तात्यो जापानमा एनआरएनएको चुनावी सरगर्मी, वर्तमान कार्यसमितिका चार जना उपाध्यक्ष नै अध्यक्षको दौडमा

- के के एजेण्डा प्रस्तुत गरेका छन त अध्यक्षका दाबेदारहरूले ?

-


     खगराज गौतम    
     श्रावण ५ गते २०८०


विगतको भन्दा निकै ढिलो गरेर एनआरएनए जापानले जुलाई १४ तारिक घोषणा गरिएको निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएसंगै जापानमा एनआरएनएको निर्वाचनको माहोल एकाएक तातिएको छ ।
गैरआवासीय नेपाली संघ ( एनआरएनए) जापानको राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी जुलाई ३० मा हुने कार्यतालिका तय भएसँगै नेतृत्वका आकाङ्क्षीहरूले उम्मेद्बारी घोषणाका साथमा दौडधुप सुरु गरेका छन ।
अधिवेशनका लागि सार्वजनिक कार्यतालिका प्रकाशन अघि नै नयाँ नेतृत्वको लागि चर्चा सुरु भएको हो । नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष नविन निउरे, उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, राजकुमार अधिकारी र महिला उपाध्यक्ष संगीता सुवेदी अधिकारी दौडमा रहेका छन् ।

मगलबार अन्तिम पन्जिकृत सदस्यको नामावली सार्वजनिक गरिएसँगै करिब १ लाख ४० हजार नेपाली भएको जापानमा ७ हजार १ सय ६८ जना नेपालीले मात्र मतदान गर्न एनआरएनको पञ्जीकृत सदस्यता प्रमाणिकरण गरिएको छ । निर्वाचन समितिको कार्यतालिका रहेको अनुरूप उनीहरूले अष्ट्रेलियाली कम्पनीद्वारा विकसित भेरोभोटिङ प्रणालीमार्फत विद्युतिय मतदान गरेर नयाँ कार्यसमिति चुन्ने पाउनेछन् ।
“निर्वाचन समितिले विद्युतिय मतदानमार्फत निर्वाचन हुने बताउदै यसका लागि आवश्यक तयारी थालिएको छ ।”निर्वाचन समितिका सदस्य आनन्द कोइरालाले भने- “अनलाईन भोटिङका लागि पहिलो पटक आईसीसीले तोकेबमोजिम भेरोभोटिङ प्रणालीबाट निर्वाचन गर्ने गरि तयारी अगाडि बढाए बढाएका छौ।”

प्रारम्भिक रूपमा उम्मेद्बारी घोषणाको क्रम हेर्दा यसपाली अधिकांश पदमा मतदान मार्फ़त पदाधिकारी र कार्यसमिति चयन हुनेछन । विभिन्न योजनाहरु अघि सारेर अध्यक्षका प्रत्यासीहरूले पत्रकार सम्मेलनमार्फत र अन्य पदका आकांक्षीहरूले सामाजिक संजालमार्फत मत मागि रहेका छन् । प्रायः सबै पदमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । उम्मेदवारहरु आआफ्नो पक्षमा मत जुटाउन मतदाता फकाउने अभियानमा जुटेका छन् ।
निर्वाचनको मिति आउन ९ दिन बाँकी रहदासम्म अन्तरराष्ट्रिय समन्वय समिति (आइसिसि ) सदस्यमा कोहि पनि चुनावी प्रतिस्पर्धामा उत्रिएको देखिएको छैन त्यस्तै अर्कों शक्तिशाली पदमा महासचिवमा पनि कसैले मुख खोल्न सकेका तर वर्तमान सचिवहरू नै प्रमुख दाबेदारी रहेको चर्चा परिचर्चा गरिएको छ । भने उपाध्यक्षमा ९ जना र कोषाध्यक्षमा ४ जना भिडेका छन् ।
सचिवमा ५ जना र सह कोषाध्यक्षमा २ जना, युवा संयोजकमा २ जनाले उम्मेदवारीको घोषणा गरेका छन ।
यसपाली गतवर्ष भन्दा केहि कमी मतदाता भएको पाइएपनि उम्मेदवारहरुको संख्यामा भने कमि नआएकाले पनि मैदानमा होमिएकाहरू बीचमा कडा प्रतिस्पर्धा हुने धेरैको बुझाई छ ।

के के एजेण्डा प्रस्तुत गरेका छन त अध्यक्षका दाबेदारहरूले ?

एनआरएनए जापान हाँक्ने मुख्य अध्यक्ष पदमा नविन निउरे, रामकृष्ण श्रेष्ठ, संगीता अधिकारी सुवेदी र राजकुमार अधिकारी जित आआफ्नो पक्षमा पार्न जोडका साथ लागेका छन् ।

एनआरएनए जापानका वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका निउरे सबैसंग राम्रो व्यबहार गर्ने जापानका एक सफल युवा व्यावसायीको साथमा उनी सक्रिय समाजसेवी समेत हुन् । सबैको साथ र सहयोगमा नेपालीहरुको साझा संस्था बनाउन लागि पर्ने उनले बताएका छन् ।
संघको पुनर्संरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शिता लगायतका कार्यको जग स्थापना भइसकेको अवस्थामा जापान सरकारसँग आवश्यक पहल र नेपालीहरूको योगदानमा आधारित रहेर धार्मिक स्थलसहितको प्रविधि युक्त बहुउदेश्यीय नेपाली हाउसको स्थापना र सञ्चालनमा ल्याउने निउरेको मुख्य योजना रहेको छ ।

आकस्मिक दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरूको पार्थिव शरीर नेपालमा पठाउन लाग्ने आर्थिक खर्च नेपाल सरकारले व्यहोर्नुपर्ने नीतिगत व्यवस्था गर्न र यसका लागि ठोस नीति बनाएर कार्यन्वयन गराउन नेपाल सरकारका सम्बन्धित निकायसँग पहल गर्ने योजना बनाएका निउरेले दुर्घटना तथा विभिन्न आपतकालीन समस्यामा परेका नेपालीहरूलाई सहयोग हुने गरी संचालित एनआरएनए आपतकालीन राहत कोष’ को प्रभावकारी कार्यान्वयन गर्ने उनीद्वारा सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन ।

अध्यक्षका अर्का दाबेदार श्रेष्ठ जपानी कम्पनीमा कम्पनिमा कार्यरत छन् । उनी एनआरएनए जापानका वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत हुन् । सरल स्वभाव उनले जापानको फुकुओकामा रहेका त्यहा स्थापित र संचालित नेपाली सामाजिक संस्थाहरूमा सफल रुपमा नेतृत्व गरिसकेका छन् ।आफू अध्यक्ष बनेमा एनआरएनए जापानलाई नयाँ उचाइमा पुर्याउने उनले बताए ।
‘काधमा जिम्मेवारी काममा इमान्दारी, सम्बन्धमा समझदारी त्यसका लागि मेरो उमेदवारी’ भन्ने मान्यताका साथ अध्यक्ष पदका आफ्नो दाबी प्रस्तुत गरेका उनले जापानबासी नेपालीहरु र जापानिजहरु बीच आवश्यक सहकार्य तथा समन्वयका लागि जापानमा भएका सबै सघसंस्थालाई एकिकृत गरी एनआरएनए जापानले अभिभावकीय जिम्मेवारी निर्वाह गर्न आफुले सक्षम रहेको बताए ।

वर्तमान महिला उपाध्यक्ष रहेकी अर्का अध्यक्ष पदकी प्रत्यासी सुबेदीले पहिलो पटक एनआरएनए जापानमा महिलाले नेतृत्व गरेर इतिहास रच्ने अभियानमा छिन् । लामों समयदेखि जापानमा व्यावसाय गर्दै आएकी उनी नेपाल वर्तमान कार्यकालको उपाध्यक्ष पदमा रहि एनआरएनएको छविलाई संलाउन आफूले महत्वपूर्ण योगदान गरेकोले आगामी कार्यकालमा अध्यक्ष पदमा रहेर सबैको साथ लिइ राम्रो काम गर्ने योजना सुनाइन् ।
‘म उपाध्यक्ष रहेको वर्तमान कार्यकालमा भएका आधा काम मेरै नेतृत्वमा भएका छन् । त्यसैले म आफूलाई सफल उपाध्यक्ष पनि भन्न रुचाउँछु । मैले कहिले पनि व्यक्तिगत स्वार्थका लागि काम गरेकोे छैन संस्थाको हितमा निरन्तर लागेका हिसाबले पनि म एक सक्षम उम्मेदवारको रुपमा रहेकोछु ।’ उनले भनिन्

वर्तमान कार्यसमिति कै अर्का उपाध्यक्ष नागोयालाई आफ्नो व्यावसायिक कार्यक्षेत्र बनाएर एनआरएनएमार्फत सामाजिक कार्यमा सक्रिय अध्यक्ष पदका प्रत्यासी राजकुमार अधिकारीले
धेरै बोल्न भन्दा सधै ईमान्दारितापूर्वक समाजिक गर्नका लागि अध्यक्ष पदमा आउन लागेको बताए ।
“ठूला कुरा गरेर मात्रै हुँदैन, यति ठूलो संख्यामा नेपाली भएको जापानका हरेक नेपालीलाई समस्या पर्दा अभिभावकको भूमिका र्निभाह त गर्नु नै छ, त्यस बाहेक पनि एनआरएनए सबै नेपालीले आफ्नै संस्था हो भन्ने महशुस हुने गरि काम गर्ने छु।” उनले भने।
वर्तमान कार्यसमितिका चार जना उपाध्यक्षहरू नै आगामी कार्यकालको अध्यक्ष पदमा भिडेकोले यसपटकको चुनावी माहोल रोचक रहेको छ । क्षेत्रदेखि केन्द्रको वरिष्ठ उपाध्यक्ष भएका निउरेदेखि वर्तमान कार्यसमितिमा आफ्नो वर्चस्व कायम गरेकाहरूको भिडन्तमा कसको पल्ला भारी हुन्छ अझै आकलन गर्न नसकिने जानकारहरुको भनाई छ । अन्तिम नतिजाको लागि जुलाई ३० तारिक राती ९ बजेसम्म पर्खनुको विकल्प छैन ।विद्युतिय मतदान सकिएको केही समयमा नतिजा आउने छ ।
एनआरएनए जापानको ११ औ अधिवेशन २९ जुलाई २९ तारिक र निर्वाचनमा मतदान जुलाई ३० तारिक हुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?