गर्भनिरोधक चक्कीको जथाभाबी सेवन बढ्दो, चिकित्सक भन्छन्- भविष्यमा आमा बन्ने चाहना नहुनसक्छ पूरा

-


     रेश्मा सिंह    
     पौष १३ गते २०८०


नयाँ बानेश्वरस्थित आभास मेडिकल स्टोरमा एक युवतीले गर्भ निरोधक चक्की मागिन् । ती युवतीले गर्भ निरोधक चक्की मागेपछि मेडिकल सञ्चालक आभास पौडेलले ‘इ–कोन’ नामक पिल्स दिए । युवतीले एक सय रुपैयाँ सुभाषलाई दिएर आफ्नो बाटो लागिन् । 

पछिल्लो समय आकस्मिक गर्भनिरोधक चक्कीको माग बढेको मेडिकल सञ्चालक आभास बताउँछन् । ‘पहिले फाट्टफुट्ट बिक्री हुन्थ्यो । तर, हिजोआज दैनिक १०–१५’ जनासम्मले आकस्मिक गर्भ निरोधक चक्की खरिद गर्छन् । महिला पुरुष दुवै खरिद गर्न आउने भए पनि प्रायः पुरुष मानिसले नै बढी खरिद गर्छन्,’ आभासले भने ।

अनामनगरमा करिब ५ वर्षदेखि नीराजन मेडिकल स्टोर सञ्चालन गर्दै आइरहेका दीपेन्द्र खड्काले पनि पछिल्लो समय आकस्मिक गर्भनिरोधक चक्कीको माग बढेको बताउँछन् । ‘पहिलेको तुलनामा आज भोलि गर्भ निरोधक चक्की माग्दै आउने ग्राहक बढेका छन् । तीमध्ये पनि कतिपय भर्खरका कलेज पढ्ने विद्यार्थी नै बढी माग्न आउँछन्,’ खड्काले भने ।

प्रेमका नाममा बिहे अगावै शारीरिक सम्पर्क राख्ने र प्रेमीले धोका दिएपछि चिकित्सकको सिफारिस बेगर आफूखुसी असुरक्षित तरिकाले गर्भपतन गराउने औषधि खानेको सङ्ख्या बढिरहेको मेडिकल सञ्चालकहरूको भनाइ छ । यस्ता प्रवृत्तिका कारण महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथ ज्यानैसमेत जान सक्ने सरोकारवाला बताउँछन् । 

चिकित्सककारअनुसार बिहेअघिको शारीरिक सम्बन्धले समाजमा बदनाम हुने, पारिवारिक र सामाजिक बहिष्कारमा पर्ने डरले लुकीछिपी असुरक्षित रूपमा आकस्मिक गर्भ निरोधक चक्की खाँदा ज्यानै जोखिममा पर्ने चिकित्सक बताउँछन् ।

बिहेअघिको सम्बन्धबाट रहेको गर्भपतन गराउन मेडिकल पसलबाट जथाभाबी औषधी किनेर खाने प्रवृत्ति पनि बढेको छ । अनिच्छित गर्भ तुहाउन प्रयोग हुने औषधी चिकित्सकको सिफारिस बेगर हचुवाको भरमा बिक्री गर्दा महिलाको स्वास्थ्य अवस्था जोखिम मात्र भएको छैन ज्यानसमेत जाने गरेको छ । चिकित्सकहरूका अनुसार यसले भविष्यमा आमा बन्न चाहने महिलाको स्वास्थ्यमा प्रतिकूल असर पनि पर्न सक्छ । किशोरीहरूले चिकित्सकको सल्लाह र परामर्श बिना जथाभाबी गर्भ निरोधक चक्कीको प्रयोग गर्ने क्रम बढेको स्त्रीरोग विशेषज्ञ डा. किर्तीपाल सुवेदी बताउँछन् । यसका साथै उनले आकस्मिक गर्भ निरोधक चक्कीलाई आकस्मिक रूपमा मात्र प्रयोग गर्न उनको सुझाव छ ।

आकस्मिक गर्भ निरोधक चक्की असुरक्षित यौन सम्पर्क भएको ७२ घण्टाभित्र खानुपर्ने चिकित्सक बताउँछन् । तर, नेपालमा किशोरीहरूले आकस्मिक गर्भ निरोधक चक्की चिकित्सकको परामर्श बिना आफूखुसी सेवन गरिरहेको पाइन्छ ।

‘आकस्मिक रूपमा कहिलेकाहीँ सेवन गर्दा केही असर गर्दैन । तर, अस्थायी साधन प्रयोग नगरी आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग गर्दा महिनावारीमा एकदमै बढी गडबडी ल्याउँछ,’ डा. सुवेदी भन्छन्, ‘कन्डमको प्रयोग नगरी यौन सम्पर्क गर्दा अन्य विभिन्न खाले यौन रोग सर्ने सम्भावना अत्यधिक हुन्छ । आकस्मिक रूपमा प्रयोग गर्न मिल्ने भए पनि नियमित रूपमा भने सेवन गर्नु हुँदैन ।’ 

डा. सुवेदीका अनुसार ओपिडीमा महिलाले महिनावारी गडबडीको समस्या लिएर आउनेको सङ्ख्या पनि बढी रहेको छ । उनीहरूको बारेमा सोधी खोजी गर्दा महिलाले अस्थायी साधन प्रयोगको साटो नियमित रूपमा आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गरेको पाइन्छ । आकस्मिक गर्भ निरोधक चक्कीले नचाहिएको गर्भ रोकिएको भए पनि यसलाई नियमित सेवन गर्न नहुने डा. सुवेदी बताउँछन् । 

बजारमा सहजै उपलब्ध हुने भएकाले यसको प्रयोग बढिरहेको सरोकारवाला बताउँछन् । यसका साथै कन्डम प्रयोग यौनिकतामा कमी आउँछ भन्ने भ्रमले पनि आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग बढिरहेको डा. सुवेदी औँल्याउँछन् । 

‘कहिले काहीँ भेट हुने कारणले पनि एकाध जोडीले आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग गरिरहेका हुन्छन् । जोडीबीच भेट हुने समय निश्चित नहुँदा पनि यसको अत्यधिक प्रयोग भइरहेको पाइन्छ । धेरै अन्तराल भेट हुने भए पनि अस्थायी साधन प्रयोग गर्न झन्झट मान्दा पनि यसको प्रयोगमा वृद्धि भइरहेको छ,’ डा. सुवेदीले भने । यसको नियमित प्रयोगले शरीरमा हर्मोनको स्तरमा वृद्धि गराई हर्मोन सम्बन्धी विभिन्न खालको जटिलता देखिन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । 

परिवार नियोजनसम्बन्धी परामर्श, औषधिको मात्रा र खाने विधि, गर्भावस्थाको सामान्य ज्ञान, यसका जटिलताका बारेमा जानकारी लिएर मात्रै आकस्मिक गर्भपतन चक्की सेवन गर्ने वा मेडिकल गर्भपतन गराउन निर्णयमा पुग्नु उत्तम हुने सरोकारवाला सुझाउँछन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?