गलकोट स्पोर्ट्स क्लब टोकियोको नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा ११ टिमको सहभागिता

-


     जनहित न्युज    
     वैशाख ९ गते २०८१


गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो नवौ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ मा ११ टिमले सहभागी जनाउने भएका छन । टोकियोको सिन्जुकु स्पोर्ट्स सेन्टरमा रहेको खेल मैदानमा बिहान ९ बजेदेखि बेलुका १८:०० बजेसम्म सञ्चालन हुने सो प्रतियोगिताको आईतबार सार्वजनिक गरिएको टाईसिट(Fixture) अनुसार ११ समूहलाई समेटिएको क्लबका महासचिव दिनेश थापाले जानकारी दिए ।
“स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर स्थापना भएको क्लबले वार्षिक रूपमा गर्दै आएको उक्त प्रतियोगितामार्फत नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासमा टेवा पुराउने उदेश्य राखी संस्थाले यसपटक नवौ संस्करणको रूपमा प्रतियोगिता संचालन गर्न लागेको महासचिव थापाको भनाई छ।
प्रतियोगितामा एनवाईएसी जापान, पर्वत समाज जापान, घुम्टे युवा परिवार जापान, गलकोट नुवाकोट समाज जापान, तल्लों लमाई समाज जापान, गलकोट समाज जापान, फ़्रेण्डस सर्कल जापान, शिव ज्योति जापान, गलकोट स्पोर्ट्स क्लब टोकियो जापान, बोहराफाँट समाज जापान र एनवाईएससी जापानको सहभागिता रहने बताईएको छ । खेल प्रचलित नियमानुसार खेलाइने बताईएको छ ।
प्रतियोगिता संचालनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको खेल संयोजक कुशल भण्डारीले जानकारी गराए ।
प्रतियोगता संचालनका लागि सह-कोषाध्यक्ष गोम बुढाथोकीलाई आर्थिक संयोजक, खेल सामाग्री तथा खेलाडी ब्यबस्थापन संयोजक,प्रचार प्रसार संयोजकमा महासचिव दिनेश थापा, स्वयंसेवक तथा अतिथि ब्यवस्थापन संयोजकमा उपाध्यक्ष रमेश कुमार खत्री र कार्यक्रम संयोजकमा वरिष्ठ उपाध्यक्ष प्रकाश निउरेलाई जिम्मेवारी प्रदान गरि व्यवस्थित तयारी गरिएको अध्यक्ष दुर्गा बहादुर खत्रीले जानकारी दिए ।
क्लवको स्थापना खेलमार्फत युवाहरूमा अनुशासन क़ायम राख्ने, खेलकुदको संरक्षण र प्रवर्द्धन गरि युवा शक्तिलाई सामाजिक कार्यमा जोडिन अभिप्रेरित गर्ने लक्ष्य रहेकोले त्यसैको पृष्ठभूमिमा रहि प्रवासमा रहेका खेलाडीहरूको हौसला वृद्धि गर्न क्लवले स्थापना कालदेखि नै पुरुष खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको अध्यक्ष खत्रीले बताए ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३ लाख ३३हजार ३३३ येन नगद, रनिंग सिल्भर कप ट्रफी, मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद २ लाख २२ हजार २२२ येन नगद, ट्रफी, मेडल र प्रमाण-पत्र तथा सेमिफाइनलिष्ट दुई समूहलाई सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण-पत्र प्रदान गरिने कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष प्रकाश निउरेले बताए।
यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पाईकर,
मिड ब्लकर, बेष्ट सेटेर, बेष्ट डिफेण्डेर, बेष्ट लिफ्टर र बेष्ट कोचलाई सम्मान पत्रद्वारा सम्मान गरिने बताईएको छ ।
प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ । खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४० हजार येन तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?