
प्रेस सेन्टर नेपाल बागलुङको पुर्ण बैठक गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा आज सम्पन्न भएको छ बैठकले संगठनलाई समय सापेक्ष अगाडी बढाउन र पत्रकारहरुको हक हित र अधिकारको निमित्त विभिन्न निर्णय गरेको छ ।
संगठनको गत कात्तिकमा बागलुङ बजारमा सम्पन्न सम्मेलनको समिक्षा गर्दै जिल्लाका १० वटै स्थानीय तहमा पत्रकारिता तालिम, संगठन विस्तारसँगै सदरमुकाममा विषयगत पत्रकारिता तालिम सञ्चालन गर्ने योजना तय गरेको प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष सज्जन कुमार सिंहले जानकारी दिनुभयो ।
त्यस्तै सेन्टरले स्थापना गरेको २ वटा पुरस्कारलाई व्यवस्थापन गरि आगामी वर्ष २ जना पत्रकारलाई पुरस्कृत गर्ने, नेपाल पत्रकार महासंघमा आवद्व पत्रकारको सदस्यता नविकरण, नयाँ सदस्यता वितरण लगायतमा सहजीकरण गर्दै महासंघलाई सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष थम्मन थापाले बताउनु भयो ।
पत्रकारितामा नयाँ खोज सहित खोजमुलक समाचार लेखनमा पत्रकारहरुलाई प्रेरित गर्न विभिन्न समयमा प्रशिक्षण कार्यक्रम गर्ने सेन्टरले जनाएको छ ।
बैठकमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका अध्यक्ष अर्जुृन काफलेले संगठनको नीति,कार्याक्रम र उद्देश्य बारे प्रकाश पार्नु भएको थियो भने नेकपा माओवादी केन्द्र बागलुङ अध्यक्ष ज्ञामनाथ गैरेले प्रेस सेन्टर बागलुङलाई शसक्त संगठनको रुपमा विकसित गर्दै आम पत्रकारको हितमा सक्रिय हुनु पर्ने बताए ।
बैठकमा प्रेस सेन्टरमा आवद्व जिल्ला भरका पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।बैठक प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापाको अध्यक्षता, उपाध्यक्ष सरिता खत्रीको स्वागत र सचिव अनिश खातीको सञ्चालनमा सम्पन्न भएको थियो ।



