महानायक राजेश हमालको विशेष उपस्थितिमा जापानमा ‘सपना, साधना र सफलता’ कार्यक्रम हुँदै, प्रवेश निःशुल्क

-


     जनहित न्युज    
     माघ २३ गते २०८२


टोकियो (जापान) । जापानमा कर्मथलो बनाएर बसिरहेका नेपाली समुदायमा सकारात्मक ऊर्जा, आत्मविश्वास र प्रेरणा जगाउने उद्देश्यले एक वृहत उत्प्रेरणामूलक कार्यक्रम (Motivational Program) आयोजना हुने भएको छ। नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा टोकियोमा उक्त विशेष कार्यक्रम हुन लागेको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको मुख्य आयोजना र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (आईएनएलएस) जापानको सह–आयोजनामा सञ्चालन हुने सो कार्यक्रम आगामी फेब्रुअरी ११ तारिख बुधबारका दिन हुनेछ। ‘सपना, साधना र सफलता : युगदेखि युगसम्म’ शीर्षक दिइएको यो कार्यक्रम टोकियोस्थित नाकानो जिरो हल (Nakano Zero Hall) मा साँझ ६:३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ।

कार्यक्रममा महानायक हमालले आफ्नो दशकौं लामो चलचित्र यात्रा, जीवनमा गरेका संघर्ष, निरन्तरको साधना र सफलतासम्मको अनुभव साटासाट गर्नुहुनेछ। सोही अवसरमा सहभागीहरूले हमालद्वारा लिखित चर्चित पुस्तक ‘युगदेखि युगसम्म’ लेखककै हस्ताक्षरसहित प्राप्त गर्न सक्ने विशेष व्यवस्था समेत मिलाइएको छ, जसले कार्यक्रमलाई थप रोचक र स्मरणीय बनाउने विश्वास लिइएको छ।

विशेषगरी प्रवासमा रहेका युवा पुस्ता, विद्यार्थी, श्रमजीवी वर्ग तथा व्यवसायीहरूलाई लक्ष्य निर्धारण गर्न, आत्मअनुशासन कायम राख्न र सकारात्मक सोचको विकास गर्न प्रेरित गर्ने हेतुले यो कार्यक्रम तय गरिएको हो। यो महत्त्वपूर्ण सेसनमा सहभागी हुन चाहने महानुभावहरूका लागि प्रवेश शुल्क नलाग्ने गरी निःशुल्क व्यवस्था गरिएको छ।

एनआरएनए जापानले टोकियोको कार्यक्रमपछि जापानका अन्य प्रमुख सहरहरू ओसाका, फुकुओका, शिजुओका र नागोयामा समेत यस्तै प्रकारका प्रेरणादायी शृङ्खलाहरू सञ्चालन गर्ने योजना बनाएको छ। यस अभियानले जापानभर छरिएर रहेका नेपालीहरूलाई जोड्ने र लाभान्वित तुल्याउने अपेक्षा गरिएको छ। आयोजक संस्थाले टोकियो तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तोकिएको समय र स्थानमा उपस्थित भई कार्यक्रम सफल बनाइदिन हार्दिक अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?