
काठमाडौँ (जीएनएन)- गत जुलाई ३० मा भएको एनआरएन जापानको चुनावमा केन्द्रीय सचिवालयस्थित एमआइएस प्रणालीको चरम दुरुपयोग गरी धांधली गर्नेहरु विरुद्ध नेपाल प्रहरीको साइबर क्राईम ब्युरोले अनुसन्धान तीव्र पारेको छ।
एनआरएन जापानद्वारा संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा गठित छानबिन समितिले केहि केन्द्रीय पदाधिकारीहरुको निर्देशन र रेखदेखमा सचिवालयका आइटी विभागका केही कर्मचारीहरुको संलग्नतामा योजनावद्ध रुपमा धांधली गरिएको भन्ने सप्रमाण रिपोर्ट सार्वजनिक गरिए पछि उक्त घटनाको छानबिन गरी दोषीहरु विरुद्ध कारवाही गर्न माग गर्दै नेपाल प्रहरीमा उजुरी परेको थियो। संघकै केहि पदाधिकारीले उक्त छानबिन रोक्न प्रयास गर्दै आएका थिए। तर ढिलै भए पनि नेपाल प्रहरीले छानबिन शुरु गरी आइटी विभागका सम्वद्ध कर्मचारीहरुलाई बोलाएर बयान लिनुका साथै केन्द्रीय पदाधिकारीहरुलाई पनि थप जानकारीका लागि पत्र काटेको छ।

उक्त छानबिनबाट संघको एमआइएस प्रणालीको दुरुपयोग गरी केन्द्रको चुनावमा पनि जापानको जस्तै धांधली गर्ने योजनामा धक्का लागे पछि संघकै केहि पदाधिकारीहरुले उक्त छानबिनलाई राजनीतिक रंग दिने प्रयास गर्न थालेका छन्।
यसबारे बुझ्दा नेपाल प्रहरीको साइबर क्राईम ब्युरोका एक अधिकारीले छानबिन भै रहेको पुष्टि गरे। तर उनले यो सम्वेदनशील विषय भएको र छानबिन जारी रहेकाले थप जानकारी दिन नमिल्ने बताए।
कसरी भएको भनियो जापानको चुनावमा धांधली?
गैर आवासीय नेपाली संघ जापानका संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समीक्षा समिति गठन गरिएको थियो ।
समितिद्वारा प्रकाशित २९२ पृष्ठ लामो प्रतिवेदनमा एनआरएनए जापानको सदस्यता नरहेकाहरुद्वारा ६० वटा ग्रुप मेल तयार गरी २ हजार ९ सय ४ मत अनधिकृत रूपमा मतदान प्रक्रियामा राखिएको तथ्य भेटिएको उल्लेख गरेको छ । सिस्टम लग अनुसार १७१३ सदस्यहरुको जानकारी विना नै इमेल परिवर्तन गरिएको प्रतिवेदनमा उल्लेख छ।
कुल ७ हजार ७ सय ५७ मत खसेकोमा ग्रुप मेलबाट २,९०४ र सिंगल इमेल दर्ता भएकाबाट ४,८५३ मत खसेको पाइएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बताइएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार ६० वटा ग्रुप मेलबाट २ वटा देखि ४९६ सम्म मत राखिएको छ । निष्पक्ष निर्वाचन र मतदाताको मताधिकार विपरित ६० वटा ग्रुपमेल बनाई निर्वाचनको परिणामलाई प्रभावित परेको स्पष्ट हुने र यसरी तयार पारिएका मेलबाट २,९७० मतदाताको सदस्यता बनाईएको त्यसमध्ये ९८ प्रतिशत मतदान गरिएको पाइएको संयोजक प्रधानांगले बताए ।
छानबिन समितिले आफ्नो निश्कर्षमा भनेको छ, ‘यस्ता ग्रुप इमेलहरु प्रयोग गरी धेरै भन्दा धेरै सदस्यहरुको भोटिङ लिंक एउटै इमेलमा प्राप्त गरी खसालिएको २,९०४ मत स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको देखिन्छ ।’ प्रतिवेदनका अनुसार एम आइ एस प्रणाली मा पहुँच भएका केहि व्यक्ति ले इमेलहरुपनि प्लस (+) र डट (.) प्रयोग गरेर समूहगत ईमेलहरुको प्रकृतिमा नै परिवर्तन गरेका छन् ।
एनआरएन जापानको चुनावमा भारत तथा नेपालबाट पनि अनलाइन भोट खसालेको पाइएको थियो। त्यसपछि समितिले छानबिन गर्दा निर्वाचनमा धाँधली भएको भेटाएको हो । ईभोटिङको क्रममा अनियमितता भएको प्रमाण समितिले भेटाएको संयोजक प्रधानांगले बताए । ‘सबैको एउटा इमेल आएजस्तो देखिने तर, भोट जाँदा धेरैजसो सदस्य र दर्ता नभएका इमेलमा धेरै भोट खसेको देखिएको छ,’ प्रधानांगले भने ।
प्रधानांगले चुनाव उद्देश्यभन्दा बाहिर गएको बताए । यसभन्दा अघिका भोट खसालेर गर्ने चुनावमा कुनै विवाद नदेखिएको प्रसंग सुनाए । ‘यो भन्दा अघि पनि इभोटिङ थियो । ‘वन डिभाइस वन भोट सिस्टम’ थियो । त्यसमा कुनै पनि विवादै हुँदैनथ्यो,’ उनले भने, ‘त्यसपछि एमआईएस सिस्टम आयो जसको खुल्ला दुरुपयोग गरिएको छ ।’
समितिले गत अक्टुबर ३० तारिखमा प्रतिवेदन बुझाएको थियो । तर केन्द्रले दोषीहरु विरुद्ध कारवाही त परै जाओस्, स्पष्टीकरण समेत नसोधेर ढाकछोप गर्ने प्रयास गरे पछि एनआरएन जापानकै केही सदस्यहरुले नेपाल प्रहरीमा उजुरी गरेका थिए।
निर्वाचन समीक्षा समितिको प्रतिवेदन यो लिंकमा गएर हेर्न सकिन्छ:
file:///C:/Users/yogib/Downloads/02%20NEPALI%20 %20IT%20Audit%20Japan%20NRN%20Election%20Report%20(3).pdf



