
काठमाडौँ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलवार साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन्।
मंगलबार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नम्बर ११ बाट व्रतबन्धका लागि बेथानचोक-५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बस दुर्घटना हुँदा हालसम्म मृतकको सङ्ख्या १८ पुगेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारी बताए । बसमा ३९ सवार थिए। मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेकी डिएसपी अन्जना श्रेष्ठका अनुसार दुर्घटनामा परी २२ जना घाइते भएका छन्। उनीहरूको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। तीन जनालाई भने काठमाडौँ रिफर गरिएको उनले बताइन्।
घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको छ।
घाइतेको तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र एसपी जोशीलाई गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन पनि दिएका छन्।
घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न गृहसचिव विनोदप्रकाश सिंहलाई निर्देशन दिइएको पनि गृह मन्त्रालयले जनाएको छ।



