
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को (आइसीसी)सदस्य पदका लागि जापानबाट ६ जना निर्विरोध निर्वाचित भएका छन ।
जुलाई ३० मा हुने एनआरएनए जापानको निर्वाचनका लागि गठित निर्वाचन समितिले बिहिबार राती जारीको गरेको सूचना अनुसार आईसीसी सदस्य पदका लागि ९ जनाको उम्मेदवारी परेकोमा ३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनीहरू निर्विरोध भएको जनाएको हो ।

निर्विरोध निर्वाचित हुनेहरूमा बाबुराम खरेल, बिजेश थकाली, विकास श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, छत्रबहादुर दाहाल र राम थापा अनिल रहेका छन ।
उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकालाई पटक पटक सारेर निर्वाचन समितिले आइसीसीमा उम्मेदवारी दिएका केहिले फिर्ता र केहिको उजुरी परेको कारण बिहिबार साँझ ६ बजे अन्य उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेपनि उक्त पदको गरेको थिएन ।
आइसीसीमा श्री भक्त गुरुङ, थम्मन खत्री( कृष्ण केसी) र सुमन कार्कीको पनि उम्मेदवारी परेको थियो ।
निर्वाचन समितिले ६ जनालाई निर्विरोध निर्वाचित भएको सूचना जारी गरेको केहि समय पछाडि नै उम्मेदवारी फिर्ता लिएको भनिएका सुमन कार्कीले ‘ मलाई बारम्बार उम्मेदवार फिर्ता लिन दबाब दिइयो र अन्तिममा अवैध उम्मेदवारलाई पूर्णता दिएर बिना कारण मेरो उम्मेदवारी रद्द गराईयो’ भन्दै निर्वाचन समितिमा उजुरी गरेका छन ।
