बागलुङ,- तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली । खेती गर्न न माटो चाहिने न मल । त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि तल खस्छ । विद्युतीय प्रणालीमार्फत् यो चक्र पुरा हुन्छ ।
बागलुङ नगरपालिका–३ रात्माटाका अगुवा किसान बैकुण्ठ सापकोटाले यसरी नै ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन गरिरहनुभएको छ । सापकोटाले गाउँमा पहिलोपटक यो आधुनिक प्रविधिको सफल परीक्षण गर्नुभएको हो ।
सापकोटाका अनुसार यसलाई ‘माटोविहीन’ खेती पनि भनिन्छ । बिरुवालाई चाहिने सुक्ष्म खाद्यतत्व पानीका माध्यमबाट दिइन्छ । पोखरीको पानीलाई विद्यतुीय मोटरमार्फत् तानेर बाली लगाइएको ठाउँमा पु¥याइन्छ । सापकोटाले चार मिटर लामो र साढे दुई मिटर चौडाइसहितको संरचनामा माछापालन र तरकारी खेती गरेको बताउनुभयो ।
“यो नमुना परीक्षण जस्तो पनि हो, सम्भवत जिल्लामै यो प्रविधिबाट खेती गरिएको पहिलोपटक हुनुपर्छ”, उहाँले भन्नुभयो । पोखरीमा तीन सय माउर माछाका भुरा हुर्किरहेका छन् भने माथिपट्टि प्याज । ‘हाइड्रोपोनिक’ प्रविधिबाट सानो जरा हुने तरकारी बाली मात्र लगाउन सकिने सापकोटाको भनाइ छ ।
प्याज, लसुन, धनियाँ, साग जस्ता तरकारी खेती त्यसमा फस्टाउँछ । सापकोटाले तरकारीका बाली लगाउन बाँस, प्लाष्टिक बोतल र गिलास प्रयोग गर्नुभएको छ । “पोखरीको पानी मोटरले माथि तान्छ, त्यही पानी एकबाट अर्को हुँदै सबै बोतलमा पुग्छ र फेरि पोखरीमा खस्छ”, सापकोटाले भन्नुभयो ।
हरेक बोतलको बीचमा प्वाल पारेर त्यसमा प्लाष्टिकको गिलास राखी त्यसमै तरकारीको बिरुवा लगाउने गरिएको उहाँको भनाइ छ । बिरुवा लगाउँदा माटाको खाँचो पर्दैन । आफूलाई चाहिने खाद्यतत्व र पोषण बिरुवाले पानीबाटै लिन्छ । माछाको दिशाले गर्दा पोखरीको पानीमा सुक्ष्म खाद्यतत्व हुने सापकोटाले बताउनुभयो ।
माछापालन नगरी तरकारी मात्रै लगाउँदा भने पानीमा बिरुवालाई चाहिने खाद्यतत्व मिसाउनु पर्ने हुन्छ । सापकोटाले माछापालन पनि गरेको भएर दुई÷तीन हप्तामा पोखरीको पानी फेर्दै आउनुभएको छ । तरकारी मात्रै हुँदा त्यो झण्झट पनि हुँदैन ।
धेरै परिश्रम गर्न पनि नपर्ने र थोरै ठाउँ भएपनि हुने भएकाले पछिल्लो समय यस प्रविधिप्रति किसान आकर्षित हुन थालेका छन् । घरका छत र कौशीमा पनि यो खेती गर्न सकिन्छ । माटोमा भन्दा यस प्रविधिबाट गरिएको खेती छिटो र धेरै उब्जाउ हुने कृषि प्राविधिक बताउँछन् । ‘हाइड्रोपोनिक’ प्रविधि अपनाउँदा माटोजन्य रोगको पनि खतरा हुँदैन ।
विषादी र रसायनिक मल प्रयोग नभएका कारणले किसानले फलाउने तरकारी जैविक हुन्छ । सापकोटा ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेतीको व्यावसायिक विस्तार गर्ने सोचमा हुनुहुन्छ । माछापालन र तरकारी खेती दुवै गर्न सकिने भएकाले यसप्रति अन्य किसान पनि आकर्षित हुने देखिन्छ ।
सापकोटाले माछापालनका लागि नगरपालिकाबाट रु. आठ हजार अनुदानसमेत पाएको बताउनुभयो । उहाँ विगत केही वर्षदेखि ‘सापकोटा कृषि फार्म’मार्फत् व्यावसायिक पन्छीपालन र तरकारी खेतीमा सक्रिय हुनुहुन्छ । फार्ममा आठ कुखुरा र दुई चरा प्रजातिका गरी दशथरी पन्छी छन् । दुई वटा ‘टनेल’मा तरकारी छ ।
कृषिमा श्रम–पसिना बगाउन नहिच्किचाउने सापकोटा घरमै बसीबसी मनग्य कमाइ गर्नुहुन्छ ।