
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी सन् २०२६ को अगस्त १५ र १६ तारिखमा चीनको प्रमुख व्यापारिक केन्द्र ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६’ नाम दिइएको उक्त बृहत् सम्मेलनको तयारी सुरु भएको जानकारी भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।
सम्मेलन चीनको ग्वाङ्झाउस्थित ‘क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर‘ मा आयोजना हुनेछ। आइतबार जुम (Zoom) प्रविधिमार्फत आयोजित घोषणा तथा पत्रकार सम्मेलनमा बोल्दै एनआरएनएका अध्यक्षले नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको सहभागिता र नेपाल सरकारसँगको सम्बन्ध सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताए।
आर्थिक सहभागिता र डायस्पोराको भूमिकामा जोड
सम्बोधनका क्रममा अध्यक्षले नेपाल सरकारले पनि डायस्पोराका मुद्दालाई प्राथमिकतामा राख्न थालेकोप्रति उत्साह व्यक्त गरे। उनले यो क्षेत्रीय सम्मेलन एनआरएनएका लागि एउटा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै, दोस्रो पुस्ता तथा विभिन्न क्षेत्रमा क्रियाशील विज्ञहरूलाई जोड्ने उद्देश्यले निकट भविष्यमा काठमाडौँमा समेत विशेष कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।
यसका साथै, एनआरएनएको आगामी १३औं महाधिवेशनमा विदेशमा रहेका सबै पञ्जीकृत सदस्यलाई मतदानको व्यवस्था गरिने घोषणा गरिएको छ। संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग समन्वय र सहकार्य गर्न संघभित्र छुट्टै संरचना निर्माण गरिएको र सम्मेलनको प्रभावकारी व्यवस्थापनका लागि केन्द्रीय कार्यालयमार्फत संयन्त्र बनाइने जानकारी पनि उनले दिए।
सम्मेलनको मूल नारा र एजेन्डा
एनआरएनए एसिया-प्रशान्त क्षेत्रको आयोजना तथा राष्ट्रिय समन्वय परिषदहरूको समन्वयमा हुने यस सम्मेलनको मूल नारा “आरोहण २०२६ – राइजिङ टुगेदरः कनेक्टिङ द नेपाली डायस्पोरा फर इन्भेस्टमेन्ट, टुरिज्म एन्ड जेनेरेशनल लिंक्स” (Rising Together: Connecting the Nepali Diaspora for Investment, Tourism, and Generational Links) तय गरिएको छ।
सम्मेलनका संयोजक तथा एसिया-प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेलले विश्वभर फैलिएको नेपाली डायस्पोरालाई नेपालसँग आर्थिक तथा सामाजिक रूपमा जोड्न यो सम्मेलन महत्त्वपूर्ण हुने बताए।
सम्मेलनका प्रमुख छलफलका विषयहरू:
लगानी तथा व्यापार: नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) प्रवर्द्धन र व्यापार-व्यवसाय साझेदारी (B2B Networking)।
पूर्वाधार र प्रविधि: जलविद्युत, सूचना प्रविधि (IT), कृषि र पर्यटन क्षेत्रको विकास।
सामाजिक तथा श्रमिक मुद्दा: एसिया प्रशान्त क्षेत्रमा रहेका नेपाली श्रमिकको सुरक्षा, महिला उद्यमशीलता र युवा सहभागिता।
पुस्तान्तरण: विदेशमा हुर्किरहेको दोस्रो पुस्तालाई नेपाली पहिचान, संस्कृति, र मातृभूमिसँग जोड्ने। युवाहरूलाई खेलकुद, साहसिक पर्यटन र ट्रेकिङमार्फत नेपालसँग भावनात्मक रूपमा जोड्ने विशेष योजना।
५ वटा सत्र र ‘ग्वाङ्झाउ घोषणापत्र’
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा विभिन्न विषयवस्तुमा आधारित रहेर पाँचवटा छुट्टाछुट्टै सत्र सञ्चालन हुनेछन् र विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुत गरिनेछ।
पहिलो दिन (अगस्त १५) नेपाल र चीन सरकारका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागितामा उद्घाटन समारोह आयोजना गरिनेछ। सोही दिन “नेपालमा लगानी तथा पर्यटन सम्भावना”, वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता जस्ता विषयमा विस्तृत प्यानल छलफल गरिने आयोजकले जनाएको छ।
सम्मेलनको अन्त्यमा ऐतिहासिक “ग्वाङ्झाउ घोषणापत्र–२०२६” जारी गरिनेछ, जसमा नेपाल सरकारलाई आवश्यक नीतिगत सुझाव तथा भावी कार्ययोजनाहरू समेटिनेछन्।
एनआरएनएका केन्द्रीय तथा क्षेत्रीय पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको उक्त भर्चुअल पत्रकार सम्मेलनको सञ्चालन सङ्गीता अधिकारीले गरेकी थिइन्। सम्मेलनमा एसिया प्रशान्त क्षेत्रलगायत विश्वभरबाट ६०० भन्दा बढी प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहने अपेक्षा गरिएको छ।



