बागलुङको एतिहासिक चैते दशैं मेला जापानको नाकानो जिरो हलमा

-


     जनहित न्युज    
     वैशाख ७ गते २०८१


पञ्चेबाजा घन्किरहेको छन्, भजनमा नाच्नेहरुको उस्तै भिड छ, सालैजोमा कम्मर मर्काउने भिड थामी सक्नु छैन, बाघको सालिक अघि फोटो खिच्ने पालो पाउन मुस्किल छ, कालिका भगवतीको मन्दिर अघिल्तिर टिका लगाउने र दान गर्नेहरू पालो पाउन सकेका छैनन, डाली काइँयो, मादल डम्फु र सृंगारसहित घरायसी सामान बिक्रीका लागि सजाएर राखिएको छ । राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुतिका लागि व्यग्र प्रतिक्षामा मानिसहरू बसिरहेका छन्, चैते दशैं मेला भर्नाका लागि मानिसको भिडभाड छ।

यो शब्द चित्र प्रस्तुत गर्दा तपाईहरुलाई लाग्नसक्छ बागलुङको एतिहासिक चैते दशैंको मेलाको भनेर। पक्कै पनि चैते दशैं मेलाको परिदृश्य त हो तर बागलुङ बजारमा भएको नभई जापानको टोकियो स्थित नाकानो जिरो हलमा बिहीबार भएको चैत्राष्टमी मेला २०२४ ।


बागलुङको एतिहासिक मेला चैते दशैंलाई बागलुङबाट जापान आएका प्रवासी नेपालीहरूको संस्था बागलुङ समाज जापान र विहुकोट समाज जापानले बागलुङमा हुने मेलाको झल्को दिने गरि संयुक्त रूपमा मेलाको मर्म नमर्ने गरि गरेको कार्यक्रममा माथि प्रस्तुत गरिएको दृश्य देख्न पाइएको थियो । कलात्मक ढंगले बनाइएको बागलुङको चिनारीका रुपमा रहेको बाघको शालिक र चैते दशैं मेलामा व्यापारका लागि राखिने मादल डम्फु काइयो डाला डाली लगायतका स्थानिय सामग्रीले साच्चीकै चैते दशैंको झल्को दिन सकेको प्रतिक्रिया कार्यक्रम उपस्थित दर्शकहरुको थियो।


घुम्टे नौमती बाजा समुह र धौलागिरि भजन समुह जापानले मौलिक शैलीमा प्रस्तुत गरेको नाच गानसहितको प्रस्तुतिले कार्यक्रममा उपस्थित दर्शकहरुलाई बागलुङको मेलामै उपस्थित भएको भान परेको देख्न सकिएको कार्यक्रम आयोजक संस्था बिहुकोट समाज जापानका अध्यक्ष तथा सोही कार्यक्रमका सभापति दिपक कँडेलको भनाइ थियो। “हामी बागलुङ्गेहरुले हाम्रो पहिचानको रुपमा रहेको एतिहासिक चैते दशैं मेलालाई प्रवासमा रहेका नेपाली र दोस्रो पुस्ताका बागलुङ्गेहरुमा बचाई राख्न सघाउ पुर्याउनका लागि योगदान दिन सकोस् भन्ने उद्देश्यका साथ जापानमा चैत्राष्टमी मेला २०२४ आयोजना गरेका हौं।” अध्यक्ष कँडेलको भनाइ छ।

चैते दशैं मेलाको मुख्य आकर्षणको रुपमा मानिने सालैजो झाम्रे विनासाले लगायतका भाका मध्यको बिनासाले म्याग्दी प्रवासी मञ्च जापानको टिमले प्रस्तुत गर्दा कार्यक्रमको माहौल नै भिन्न बन्न पुगेको थियो। मोना जापानका कलाकारहरुले बीनासाले मञ्चमा प्रस्तुत गर्दैगर्दा हलभरि कम्मर मर्काई मर्काई नाच्नेहरुको भिड थामी सक्नु नभएको आयोजक संस्था बागलुङ समाज जापानका अध्यक्ष तथा कार्यक्रम संयोजक यमकान्त कँडेलको भनाइ छ। “बागलुङको चैते दशैं मेलामा जसरी बागलुङ पर्वत म्याग्दी लगायतका जिल्लाबाट मेला भर्न आई आफ्ना कला प्रस्तुत गर्छन् त्यही मर्मलाई जापानमा पनि कायम राख्नका लागि मोना जापानको सालैजो प्रस्तुत गरेका हौ।” संयोजक कँडेलले भने यसले मेलाको मर्म कायम राख्नका साथै भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग गरेको छ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका जापानका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदीले नेपाली कला संस्कृति परम्परा र पर्वहरुलाई बचाई राख्नु नै नेपाली मन र नेपाली लवाई खवाईलाई पनि जोगाइराख्नु नेपाली पन रहेकोले यस्ता कार्यक्रमले नेपाली मन र पनलाई जोड्न सकेको बताएका थिए।

चैते दशैंको झल्कोलाई मेट्न सक्ने गरि कार्यक्रमको आयोजना गरेकोमा आयोजक प्रति कृतज्ञ रहँदै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले यसका कार्यक्रमले परम्परालाई बचाई राख्न प्रवासमा रहेका दोस्रो पुस्तालाई सिकाउन देखाउन सफल भएकोले निरन्तरता दिनका लागि आग्रह गरे।

लाईभ दोहोरीसँगै मेलामा राष्ट्रिय कलाकारसँग झुमे प्रवासी नेपाली

‘चैत्राष्टमी मेला २०२४’ मा आफ्नो प्रस्तुति दिन आएकी चर्चित कलाकार समीक्षा अधिकारीले कार्यक्रममा ‘कुरा बुझ्न पर्च’ बोलको गीतबाट आफ्नो प्रस्तुति सुरू गरेकी उनले ‘सुर्ती माड्दै’, ‘पछ्यौरी लिस्यो’ देखि आफ्नो सुरूआतको गीत ‘बालापनको उमेर’ गाउँदा र आफ्नै आँखा अगाडि भेट्न पाउँदा जापानबासी प्रवासी नेपाली हर्षले विभोर हुँदै उनलाई तालीको गडगडाहतसहित नाचेर साथ सँगै गीत गाएर साथ दिएका थिए ।


नाकानो जिरो हलको प्राङ्गणमा गायिका समिक्षा चर्चित कलाकार वसन्त थापा र तारा थापाकाे प्रस्तुति सँगै फेरिएको माहौल र उनीहरू प्रति देखिएको क्रेज साँच्चिकै हेर्नलायक थियो । अटो लिने र सेल्फी खिच्ने नेपालीहरुद्वारा घेरिएका गायक गायिका आफै पनि जापानमा उल्लेख उपस्थितिका बिच आफ्नो कला प्रस्तुत गर्न पाउँदा प्रफुल्ल देखिन्थे ।


विदेशमा बसेपनि नेपाली भाषा र सँस्कृतिलाई कहिले नभुल्न आग्रह गर्दै कलाकार वसन्तले भने – ‘हाम्रो जस्तो पुरानो सभ्यता र सँस्कृति संसारमा अन्त कतै छैन, यसमा हामीले गर्ब गर्नुपर्छ, नेपाली गीत-संगीतलाई पनि माया गरिदिनुहोला । नयाँ पुस्तालाई देशको माटोसंग जोड्ने कार्यमा महत्वपूर्ण भूमिका निर्बाह गर्न तपाईं प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीलाई अझ थप सफलता मिलोस्’ ।

आकर्षणको केन्द्रमा रहेका लोक दोहोरी गायक बसन्तले ‘खेतमा बोके झार’ देखि ‘माया हाँसेको’ सहितका आफ्ना आधा दर्जन हिट गीतहरू प्रस्तुत गरिरहँदा दर्शकहरु यसरी झुमेकी दृश्य हेर्न लायक थियो। उनका गीतबाट दर्शकहरुले भरमग्दुर मनोरञ्जन लिएका थिए ।

उनीहरू सँगै आएकी कलाकार तारा थापाले केहि एकल आफ्ना गीत प्रस्तुत गरेकी थिइन्। दोहोरीमा खरो जवाफ दिन सिपालु ताराले कलाकार युवराज आचार्यसँग गाएको प्रत्यक्ष दोहोरी हेर्न लायक थियो। त्यसमाथि परदेशी गायकका रुपमा आफुलाई स्थापित गराउन सफल कलाकार सुर्य खड्काको प्रस्तुतिमा समेत दर्शकले भरपुर मनोरञ्जन लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?