वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डेको दाबी

- भोलि नै ४ सदस्यीय प्रदेश सरकार गठन गर्ने तयारी

-


     जनहित न्युज    
     कार्तिक १० गते २०७८


बाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनले बहुमतसहित दाबी पेश गरेको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि दलहरूलाई आह्वान गरेलगत्तै गठबन्धनमा रहेका ५९ प्रदेशसभा सदस्यहरूको हस्ताक्षर लिएर प्रदेश प्रमुखको कार्यालयमा पेश गरिएको हो ।

बुधबार माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँसहित जनता समाजवादी पार्टी सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि पाण्डेले दाबी पेस गरेका हुन् ।
माओवादी केन्द्रका २३ सांसद, कांग्रेसका २२ सांसद, नेकपा (एकीकृत समाजवादी)का १३ सांसद र जसपाका १ सांसद गरी ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरिएको हो । बुधबार वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए । १०९ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५५ मत आवश्यक पर्छ ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि आह्वान गरेका हुन् । त्यसका लागि बिहीबार दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।

गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव गरेको छ । पार्टी विभाजनपछि देशैभर सत्ताच्युत हुँदै गएको एमाले बाग्मती प्रदेश सरकारबाट पनि बाहिरिएसँगै गठबन्धनले भोलि नै सरकार गठन गर्ने तयारी गरेको छ ।

प्रस्तावित मुख्यमन्त्री पाण्डेले बिहीबार ४ सदस्यीय सरकार गठन गर्ने बताएका छन् । कांग्रेसका उपनेता कृष्णलाल भडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र समाजवादीका उपनेता कृष्ण खनाल सहभागी हुने सम्भावना छ ।

बाँकी मन्त्रिमण्डल तिहारपछि मात्रै विस्तार हुने बताइएको छ । पाण्डेले गठबन्धनमा रहेको ४ दलमा मन्त्रालय भागबण्डा गर्नुपर्ने भएकाले केही मन्त्रालय विभाजन हुनसक्ने संकेतसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?