माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो ।
साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । साफको इतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको हो ।
भारतले नेपाललाई तीन शून्यले पाखा लगाउँदै ८ औं पटक उपाधि उचाल्यो । फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर, दोस्रो हाफ सुरु भए लगत्तै भारतले ४६ औं र ४७ औं मिनेटमा लगातार दुई गोल गरेपछि नेपालको उपाधि उचाल्ने सपना तुहिएको थियो । भारतका लागि सुनील क्षेत्री र अनिरुद्ध थापाले गोल गरेका थिए । खेलको ९० औं मिनेटमा भारतले थप एक गोल गरेको थियो ।
खेलमा नेपालका तर्फबाट गोलका थुप्रै प्रयास भए पनि भारतीय किपरले बचाएका थिए ।
भारतका तर्फबाट दर्जनभन्दा बढी नेपालको पोस्टमा आक्रमण भएको थियो । नेपाली किपर किरण लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए । नेपाली डिफेण्डर रोहित चन्दले भारतीय आक्रमणलाई निस्तेज पारेपछि नेपाल थप गोल खानबाट जोगिएको थियो ।
नेपालले साफमा समूह चरणको खेलमा चार खेलमध्ये २ खेलमा जित हासिल गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।
दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा हालसम्म ५ पटकसम्म सेमिफाइनलमै रोकिएको थियो। यसपटक भने फाइनलमा नेपाल चुक्न पुग्यो।
साफमा भारत सर्वाधिक सफल टोली हो। योसँगै भारतले ८ पटक साफको उपाधि जितिसकेको छ।