बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकपको उपाधि गलकोट नगरपालिकाले प्राप्त गरेको छ ।
बुर्तिबाङ राइजिङ क्लबको १९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगितामा भएको फाईनल खेलमा ढोरपाटन नगरपालिका समुह ए लाई पराजित गर्दै गलकोट नगरपालिका समुह बि ले उपाधि उचाल्न सफल भएको हो ।
आज भएको फाईनल खेलमा गलकोट नगरपालिका समुह विले ढोरपाटन नगरपालिका समुह ए लाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । गलकोट नगरपालिकाले फाईनलमा पहिलो, तेस्रो र पाचौँ सेटमा क्रमश २६–२४, २७–२५ र १५–१३ को सेटमा ढोरपाटन नगरपालिका समुह ए लाई पराजित गरेको हो ।
निकै प्रतिष्पर्धात्मक रुपमा सञ्चालन भएको खेलमा दोश्रो र चौथो सेटमा ढोरपाटन नगरपालिका समुह ए ले गलकोट नगरपालिका समुह विलाई २५–२२ र २५–२२ को सेटमा पराजित गरेपनि अन्तिम सेटमा जित निकाल्न सकेको थिएन ।
प्रतियोगितामा वेष्ट प्लेयर गलकोट नगरपालिकाका राजेन्द्र दर्लामिलाई र वेष्ट स्पाईकर ढोरपाटन नगरपालिकाका दुर्गा वहादुर सुनारलाई प्रदान गरीएको थियो ।
पुरुष खुल्ला पालिका स्तरीय भलिबलको प्रथम हुने टोलीले पुरस्कार रनिङ गोल्ड कप सहित नगद रु १ लाख १ हजार १ सय ११ र दोस्रो हुनेले नगद रु ६१ हजार १ सय ११ प्राप्त गरेको छ ।
२०७६ सालमा सम्पन्न प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप पुरुष भलिबलको उपाधी गलकोट नगरपालिकाले प्राप्त गरेको थियो ।
त्यस्तै आजै सम्पन्न महिला भलिवलको फाईनल खेलमा तमानखोला गाउँपालिका समुह ए ले तमानखोला गाउँपालिका समुह वि लाई पराजित गर्दै उपाधि जित्न सफल भएको थियो ।