इटहरी : नेपाली कांग्रेस प्रदेश १ को निर्वाचन परिणाम चित्त नबुझेको भन्दै निर्वाचन समितिमा निवेदन परेको छ। सभापतिका उम्मेदवार गुरुराज घिमिरेले पुनः मतगणनाको माग गर्दै निवेदन दिएका हुन्।
उद्धव थापासँग २ मतले पराजित भएपछि घिमिरेले पुनः मतगणना गर्नुपर्ने माग राखेका छन्। निर्वाचन परिणाममा हस्ताक्षर नगरी बाहिरिएका उनले मतगणना चित्त बुझ्दो नभएको बताएका छन्।
संस्थापन पक्षका थापासँग कोइराला पक्षका घिमिरे २ मतले पराजित भएका हुन्। कोइराला प्यानलबाट महामन्त्रीमा उमेश थापा बाहेक प्यानल नै पराजित भएको छ।
घिमिरे पराजित भएपछि नेता शेखर कोइरालाले माफी मागे
नेपाली कांग्रेसको एक नम्बर प्रदेश अधिवेशनमा सभापतिका उम्मेदवार गुरुराज घिमिरे पराजित भएपछि नेता शेखर कोइरालाले माफी मागेका छन्।
आफ्नै प्यानलका घिमिरे दुई मतले मात्रै पराजित भएपछि उनले सामाजिक सञ्जालमा लेख्दै माफी मागेका हुन्। उनले केन्द्रीय सदस्यहरुले प्रदेशको चुनावमा मतदान गर्न पाउने/नपाउने भन्नै अन्योलका कारण घिमिरेलाई मतदान गर्न नसकेको उल्लेख गरेका छन्।
उनले यस विषयमा स्पष्ट नभई प्रदेश अधिवेशनमा मतदान प्रक्रियामा सहभागी हुँदा भविष्यमा जटिलता आउन सक्ने पनि बताएका छन्।
‘कांग्रेस १४ औँ महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने/नपाउने विषय सुरुदेखि नै ‘संशय’ थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठानेँ। उनले ट्वीटरमा लेखेका छन् यसक्रममा मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।’
आज विहान सार्वजनिक मत परिणाम अनुसार घिमिरे संस्थापन पक्षका उद्धव थापासँग २ मतले पराजित भएका थिए। यद्यपी घिमिरेले पुन: मतगणनाको माग गरेका छन्।