नेपालमा जापानी लगानीकर्ता आकर्षित हुँदै, लगानी प्रवर्द्धन गर्न जापान टाउन

-


     शिलापत्र    
     मंसिर २२ गते २०७९


हालै मात्रै २५ जना जापनी  लगानीकर्ता तथा प्रतिनिधिले लगानी बोर्ड नेपाल, उद्योग विभाग र निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका प्रतिनिधिसँग नेपालमा लगानी गर्ने विषयमा छलफल गरे । उनीहरूले नेपालमा लगानीका क्षेत्र तथा लगानी भित्र्याउने प्रकियाको विषयमा चासो राखेका थिए ।

यहीबीचमा नेपालमा पहिलोपटक नेपाल-जापानमैत्री सम्मेलनको आयोजना भयो । दुई देशको पारस्परिक सम्बन्ध विस्तार तथा व्यवसायिक सम्बन्धका विस्तारका लागि सहयोग पुर्‍याउने उद्देश्‍यसहित नेपालमा जापान टाउनसमेत सञ्चालनमा ल्याइयो । यसले नेपालमा जापानी लगानीकर्ताकाे चासो बढेको देखाउँछ ।



जापनी लगानीकर्ता विश्‍वभर लगानी विस्तार गरिरहेका छन् । लामो समयदेखि छिमेकी देश चीनमा ठूलो लगानी गरेका जापनी लगानीकर्ताहरूले पछिल्‍ला वर्षहरूमा अर्को छिमेकी देश भारतमा पनि ठूलो मात्रामा लगानी गरेका छन् । फिलिपिन्स, कम्बोडिया, भियतनामलगायत मुलुकमा जापानका बहुराष्ट्रिय उद्योग तथा कम्पनीहरू सञ्चालनमा छन् । एकातर्फ जापानको लगानी ती देशमा गइरहेको छ अर्कोतर्फ सम्बन्धित देशका नागरिकले ती उद्योग तथा कम्पनीमा काम गरेर सीपको विकास गरेका छन् ।

प्रविधिमा वृहत्तर फड्को मारेको र संसारभर नै लगानी विस्तार गरेको जापानको नेपालमा लगानी भने अति न्यून देखिन्छ । यद्यपि जापान सहयोग नियोग जाइकामार्फत ऋण तथा अनुदान सहायता र प्राविधिक सहायता लामो समयदेखि उपलब्ध भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको विदेशी लगानीसम्बन्धी सर्वेक्षेण ट्याक्स हेभन देशका रुपमा परिचत देशको लगानी बरु नेपालमा बढी देखिन्छ । तर विश्‍वरभर लगानी विस्तार गरिरहेको राष्ट्र जापनको लगानी तुलनात्मक रुपमा न्यून छ । राष्ट्र बैंकको सर्वेक्षेणअनुसार भारतबाट मात्रै ७५ अर्ब ८१ करोडको प्रत्यक्ष वैदेशिक लगानी रहँदा चीनबाट ३३ अर्ब रुपैयाँ, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड , सिङ्गापुरबाट १५ अर्ब ४८ करोड , सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको छ । तर जापनले हालसम्म १ अर्ब ८० करोड रुपैयाँ मात्रै प्रत्यक्ष वैदेशिक लगानी गरेकाे देखिन्छ । त्यसो त लगानीका धेरै सम्भावना भएर पनि नेपालमा वैदेशिक लगानी अपेक्षित रुपमा आउन सकेको छैन । 

वैदेशिक लगानी भित्र्याउनका लागि कानुनी सहजताका साथै आकर्षण गर्ने प्याकेजहरू सरकारले दिएको अवस्थामा अहिले जापनी लगानीकर्ताले देखाएको चासो सकरात्मक रहेको लगानी बोर्ड नेपालका कार्यकारी अधिकृत सुशील भट्ट बताउँछन् । उनले जापनी लगानीकर्ताले नेपालमा लगानीकाे प्रकिया, लगानीको सुरक्षा र लगानीका क्षेत्रहरूका विषयमा चासो राखेको बताए।

‘अहिले विभिन्न राष्ट्रका लगानीकर्ताहरूले नेपालमा लगानीको सम्भावना र क्षेत्रका विषयमा चासो राख्नु भएको छ । भर्खरै मात्रै विभिन्न  जापनी कम्पनीहरूका प्रतिनिधिहरूले पनि यस विषयमा चासो राख्नु भयो’, भट्टले भने, ‘जापानका २५ भन्दा बढी कम्पनीका प्रतिनिधिले नेपालमा लगानीको सम्भावनाको विषयमा आइबीएनसँग पनि छलफल गर्नुभयो । हामीले आइबीएनले गर्ने काम कारवाही र लगानी प्राथमिकताको विषयमा जानकारीसमेत गराएका छौँ उहाँहरूले नेपालमा लगानी गर्ने सवालमा राखेको चासोले हामी उत्साहित छौँ ।’ 

जापानले अहिले भारतमा पूर्वधार क्षेत्रमा ठूलो लगानी गरिरहेको र नेपालमा पनि यस्तो लगानी बढ्ने अपेक्षा राखिएको उनले बताए । जापनी टोलीले अर्को वर्ष ५० जना लगानीकर्ता नेपाल ल्याएर छलफल गराउने प्रतिक्रिया दिएकाे छ। उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले पनि जापनी लगानीकर्ताले नेपालमा लगानी गर्ने सवालमा चासो राखेको र नेपालमा लगानी प्रकिया र लगानीका क्षेत्रहरूका विषयमा जानकारी गराएको बताए ।

संसाभर लगानी विस्तार गरेको जापानले नेपालमा लगानी बढाउनका लागि सरकारी तथा निजी क्षेत्रबाट गरिनुपर्ने पहल भने बढाउनुपर्ने देखिन्छ । यसैबीच स्थपना गरिएको जापान टाउन तथा नेपालमा गरिएको पहिलो नेपाल जापान शिखर सम्मेलन सहयोगी हुने अपेक्षा गरिएको छ ।

आर्थिक सामाजिक सम्बन्ध विस्तार र लगानी प्रवर्द्धन गर्न जापान टाउन :  डा.छिरिङ लामा, संस्थापक लिडेक्स नेपाल
जापानले विभिन्न देशहरूमा लगानी विस्तार तथा पारस्परिक सम्बन्ध विकासका लागि कामहरू गरिरहेको छ । जस्तै विभिन्न राष्ट्रहरूमा जापनी ‘एक्सट्रनल ट्रेड अर्गनाइजेसन ‘जेट्रो’ ‘ को कार्यालय नै स्थानपना गरेको छ । हालै मात्रै लिडेक्स नेपाल फोर्थ भ्याली जापनको समन्वयनमा नेपालमा जापना टाउनको अवधारण अघि सारी जापान टाउन स्थपना गरिएको छ । यो काम गर्नका लागि हामीले विगत ७/८ वर्षदेखि पृष्ठभूमिमा काम गरिरहेका थियौँ ।

दीगो विकासका लक्ष्य हासिल गर्ने, रोजगारीको सिर्जना गरी नेपाल र जापनबीच लगानी साझेदारी गर्ने, दुई देशको पारस्पारिक सम्बन्ध थप मजबुत गराउने र सामाजिक आर्थिक समस्याहरू समधान गर्ने हाम्रो लक्ष उद्देश्य हो ।

मुख्यत: नेपालमा कार्यकौशलको हस्तान्तरण, प्राविधिक ज्ञानको विकास, व्यापार सहकार्य लगानीको विस्तार गर्ने ध्ये हो । अहिले जापानलाई श्रमिक चाहिएको छ । नेपालीलाई रोजगारी । तर उसलाई चाहिएको दक्ष श्रमशक्ति हामीले तय गर्नुपर्ने छ । यस्तो अवस्थामा नेपालमा नै श्रमशक्ति निर्माण गर्ने सवालमा सँगै यहाँ दक्षता अभिवृद्धि भई उद्यम जन्मन्छ भने जापनमा समेत आकर्षक रोजगारी पाइने हुन्छ ।


जापान टाउन उद्घाटनमा नेपालका लागी जापनका राजदूत

हामीले विश्वविद्यालय र जापनी कम्पनीहरूबीच सहकार्य गरेर शिक्षा र रोजगारीसँँगै अघि बढाउने अवधारणा अनुसार काम पनि गरेका छौँ । यस्ता कार्यले दुई देशको आपसी सम्बन्ध विस्तारका साथै लगानी प्रवर्द्धनमा सहयोग पुर्‍याउने र सीपको हस्तान्तरणमा सहयोग पुग्ने विश्‍वास लिएका छौँ ।

जापान टाउनका माध्यमबाट नेपाली दक्ष जनशक्तिलाई रोजगारीमा सहयोग गरिने छ । आइटी इन्जिनियहरूले अफशोर विकास केन्द्रित जापानी कम्पीहरूमा रोजगारी पाउने छन् । यो अवधारणा अन्तर्गत जापानी भाषा शिक्षा, जापनमा अध्ययन, रोजगारीका लागि आवश्‍यक जापानी भाषा शिक्षाको कार्यान्वयन, मानव संशानधको विकासमा जोड दिइने छ ।

आइडिया स्टुडियो, लिडेक्स फोर्थ भ्यालीसँगको सहकार्यमा नेपाल जापान शिखर सम्मेलन आयोजना गरियो । यसले दुई देशको व्यापारिक मैत्री सम्बन्धलाई अझै सहज र बलियो बनाउन सहयोग पुर्‍याउने छ । संसारभर लगानी विस्तार गरिरहेको जापनका लगानीकर्ताहरूलाई नेपालमा यति धेरै लगानीकाे सम्भावना छ भन्ने विषयमा जानकारी नभएको पायौँ । आगामी वर्ष हामीले दोस्रो सम्मेलन जापानमा आयोजना गर्नेछौँ ।

६६ वर्ष पूरानो नेपाल जापना मैत्री सम्बन्ध 

विस २०१३ भदौमा नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यस हिसावले नेपाल र जापानबीच औपचारिक मैत्री सम्बन्ध विस्तार भएको ६६ वर्ष पुगेको छ । नेपालको आकर्षक श्रम गन्तव्य मूलुकमध्ये पर्ने जापनमा रोजगारी, शिक्षा र विभिन्न पेशा व्यवसायमा गरी हाल सवा लाख नेपालीहरू रहेको बताइन्छ ।

प्रत्यक्ष वैदेशिक लगानीको हिसावले जापन न्यून लगानी गर्ने राष्ट्रहरूमध्ये परे पनि नेपाललाई सहयता उपलब्ध गराउने राष्ट्रहरूमा जापनको योगदान ठूलो देखिन्छ । 

जापानले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत यातायात पूर्वाधार विकास, विद्युत् उत्पादन र वातावरण संरक्षणजस्ता क्षेत्रमा लामो समयदेखि सहयोग गरेको छ । २०७२ को भूमक्पपछिको पुनर्निर्माणमा समेत जापानले सहयोग उपलब्ध गराएको थियो ।यो समाचार शिलापत्र अनलाइनबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?