
अर्थव्यवस्थामा विश्वकै तेस्रो शक्तिशाली मुलुक जापानमा सन् २०२२ मा आत्महत्या गर्नेको संख्या अघिल्लो वर्षको तुलनामा बढेकोको सरकारी स्रोतहरूले बताएका छन ।
१३ वर्षपछि कै सबैभन्दा धेरै आत्महत्या भएको सन् २०२२ मा पुरुषको संख्या पहिलो पटक वृद्धि भएको प्रारम्भिक सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ।
जापानमा गतवर्ष आत्महत्या गर्नेको कुल संख्या २१ हजार ५८४ रहेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा ५७७ ले बढेको हो।आत्महत्या गरेर मृत्यु हुने पुरुषको संख्या सन् २०२१ मा भन्दा २०२२ मा ६०४ ले बढेर १४,५४३ पुगेको छ । कोभिड-१९ महामारीको समयमा विगतका केही वर्षदेखि यो संख्या बढिरहेको सरकारी स्रोतहरूले बताएको जापानी संचारमाध्यमले जनाएका छन ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार ४० देखि ६० वर्ष उमेरका पुरुषहरू साथै निवृत्ति भरण पाइरहेका र बेरोजगारहरूले बढि आत्महत्याको बाटो राजेको पाइन्छ ।ती अधिकारीका अनुसार प्रसिद्ध व्यक्तिहरूको आत्महत्याको बाटो रोजेकाले पनि यो संख्या बढ्नमा केहि असर गरेको हुन सक्छ।
प्रारम्भिक तथ्याङ्कले महिलाहरुद्वारा आत्महत्या गर्नेको संख्या सन् २०२१ मा भन्दा २७ ले घटेर ७ हजार ४१ रहेको देखाएको छ । तर यो अझै पनि कोभिड-१९ को महामारी पहिलेको संख्याका तुलनामा करिब १ हजार बढी रहेको छ। प्रत्येक वर्ष मार्चमा जारी हुने अन्तिम तथ्याङ्कले प्रारम्भिक तथ्यांकमा केहि फेरबदल भने आउने गरेको देखिन्छ।
२०१९ सम्म आइपुग्दा लगातार १० वर्षसम्म आत्महत्याको संख्या घट्दै गई २० हजार १६९ रहेकोमा सन् २०२० मा महामारी सुरु भएदेखि यो संख्यामा उल्लेख्य वृद्धि भएको सरकारीतथ्यांकले देखाउदै आएका छन ।
२०२२ मा बेरोजगार भै आत्महत्या गर्नेको संख्या झण्डै दोब्बरले बढेर १ हजार ३८ पुगेको छ भने पेन्सन वा रोजगारीका फाइदाहरूबाट बाँचिरहेका व्यक्तिहरूमध्ये ७०५ बढेर ५ हजार ३४७ पुगेको छ।
सामान्य रूपमा स्वास्थ्य समस्याहरूलाई लिएर आत्महत्या गर्नेको संख्या ११ हजार १२५ थिए भने ४ हजार २१४ जनाले पारिवारिक समस्याहरू संकेत गर्दै आत्महत्या गरेका छन ।
“कमजोर येनको कारण मुद्रास्फीति र बिग्रँदै गएको अर्थतन्त्रले असर गरेको हुन सक्छ,” टोकियो युनिभर्सिटी अफ टेक्नोलोजीका स्वास्थ्य विज्ञानका प्राध्यापक र आत्महत्या रोकथामका विशेषज्ञ चियो इगाराशीले भने।
सानादेखि मध्यम आकारका कम्पनीहरूमा नर्स र पेशागत चिकित्सकको अभावलाई सम्बोधन गर्न आवश्यक रहेको उनको सुझाव छ ।
यसैबीच प्राथमिक,जुनियर हाई र हाई स्कूलका विद्यार्थीहरूको आत्महत्याको संख्या सन् २०२२ मा ३ ले घटेर ४ सय ४१ पुगेको छ ।
जापानमा आत्महत्या रोकथाम हटलाइन अङ्ग्रेजी भाषामा सहयोगका लागि
TELL जापान (अंग्रेजी): https://telljp.com/
टेलिफोन हटलाइन: ०३-५७७४-०९९२ (दैनिक)
अनलाइन च्याट: https://telljp.com/lifeline/tell-chat/
परामर्श सोधपुछ: ०३-४५५०-११४६ (सोम-शुक्र, बिहान ९ बजे देखि ८ बजे)



