कम्युनिस्ट पार्टी अफ चाइना स्थापित हुँदा आलोचना हुन्थ्यो, यो पार्टीको भविष्य सुखद हुनेछैन । आलोचकहरूको अनुमानलाई गलत सावित गर्दै यो पार्टी सय वर्षसम्म मात्रै टिकेन, विश्वकै शक्तिशाली पार्टी बन्यो । १ जुलाईमा यसले सयौँ जन्मजयन्ती मनाउँदै छ । दोस्रो शताब्दीतर्फ लम्कँदै गर्दा कम्युनिस्ट पार्टी चाइनाको आफ्नोबारे मानक छः शक्तिशाली, सही र गौरवशाली ।
जब सन् १९९१ मा सोभियत संघ भयो, अन्य थुप्रै शक्तिशाली कम्युनिस्ट पार्टीहरूको उत्पत्ति हुन सक्ने आकलन विद्वान्हरूले गरेका थिए । उनीहरू कसरी गलत सावित भए भन्नका निम्ति अमेरिकी राष्ट्रपति जो बाइडेनको यो भनाइ पर्याप्त छ । गत जून १३ मा भएको एक सम्मेलनमा बाइडेनले भनेका थिए, ‘चीनसँग मतभेद राख्ने अमेरिका मात्रै नभई विश्वकै प्रजातान्त्रिक मुलुकहरू कम्युनिस्ट शासन भएको चीनसँग प्रतिस्पर्धाको मामिलामा सन्देह व्यक्त गर्छन् ।’
जनताको चुनावी म्यान्डेटबिनै एउटै पार्टीले चीनमा ७२ वर्ष लामो शासन गरेको छ तर यो विश्व रेकर्ड भने होइन । रुसमा लेनिन र उनका उत्तराधिकारीले योभन्दा केही लामो समय शासन गरेका थिए । उत्तर कोरियाको वर्कर्स पार्टीको शासन पनि लामै छ । तर, विश्वको कुनै पनि तानाशाहले माओ त्सेतुङले झैँ रुपान्तरणमुखी शासन गरेका छैनन् । अनिकालबाट ग्रसित चीनलाई विश्व नै आश्चचर्यचकित हुनेगरी फड्को मार्ने जग उनैले निर्माण गरेका थिए । विकास र प्रविधिसँगै समृद्धिको मामिलामा चीनले विश्वकै महारथी अमेरिकालाई पनि माथ खुवाएको छ । पूर्वधारमा विकासमा फड्को मारेको चीनलाई अमेरिकासँग तुलना गर्दै चिनियाँहरू टिप्पणी गर्छन्, ‘पूर्वाधारमा चीनको फड्कोले महारथी भनिने अमेरिकाका सडक र रेल पनि शर्माउँछन् ।’
कम्युनिस्ट पार्टी चाइना विश्वकै सफल सर्वसत्तावादी शक्ति हो । सत्तामा आफ्नो पकड कायमै राख्न यो पार्टी तीन कारणले सफल छ । पहिलो क्रुरता, दोस्रो वैचारिक स्पष्टता, तेस्रो आफ्नो नीतिमा शून्य सहनशीलता ।
संवैधानिक शासन, स्वतन्त्रता र सुधारिएको अर्थ राजनीतिक व्यवस्थालगायतका माग राख्दै चिनियाँहरू आन्दोलित बनेका थिए । सन् १९८९ मा तियानमेन स्क्वायरमा भएको आन्दोलनमा कम्युनिस्ट पार्टी चाइनाको सत्ताले दमन गरेको थियो । विद्रोही स्वरहरूलाई बन्दुकको आडले बन्द गरिएको थियो । १० हजार मानिसको लासले चिनियाँ सत्ता कहिल्यै चिन्तित भएन । बरु राष्ट्रपति सी चिनफिङले सोभियत संघको विघटनप्रति चिन्ता व्यक्त गर्दै भनेका छन्, ‘इतिहासमा कम्युनिस्ट शासनको विरोधीहरूलाई तह लगाउने सामर्थ्य नहुँदा कम्युनिस्टको शान रहेको सोभियत संघ विघटित बन्यो ।’
कम्युनिस्ट पार्टी चाइनाले सय वर्षको यात्रा गर्नुको दोस्रो कारण हो वैचारिक स्पष्टता । चीनले आवश्कयताअनुसार विचार परिवर्तन गर्दा पनि यो पार्टी टिकेको हो । माओत्सेतुङको निधनपछि चीनमा देङ स्याओपिङले शासन गरे । उनले उत्पादनमा कम्युन प्रणालीलाई ध्वस्त पार्दै बजार निर्देशित अर्थव्यवस्था विस्तार गर्न थाले । पुँजीवादी व्यवस्थाको विरोध गर्ने चीनलेनै त्यसलाई अँगाल्दा माओ समर्थकहरूले देङ स्याओपिङको चर्को विरोध गरेका थिए । चीनको आर्थिक सम्पन्नतामा देङकाे यो देनलाई महत्त्वपूर्ण मानिन्छ ।
सीको नेतृत्वमा पार्टी माओकै रुढिवादीपथलाई केही रुपान्तरण गर्दै अघि बढेको देखिन्छ । सीले माओकै पथको अनुसरण गरेका छन् । विगतमा माओको विचारझैँ हाल कार्यकर्ताहरूले सी चिनफिङ विचारधारालाई मान्छन् । सीले चीनको कर्मचारीतन्त्रमा मौलाएको भ्रष्टाचारलाई मात्र होइन, सेना र प्रहरीलाई समेत तह लगाएका छन् । ठूला व्यवसाय पनि राज्यको नियन्त्रणमै छन् । उनले पार्टीको सञ्जाल तल्लो तहसम्म विस्तार गरेका छन् । निजी संस्थाहरूमा राज्यको निगरानीका लागि जासुस खटाएका छन् । माओको पालामा भन्दा सीको पालामा समाजमा कडा नियन्त्रण छ ।
यो पार्टीको विरासत यति लामो समयसम्म टिक्नुको अर्को कारण हो आफ्नो नीतिमा शून्य सहनशीलता । कम्युनिस्ट पार्टी चाइनाले सत्तासँग निकटहरूलाई मात्रै राज्यको स्रोत साधनको पहुँच हुन दिएन । भ्रष्टाचार केही बढेको थियो तर जनमानसले आफ्नो जीवनस्तर पनि उकासिएको महसुस गरेका थिए । भ्रष्टाचारप्रति चीन कठोर छ भने जनताको जीवनस्तर सुधारका लागि चीनले हरसम्भव प्रयत्न जारी राखेको छ । ग्रामीण क्षेत्रमा कर मिनाहा गर्दै उसले कल्याणकारी नीति अघि सारेको छ । स्वास्थ्य सेवामा सहुलियत र ग्रामीण इलाकाका मानिसलाई निवृत्तिभरणको व्यवस्था गरिएको छ । स्वतन्त्रताको सुविधा नपाए पनि चिनियाँले राज्यका यस्ता नीतिको प्रशंसा नै गर्छन् ।
स्थापनामै यो पार्टीको भविष्य सुखद नहुने आकलन गरिएको थियो, सय वर्षको इतिहास पार गर्दा चीनमा कम्युनिस्ट व्यवस्था ढल्ने अनुमान गरिएको छ । पश्चिमा अवलोकनकर्ताहरूले त्यसका लागि विविध कारण अघि सारेका छन् ।
आधुनिक अर्थव्यवस्थाले चीनको एकदलीयतन्त्र अब धेरै नसहने उनीहरूको बुझाइ छ । चीनको आर्थिक वृद्धिको वाष्पीकरण भएमा त्यसले आन्दोलन निम्त्याउने पश्चिमाहरूको मत छ । मध्यम वर्गीय चिनियाँ पुस्ताले विभिन्न देशमा पुगेर स्वतन्त्रताको अनुभव गरेकाले उनीहरू देशभित्रै स्वतन्त्रता खोज्दै आन्दोलन गर्न सक्ने उनीहरूको अनुमान छ । मुलुकभित्र कम्युनिस्ट पार्टी अफ चाइनको लोकप्रियताले भने उनीहरूको अनुमानलाई भने गिज्याइरहेको छ । चिनियाँहरू आफ्नो जीवनस्तरमा आएको सुधारको श्रेय पार्टीलाई नै दिन्छन् । युवा जनशक्तिले छिटो सेवा निवृत्त हुन चाहना राख्दा बुढा जनशक्तिहरू बढ्दै छन् । चीन सरकारका लागि यो पनि चुनौती छ । विविध चुनौतीका बीच चीनको आर्थिक वृद्धिदर भने अझै केही समय बढ्नेमा कुनै द्विविधा भने छैन ।
संकटको घडीमा पार्टीको दरिलो साथको चिनियाँहरू खुब प्रशंसा गर्छन् । कोरोना महामारी नियन्त्रणमा सत्ताको प्रयास र आर्थिक अवस्थालाई धरमराउन नदिन अपनाइएका उपायबारे चिनियाँहरू खुलेरै तारिफ गर्छन् । चीनको गौरव विश्वभर फैलिएको भन्दै नागरिकहरू मख्ख छन् । पार्टीले निर्धारण गरेको राष्ट्रवादको अवधारणामा चिनियाँ एकमत नै देखिन्छन् ।
राज्यको नीतिअनुसार चीन जनतालाई सूचित गर्न राज्य नियन्त्रित मिडिया उद्यत छन् । अमेरिकालाई दंगा र नरसंहारको मुलुकको रूपमा चित्रित गर्दै उनीहरू भन्छन्, ‘कम्युनिस्ट पार्टी चाइनाको एकदलीय शासन व्यवस्थाको विकल्प खोज्नु भनेको मुलुकमा अराजकतालाई प्रश्रय दिनु हो । जबजब असन्तुष्टिहरू देखा पर्न थाल्नेछन्, तब राष्ट्रपति सीले प्रविधिको माध्यमबाट त्यसलाई नियन्त्रण गर्छन् । अनुहार पहिचान गर्न सघाउने अत्याधुनिक सफ्टवेयरसहितका क्यामेरा चीनका गल्लीगल्लीमा छन् । सामाजिक सञ्जाल राज्यले नै सेन्सर गर्छ ।
राज्यको नीतिविरुद्ध लाग्ने नागरिकहरूलाई गतिलैसँग चीनले तह लगाउँछ । कम्युनिस्ट पार्टी अफ चाइनाको नीतिविपरीत विचार प्रवाह गर्ने नागरिकले काम मात्रै गुमाउँदैन, सबै स्वतन्त्रताबाट ऊ वञ्चित हुन्छ । पार्टीको नीतिविरुद्ध लाग्नेहरूप्रति क्रुरता र दमन भयानक छ । सत्तामा पकड जमाउन सफल जग दमन नै थियो । दमनका बाबजुद अहिले पनि यो पार्टीको सफलता उत्तिकै छ ।
सीलाई आफ्नै पार्टीभित्रबाट खतरा
सीलाई जनमानसबाट होइन, आफ्नै पार्टीभित्रबाट खतरा छ । सीका विविध प्रयासका बाबजुद कम्युनिस्ट पार्टी चाइना गुटबन्दी, गद्दारी र वैचारिक स्खलनबाट ग्रसित भइरहेको छ । सत्ता कब्जा गर्न खोजेको आरोपले केही प्रतिद्वन्दीहरूलाई जेल पठाइएको छ । विगतका दशकहरूमा भन्दा हाल चिनियाँ राजनीति अँध्यारोबाटोतर्फ अघि बढिरहेको छ । पार्टीको शुद्धीकरणको बहानामा सीले चालेका कदमहरूले पार्टीभित्र उनका दुस्मनहरू अझै लुप्त छन भन्ने महसुस गराउँछ । पार्टीभित्र कोही उत्तराधिकारी हुन खोज्दा सबैभन्दा बढी अस्थिरता निम्तन सक्ने अवस्था हुन्छ ।
६८ वर्षिया सीले चीनमा शासन गरेको ९ वर्ष भयो । तीन वर्षअघि नै उनले राष्ट्रपतिको शासन समयको अवधि उनले हटाइसके । सम्भवत: सन् २०२८ देखि २०३३ सालसम्म उनले नै शासन गर्न सक्छन् । उनीमाथि अहिले उठेको प्रश्न के हो भने हाल पार्टी महासचिव रहेका सी २०औँ महाधिवेशनमा माओझैँ अध्यक्षको पदवी ग्रहण गर्लान् वा नगर्लान् ?
उनका शासनबारे समर्थकहरू भन्छन्, ‘सही समयमा सही व्यक्तिबाट चीन शासित भयो ।’
चीनलाई सीले नयाँ युगमा प्रवेश गराएको उनीहरूको दाबी छ । ‘भोकमरी विभिन्न चुनौतीको सामना गर्दै चीन अघि बढ्यो । ती घटनाक्रमले चीनलाई मजबुत बनाउँदै विश्वकै शक्तिशाली राष्ट्रको स्थानमा पुर्यायो, यो निकै प्रेरणादायी छ,’ कम्युनिस्ट पार्टी अफ चाइनाका कार्यकर्ता डेभिड वाङ भन्छन् ।
अमेरिकाबाट विद्यावारिधि गरेपछि आफ्नो मुलुक फर्केर पार्टी सदस्यता लिएका उनी थप्छन्, ‘कम्युनिस्ट पार्टी चाइनाबाहेक अरु कुनै पार्टीले पनि मुलुकलाई यो अवस्थामा पुर्याउन सक्ने थिएनन् । हो, शासन पद्धतिमा केही न केही परिवर्तन चिनियाँले चाहेकै छन् तर यसको मतलब यो हाेइन कि उनीहरू पश्चिमा शैलीको प्रजातन्त्र चाहन्छन् ।’
सीले पार्टीको सशक्तीकरणमा अवरोध पुर्याएको भन्दै धेरै उनीसँग असन्तुष्ट छन् । पार्टीबारे सीको सिद्धान्त छ, ‘चारै दिशा चारै सुर पार्टी नै सबैको नेता हो ।’
माथिबाट तल शासित हुनुपर्ने सीको यो कठोर नीतिले ९२ मिलियन कार्यकर्ताबीच उदासीनता छाउने र यसले उनैलाई अप्ठ्यारोमा पार्ने जानकारहरूको मत छ । ‘पार्टीको नियन्त्रणले जीवनको हरेक पक्षलाई नियन्त्रणमा राख्छ । फरक मतहरूलाई स्थान नदिँदा पार्टीभित्र नियन्त्रण र सन्तुलनको अवस्था गुम्छ । यस्ता गल्तीले पार्टीलाई नै समाप्तिको दिशामा धकेल्छ,’सिन्ह्वा विश्वविद्यालय बेइजिङका प्राध्यापक हु चियाङ भन्छन् ।
सीलाई चीनको रुपान्तरणकारी नेताको रूपमा लिनेहरू पनि थुप्रै छन् । तर, उनीमाथि पार्टीभित्र सामूहिक नेतृत्वको प्रणाली ध्वस्त पारेको आरोप छ । ‘माओको असली उत्तराधिकारी आफू मात्रै रहेको साबित गर्न खोजिरहँदा उनले देङ स्याओपिङका देनलाई भुलेका छन् । माओको शासन शैली र व्यक्तित्वलाई मात्रै अनुसरण गर्दा उनले सामूहिक नेतृत्वको संस्कृति बिर्सिएका छन् । उनी व्यक्तिवादी भए,’ हङकङस्थित चाइनिज युनिभर्सिटीका प्राध्यापक विली भन्छन् ।
सीको नेतृत्वपछि पार्टी मजदुरको पार्टी नबनेको आरोप लगाउने पनि प्रशस्तै छन् । खैर, सीपछि को आउँछन् अहिलेसम्म कसैले मेसो पाउन सकेका छैनन् । सन् २०१८ मा राष्ट्रपतिको समयसीमा हटाउँदै सीले आजीवन शासन गर्न चाहेको सन्देश दिएका छन् । सीको यो निर्णयले पार्टीभित्र अस्थिरता निम्त्याउन सक्ने जोखिम छ ।
स्वतन्त्रताप्रेमी चिनियाँहरू के चाहना प्रकट गर्छन् भने, कुनै न कुनै विन्दुमा पुगेर कम्युनिस्ट पार्टी चाइनाको सर्वसत्तावादी शासन समाप्ति होस् । पार्टीभित्र जस्तोसुकै संकट आए पनि स्वतन्त्रताप्रेमी चिनियाँहरूको चाहना भने सजिलै पूरा हुन सक्ने अवस्था भने देखिँदैन । कम्युनिस्ट पार्टी चाइनाका कार्यकर्ता वाङ भन्छन्, ‘चिनियाँ जनताले चाहेको जस्तो स्वतन्त्रता प्राप्तिका लागि अझै कम्तीमा ३०-४० वर्ष लाग्न सक्छ ।’यो समाचार शिलापत्रबाट लिइएको हो ।