलाई मातृभूमिमा परेको दुःखमा साथ दिने माध्यम बनाउन पाउँदा हामी खुसी छौं।”
त्यस्तै, स्याङ्जा समाज जापान, क्षेत्रीय समिति शिजुओकाका अध्यक्ष जीवन क्षेत्रीले नेपालमा बाढी तथा विपद्को विषम परिस्थिति सिर्जना भएपछि कार्यक्रमलाई निरन्तरता दिने वा स्थगित गर्ने विषयमा छलफल भए पनि लामो समयदेखि गरिएको तयारी र समुदायको बाक्लो सहभागितालाई मध्यनजर गर्दै यसलाई मानवीय सहयोगको रूपमा अघि बढाइएको बताए। विपद्को यस घडीमा कार्यक्रमलाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी पीडितहरूप्रतिको सद्भाव र सहयोगसँग जोडिएको उनको भनाइ थियो।
कार्यक्रममा सहभागी सम्पूर्ण नेपाली समुदायले तीज पर्वलाई आफ्नो परम्परागत संस्कृति अनुसार हर्षोल्लासका साथ मनाउँदै नेपालका बाढी तथा विपद् प्रभावितहरूप्रति बलियो ऐक्यबद्धता प्रकट गरेका छन्। आयोजक संस्थाहरूले प्रवासको व्यासबाट पनि मातृभूमिको दुःखमा हातेमालो गर्न पाउँदा यो तिज उत्सव अझ बढी अर्थपूर्ण बनेको बताएका छन्।



