
जापानको नागोया भन्सार कार्यालयले तस्करीका घटनामा बरामद भएको करिब २४४ किलोग्राम सुनलाई खुल्ला बोलपत्र आह्वानमार्फत सर्वसाधारणले खरिद गर्न सकिने गरि लिलामीमा राखेको भन्सार अधिकारीहरूले बताएका छन ।
भन्सारले फेब्रुअरी ३ मा बोलपत्रको लागि एक विज्ञापन गरि फेब्रुअरी २४ सम्मका लागि आह्वान गरिएको सो बोलपत्र जापानमा एकै पटक सार्वजनिक लिलामीको लागि राखिएको सुनको सबैभन्दा ठूलो परिमाण भएको अधिकारीहरूले बताएका छन ।
भन्सारमार्फत लिलामका लागि राखिएको सो परिमाणको सुन अगस्ट २०१६ देखि डिसेम्बर २०१८ सम्म सुन बरामद गरिएको थियो ।
नागोया भन्सारका एक प्रतिनिधिले भने, “अझै पनि सुनको तस्करी व्यापार चलिरहेको छ ।” सार्वजनिक लिलामी मार्फत यस्तो तस्करी विरुद्धको कारबाही र तस्करी अपराध हो भन्ने तथ्य जनतालाई व्यापक रुपमा बुझाउनका लागि लिलामीमा राखेको बताए ।
अनुसन्धान पूरा भएपछि फिर्ताको लागि कुनै दाबी नआएपछि सो परिणामको सुन परिष्कृत र प्रशोधनपछि लिलामीमा राखिएको हो। हाल प्रति ग्राम सुनको मूल्य ७,००० येन ($ ६१) नाघेको छ। बरामद गरिएको सुनको मूल्य करिब १.८ बिलियन येन मूल्य बराबरको रहेको छ।
सामान्यतया यात्रुहरूले आफ्नो लुगा वा हातको सामानको भित्री भागमा लुकाएर सुन तस्करी गर्ने गरेको भण्सार अधिकारीले बताए । तर कोभिड–१९ को महामारीका कारण भित्रिनेको सङ्ख्यामा कमी आएपछि सामान्य ढुवानी सेवामार्फत सुन तस्करी गर्ने प्रयास गरेको पाइएको छ ।



