सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।
नेपालीलाई शुक्रबार नेपाल प्रहरीले नियन्त्रणमा लिएका हुन् । उनलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी भएको थियो ।
नेपाली दिल्ली रहेको सूचना भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको हो ।
नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरेको छ ।
बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए । यो सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलेपनि उनी कारबाहीको दायराबाहिर थिए ।
उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ ।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए।
सहकारीका कार्यवहाक अध्यक्ष डोरबहादुर परियारसहित पाँच जना पुर्पक्षका लागि थुनामा छन्।
एक जना धरौटीमा रिहा भएका थिए।सहकारीका बचतकर्ताको करिब दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए।