
दाङ । तुलसीपुर कारागारका एक महिला कैदीमाथि कारागारभित्रै बलात्कार भएको छ। गत कात्तिक १७ गते भएको बलात्कार तीन महिना पछि सार्वजानीक भएको हो ।
गत कात्तिक १७ गते तुलसीपुर स्थित कारागारमा तुलसीपुर उपमहानगरपालिका ६ डुम्री गाउँका २८ वर्षीय खुमबहादुर चौधरीले महीला कैदीमाथि बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पर्वत बहादुर केसीका अनुसार गत कात्तिक १७ गते दिउँसो करिब सवा २ बजेतिर घटना भएको हो।
घटना घटेको दिन नै पीडितले इप्रका तुलसीपुरमा कारागार प्रशासनको भवन भित्रको भान्सा घरमा बलात्कार गरेको भनी जाहेरी दर्ता गरेको र त्यही अनुसार प्रहरीले घटनाको अनुसन्धान गरेर कात्तिक २८ गते सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा पेस गरेको उनले बताए ।
यो अदालतको प्रक्रियामा रहेको हुँदा यो विचाराधीन रहेको र उनीहरू दुबै तुलसीपुर कारागारमा कैद भुक्तानी गर्दै आएका व्यक्तिहरू रहेको पनि उनले बताए । उनका अनुसार चौधरीले पहिला पनि जबर्जस्ती करणीको कैद भुक्तानी गर्दै आएका छन्। अब फेरि कारागार भित्र कैदीलाई बलात्कार गरेको घटनाले अब फेरि ७ देखि १० वर्षसम्म कैद सजाए हुनसक्ने उनको भनाइ छ ।
यस्तै, गत पुस १६ गते आरोपित, पीडितलगायत साक्षीहरूको बकपत्र भइसकेको पनि उनले जानकारी दिए । अहिले पीडित तुलसीपुर कारागारमा रहेको र पीडकलाई घोराही कारागारमा स्थानान्तरण गरिएको पनि उनले बताए । उनका अनुसार पीडित महिला कैदीबन्दीको तर्फबाट कारागारमा चौकीदारको रुपमा थिइन्, भने पीडक पनि पुरुष कैदीबन्दीको तर्फबाट चौकीदार रहेका थिए ।
आरोपी चौधरीले तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टि भएपछि दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेको थियो ।



