
जापानको टोकियो हिनो सिटीस्थित तामा नदीमा पौड़ी खेल्ने क्रममा पानीमा डुबेर नेपाली दुईजना बालकको मृत्यु भएको छ ।
आइतबार दिउसो पौड़ी खेलनका लागि सो खोलामा गएका करिब १३ र १४ वर्षीय ती बालक बेलुका ४: १० बजे पौड़ी खेल्ने क्रममा खोलामा डुबेपछि उद्धार गर्दागर्दै एक जनाको घटनास्थलमा नै र अर्कों एकजनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जापानी समाचार माध्यम एनएचकेले जनाएको छ ।

दुवै जना आफन्त पारिवारिक भिषामा जापानमा बसदै आएको र सो समयमा के कति कारणले खोलामा पुगे भन्ने बारेमा महानगरीय प्रहरी महाशाखालगायतले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको बताएको छ ।उनीहरूको परिचय भने खुलाईएको छैन ।
टोकियो महानगरीय प्रहरी विभाग र टोकियो फायर डिपार्टमेन्टका अनुसार आइतबार बेलुका ४:१० बजे टोकियोको हिनो सिटीको तामा नदीमा नजिकैका एक व्यक्तिले ‘दुई बालबालिका पानीमा डुबेको अवस्थामा छन् ।” भन्ने सूचनाका आधारमा उद्धारकर्मीहरूले नदीमा डुबुल्की मारेर खोजी गर्दा करिब ४० मिनेटपछि दुई जना ती बालक फेला परे र दुवैलाई कार्डियोपल्मोनरी अरेस्टका साथ अस्पताल लगिएको भएपनि मृत्यु भएको बताईएको छ।

टोकियो महानगरीय प्रहरी विभागका अनुसार मृत्यु हुनेमा ताचिकावा बस्ने नेपाली नागरिकका १३ वर्षीय र १४ वर्षीय बालक रहेको र उनीहरु नदीमा डुबेर मृत्यु भएको देखिएका बताएका छन ।
उनीहरु दुई जना आफन्त भएका र अर्का ९ वर्षीय आफन्त बालक समेत सोहि समयमा खोलामा खेल्दै गरेको बुझिन आएकोले महानगरीय प्रहरी महाशाखाले त्यतिबेलाको अवस्थाबारेमा अनुसन्धान गरिरहेको छ ।

घटनास्थल नजिकै बस्ने ७० वर्षका एक व्यक्तिले भने “एक बालक नदीको किनाराबाट अचानक गहिरोतिर गए र उनलाई बचाउन खोज्दा अर्का बालक पनि डुब्न पुगे” उनले भने” त्यसपछि उद्धारकर्तालाई खबर गरेपछि उनीहरू आएको एम्बुलेन्सको साइरन सुनेको थिएँ, त्यसैले नदीको किनारमा पुग्दा एउटा उद्धारकर्ता नदीमा पसेको देखेँ। त्यसपछि दुईजनाको उद्धार गरियो र अस्पतालतिर लगे ।

नदीमा पानीको सतह उद्धारकर्ताको छाती नजिक रहेको थियो।
दुर्घटना भएको क्षेत्र तामा सिटी मोनोरेलको कोशुकाइदो स्टेशनको उत्तरपूर्वमा लगभग ७०० मिटरमा अवस्थित रहेको छ। अर्का ताचिकावा शहरको नजिकै बस्ने एक ७३ वर्षीय मानिसका अनुसार डुबेको सूचना पाउना साथ लगभग १० दमकल र प्रहरी कारहरू भेला भएका थिए र धेरै गोताखोरहरू उद्धार कार्यमा संलग्न थिए ।




