नेपाल युएईसँग पराजित, दोस्रोपटक विश्वकप खेल्ने सपना अधुरो 

-


     जनहित न्युज    
     फागुन १० गते २०७८


यूएईसँग पराजित हुँदै नेपालको टी२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । टी२० विश्वकप छनोटको सेमिफाइनलमा नेपाल ६८ रनले पराजित भएको हो । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

नेपाललाई हराउँदै युएई भने छनोटको फाइनलमा प्रवेश गरेको छ । र, अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट भएको छ ।

युएईले फाइनलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन बनाउन सक्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन जोडे ।

विवेक यादव ८, कुशल भुर्तेल ७, जितेन्द्र मुखिया ५, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए ।

अविनाश बोहरा १ रनमा अविजित रहदा आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् ।

युएईका अहमेद राजाले ५ तथा जुनदे सिद्द्कीले ३ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे । जवार फारिदले ११ रन जोडे । रोहन मुस्तफा ९ रनमा अविजित रहदा अहमेद राजा ६ रनमा अविजित रहे ।

नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३/३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?