प्रिय पल, तिमी मेरो पनि ‘ड्रिमब्वाइ’ थियौ 

-


     राधिका अधिकारी    
     फागुन १३ गते २०७८


प्रिय पल, तिमीलाई कतिको याद छ, अनामनगरको त्यो सानो स्टुडियो । त्यतिबेला म रेडियो छोडेर भर्खर अनलाइन पत्रकारितामा आएथेँ। तिमी भिडिओ इडिटिङ छोडेर अभिनयमा।

त्यतिबेला मलाई फेस गर्न तिमीलाई गाह्रो भएको थियो, क्यामेरा फेस गर्न मलाई। भनेथ्यौ, ‘मलाई अरु पत्रकारलाई फेस गर्न जस्तो सजिलो भइरहेको छैन, तपाईँलाई फेस गर्न।’ कारण म कहिल्यै कुनै सेलिब्रिटीको पछि हात धोएर लागिनँ। अर्को कुरा मनोरञ्जन पत्रकारिता गरिरहे पनि मलाई गसिपसँग दिलचस्पी थिएन। अझै पनि छैन।  

तिमीलाई याद छ की छैन, मलाई थाहा भएन। तर कुराकानीकै क्रममा तिमीले सुनाइरहँदा संघर्षको कथा टम्म भरिएथे मेरा आँखा। हामी निक्कै समय रोकिएथ्यौं बोल्दाबोल्दै।

तिमीले हिँडिआएको संघर्षको लामो बाटो जहाँ थुप्रै काँडाहरू थिए। तिम्रो पैतालामा अझै होलान् ती काँडाका डोब। रगतको पदचाप छोडेर तिमीले बनाएको उँचो छवि देखेर निक्कै खुशी लाग्थ्यो।

भलै त्यो भेटपछि फेरि भेटिँन तिमीलाई। मलाई भन्न अप्ठ्यारो लाग्दैन, कुनै दिन तिमी मेरो पनि ‘ड्रिमब्वाई’ थियौ। आज पनि मैले राम्रो मान्ने कलाकार हौ। म  तिम्रो संघर्ष, मिहिनेत र अभिनयको सधैँ प्रशंसक हुँ। यति हो, मलाई कसैको प्रशंसा गर्न पछ्याइरहनु पर्दैन उसैलाई। तिमी भोलि दोषी साबित भए पनि तिम्रा आजसम्मका राम्रा कर्मको उसैगरी प्रशंसा गर्नेछु। 

आज तिमीले निक्कै दुःखले बनाएको त्यही उचाई गर्लम्म ढलेको छ, तिमी माथि नै। म अनुमान गर्न सक्छु तिम्रो पीडा। म महसुस गर्न सक्छु भर्खर तंग्रिदै गरेकी आमाको मुटुमा परेको गाँठो। रोक्न खोज्दा खोज्दै बाढी बनेर झरेको बैनीको आँसु।

तिमीलाई दुनियाँले बलात्कारी भनेर सम्बोधन गरिरहँदा पनि लागिरहेछ यो सबै अन्य फिल्मी फण्डा जस्तै भइदेओस्। सत्य नभइदेओेस्। फिल्म हलबाट बाहिरिएसँगै सेलाएर जाओस् यो आगो। तर मलाई थाहा छ जिन्दगी भन्नु नै सोचेको कम, नसोचेको निक्कै धेरै घटनाक्रम सँगालेर बाँच्नु पर्ने एउटा यात्रा हो। यहाँ तिमीले पनि नसोचेको भइरहेछ, हामीले पनि। 

तिमी गलत हौ। गल्ती गरेका छौ। त्यो पनि जघन्य अपराध। यो कुरा त लगभग तिम्रो मनलाई पनि बोध भइसक्यो। तिमीलाई थाहा छ? हिजोसम्म तिम्रो समाचार कला कोलममा प्रकाशित हुन्थ्यो, आज अपराधमा। तिमी कलाकारबाट जघन्य अपराधको अभियुक्त भइसक्यौ। यो अब तिमीले स्वीकार्नु पर्छ।

तिमी आफैंले एक नाबालिगसँग उनको सहमति लिएर यौन सम्बन्ध बनाएको बताएका छौ। प्रेम गरेर या फकाएर होस् नाबालिगसँग सम्बन्ध कायम गर्नु अपराध नै हो। अपराध जति नै ठूलो या लोकप्रिय व्यक्तिबाट भएको भए पनि उन्मुक्ति दिनु हुँदैन। 

हुन त यहाँ गल्ती तिम्रो मात्रै होइन। एउटी नाबालिग आफ्नी बहिनीलाई होटलमा एक्लै छाडेर घर फर्किने दिदीहरूको पनि हो । नाबालिग आफ्नी छोरीलाई श्रम गर्न पठाउने बाबुआमा पनि गलत हुन्।

एउटी नाबालिगलाई सेलिब्रिटी बनाएर मञ्चमा उतार्ने समाज होस् अथवा त्यही मञ्चमा उनलाई हेरेर ताली बजाउने यो देशको प्रशासन सबै सबै दोषी हुन्। दोषी त हाम्रा लोक गीत, संगीत पनि हुन्। उमेर राम्रो चौध र पन्ध्रमा भन्ने गीत सुन्दै र गुनगुनाउँदै हुर्किएका हामीलाई सबथोक गर्ने उमेर नै यही हो भन्ने भ्रम भएको हुन सक्छ। 

सही त बालप्रतिभा प्रस्फुटनका नाममा भएका ‘सारेगम लिटिल च्याम्प, भ्वाइस अफ नेपाल किड्स’ जस्ता कार्यक्रम पनि छैनन्। जहाँ उनीहरुलाई तन्नेरी÷तरुनी र वयस्कहरुले गाउने प्रेम र रोमान्सका गीत गाउन लगाइन्छ।

दोहोरीका टुक्कामा माया, प्रेम, बिहे र यौन प्रसंग जोडेर उमेर नै नपुगी उत्तेजित बनाइन्छ। बालबालिकालाई बालबालिका नै रहन नदिएको हामीले नै हो। होइन भने उनीहरुलाई ‘छोरी मलाई भागी भागी नसताऊ’, ‘कुहिरोभित्र स्कुल छ’ जस्ता गीत गाउन किन लगाइएन।  

प्ले ब्याक सिङ्गिङको लागि पर्फेक्ट स्वर लिएर आउनु नै एउटी नाबालिग बालिग हुनुको प्रमाण होइन। उनी पनि प्रयोग भएकी हुन्। त्यो बुझ्न अझै समय लाग्ला। यो छुट्टै बहसको विषय बन्ला र बहस होला कुनै दिन।

अनि उमेर नै नपुगेका बालिकाहरू तिमी जस्तै प्रौढ पुरुषसँग ठोक्किन र दुर्घटित हुनबाट जोगिएलान्। अहिले त एउटी बालिका आफूमाथि करणीको जाहेरी लिएर प्रहरी कार्यालय पुगेकी छिन्। त्यही जाहेरीको किटानीमा परेका तिमी प्रहरीको फरार सूचीमा छौ। 

नहुनु पर्थ्यौ, भइसक्यो। तिमीले जस्तै गल्ती बेला बेला अरुले पनि गरे। कोही जेल जीवन बिताइरहेछन्। कोही सफाइ पाएर समाजमा पुरानै जीवन बाँच्न थालिसके। तिमी पनि प्रहरीसँग भागेर हिँड्ने बहानामा अथवा आफूलाई सही साबित गर्ने चक्करमा आफूलाई अझै धेरै अपराधी साबित नगर।

बरु प्रहरीको सम्पर्कमा गएर अनुसन्धानमा सहयोग गर। तिमीले आफूलाई प्रमाणित गर्न सार्वजनिक गरेको अडियो भन्दा धेरै बलियो मान्छ, कानुनले तिमीविरुद्ध परेको जाहेरी। त्यसैले तिमी अब अपराधी भएर भागिरहने अथवा नागरिक भएर अनुसन्धानमा प्रहरीलाई साथ दिने तिम्रो हातमा छ।

तिमीले यो अथवा त्यो बहानामा सार्वजनिक गरिरहँदा विभिन्न प्रमाणहरु ममाथि करणी भयो भन्ने मानसिक चोट बोकेर हिँडिरहेकी एक नाबालिगमाथि झन ठूलो आघात पर्न सक्छ।

तिमी त यो देशले दिने उदाहरणको एउटा पात्र हौ, त्यसैले न तिमीमाथि गलत नै भएको भए पनि एउटी नाबालिगको जीवन रक्षाका लागि अलिक उदार बन्नु पर्छ। त्यसै उदाहरण बन्न कहाँ सजिलो छ र? आज उदाहरणमा आउने हरेक नामका पछाडि संघर्षको आफ्नै कथा छ। 

हुन सक्छ तिमीले भनेझैँ तिमी निर्दोष छौ। तिमीलाई अरुले षड्यन्त्र गरेर फसाएका हुन्। तिमीसँग आफू निर्दोष हुनुका प्रमाण छन्। ती प्रमाणहरु पेश गर्ने, आफूलाई निर्दोष साबित गर्ने मौका त तिमी हिरासतमै भए पनि दिने छ कानुनले।

प्रमाण पुगेर निर्दोष साबित भयौ भने राम्रो भइहाल्यो। प्रमाणहरुले तिमीलाई दोषी साबित गरेमा तिमीले केही वर्ष जेल जीवन बिताउनु पर्ने छ। त्यो केही वर्ष लम्बिएर १२ वर्षसम्म पुग्ने रहेछ कानुन हेर्दा।

बाह्र वर्ष जेल बस्नु नपर्ला, धरौटीमा रिहा हौला, केही समयपछि सफाई पाउला अथवा अधिकतम् सजाय भोग्नेमा परौला, अब आफ्नो कर्मको फल सम्झिएर भोग्नुको विकल्प छैन तिमीसँग।

जति नै जघन्य अपराध गरे पनि मृत्युदण्डको सजाय यसकारण नेपालमा छैन, जहाँ बाँच्न पाउने अधिकार सबैभन्दा माथि मानिएको छ। तिमी अपराधी साबित भएमा पनि तिम्रो बाँच्न पाउने अधिकार तिमीसँगै सुरक्षित रहने छ। आफ्नो त्यो अधिकारलाई बचाएर राख्नु। 

गल्ती मान्छेबाटै हुन्छ। गल्ती स्वीकार्न सक्नु ठूलो कुरा हो। अरु कसैले गरेका केही गल्तीबाट हामी सजग भयौ होला, तिमीले गरेको गल्तीबाट अरुले पाठ सिक्लान्। समाज यसरी नै विस्तार हुँदै जाने हो। सचेत हुँदै जाने हो।

तर कानुनले तोकेका सीमा नै भत्काउँछु भन्नेतिर नलाग। बरु आमालाई सम्झाऊ ‘आमा मैले गल्ती गरेको छु। म कानुनले तोकेको सजाय काटेर आउँछु। त्यतिबेलासम्म मेरो आजको स्टारडम सक्किसकेको हुनेछ।

त्यसपछि हामी सँगै एउटा सामान्य जीवनयापन गरौँला। फर्किएपछि मेरा बहिनी पुस्ताले म जस्तै प्रौढ पुरुषको सिकार बन्नु नपरोस् भन्ने कित्ताबाट सचेतना छर्न सरिक हुनेछु।’ तर तिमीले कानुनलाई सहयोग गर्नुपर्ने छ। कानुनी कठघरामै तिमी निर्दोष भए, सफाइ पाउने छौ। दोषी भए सजाय भोग्ने छौ। 

मलाई थाहा छ, यहाँ पनि केही मानिसहरु तिमीले निकालेको पछिल्लो विज्ञप्तिको लिंक लिएर गाली गर्न आइ पुग्नेछन्। जुन मैले पहिले नै सुनिसकेकी छु। त्यहाँ पनि उनै नाबालिग किशोरी प्रयोग भएकी छिन्। कुनै पनि बहानामा उनी प्रयोग हुनु हुँदैन।

बरु उनलाई जथाभावी प्रयोग गर्ने अरुले पनि सजाय पाउनु पर्छ। तिमीलाई तिम्रा नजिकका आफन्तले घात गरे होलान्, त्यो अर्कै कुरा, एउटी नाबालिग शारीरिक तथा मानसिक दुर्व्यवहारमा परेको कुरालाई विषयान्तर गरिनु हुँदैन। विभिन्न नाममा उनीमाथि प्रहार हुनु हुँदैन। त्यसैले त कानुनले नाबालिगको निर्णय क्षमतालाई आधिकारिक मान्दैन। यो आलेख नेपालखबर बाट लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?