बागलुङ-जिल्ला प्रशासन कार्यालय बागलुङले अर्को सूचना जारी नभएसम्मका लागि तोकिएका सेवा संचालन हुने गरी निशेधाज्ञा बढाएको छ ।
बिहिबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसिसिएमसीको बैठकले सिफारिस गरेअनुसार ५० प्रतिशत क्षमतामा होटल संचालन गर्न पाउने व्यवस्था गरेको हो । यसअघि भएका निर्णयमा होटल संचालन छुट थिएन ।
त्यस्तै, लामो तथा छोटो दुरीका सार्वजनिक यातायात पनि स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्ने सरकारी निर्णयलाई निरन्तरता दिएको छ । विश्वविद्यालय र उच्च माबिका परीक्षा संचालन मापदण्ड पु¥याएर गर्न पाउने व्यवस्था भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए ।
प्रशासनले जिल्लामा रहेका धार्मिक मठ मन्दिर लगायतका संस्थामा दैनिक नित्य पुजा मात्रै गर्न पाउने निर्णय गरेपछि हिन्दु धर्मावलम्बीले बैशाख दाेस्राे सातादेखि मन्दिर प्रवेश गर्न पाएका छैनन् ।
बागलुङमा कोरोनाका संक्रमित भने घट्न सकेका छैनन् । बिहिबार दिउँसो सम्मको तथ्यांक अनुसार जिल्लाभर ३ सय ४४ जना सक्रिय संक्रमित छन् । तीमध्ये बागलुङ नगरपालिकाभित्र मात्रै १ सय ७९ जना छन् । संक्रमण यथास्थानमा रहेकोले स्वास्थ्य मापदण्ड पालनामा भने कडाई गरिनुपर्ने बैठकमा छलफल भएको थियो ।